दिपक बोहरा
शुक्रवार, आश्विन ३, २०७६
336

पाँचथर-भारतसँग सिमाना जोडिएका जिल्लाका उच्चपहाडी क्षेत्र पर्यटकीय क्षेत्र हुन् । सन्दकपुर, चारराते, फालोट क्षेत्र हुँदै सिहलिला पर्वतमा पर्यटकहरू घुम्न आउने गरेका छन् । यी क्षेत्र समुद्र सतहबाट ३६ सयदेखि ३८ सयसम्म उचाइमा छन् । यी क्षेत्रमा चौंरीगोठ संस्कारको रूपमा रहेका छन् । यहाँ घुम्न आउने पर्यटक चौरी गोठमा नै बस्नु पर्ने हुन्छ । उच्चपहाडी क्षेत्रका आकर्षक गन्तव्य बनाउन र पर्यटकलाई यहाँको गोठको मौलिकरूप दिँदै बस्नका लागि गोठस्टे सञ्चालनमा ल्याइएको हो । परम्परागत रूपमा पालिएका चौंरी गोठलाई पर्यटकको लागि व्यवस्थित बास र खाना गोठलाई गोठस्टेको रूपमा विकास गरिएको हो ।
गोठको बसाइ आनन्दको हुन्छ । लेकाली क्षेत्रमा चौंरीको छुर्पी, दूधका विभिन्न परिकार अर्गानिक भोजन नै गोठस्टेको विशेषता हो । मासु खानेहरूका लागि खसी, कुखुरा अनि पोलेको मासु पनि गोठस्टेमा पाइन्छ । लेकाली परिकारसँग घुम्न आउने पर्यटक खुसी नहुने त कुरै भएन । गोठमा चौंरीको दूधको खिरलगायतका परिकार पकाएर खान सकिन्छ । विभिन्न प्रजातिका लेकाली जडिबुटी मिसाए पकाएको लेकाली परिकारले जिब्रो नै लोभ्याउँछ ।

पाँचथरको भारतसँग सिमाना जोडिएको याङवरक र फालेलुङ गाउँपालिकाका उच्चपहाडी क्षेत्रमा रहेका चौंरी गोठलाई व्यवस्थित तवरले पर्यटक राख्न मिल्ने गरी गोठस्टेको अवधारण ल्याइएको हो । पर्यटकको सुविधाका लागि सोहीअनुसारको संरचना र पूर्वाधारको विकास गरी गोठस्टे सञ्चालन गरिँदै आइएको छ । पाँचथरका उच्चपहाडमा रहेको २१ वटा गोठमा अहिले गोठस्टे सञ्चालनमा आएको बताइएको छ । सन्दकपुर, फालोट, चारराते र सिहलिलिा पर्वत क्षेत्र घुम्न आउने पर्यटकहरू गोठस्टेमा बास बस्न सक्नेछन् ।
यी पहाडी क्षेत्रमा भारततर्फ फालोटमा पश्चिम बंगाल सरकारले सञ्चालन गरेको गेष्टहाउस छ । यता सन्दकपुरमा केही होटल भए पनि यिनीहरू निकै महँगा छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि यी गेष्टहाउस र होटल महँगा छन् । पर्यटक बस्नका लागि उपयुक्तस्थान गोठ नै हो । गोठमा बस्न खानको राम्रो ब्यवस्था रहेको गोठस्टेका सञ्चालकहरूले बताउने गरेका छन् । यी लेकाली क्षेत्रमा अहिले पर्यटक आउने सिजन सुरु भएको छ । हिमाल हेर्न र सूर्योदयको दृष्य हेर्न यहाँ पर्यटक आउने गरेको फालोट क्षेत्रमा गोठस्टे सञ्चालन गर्दै आएका चन्द्र नेपालले जानकारी दिए । यी क्षेत्रमा धेरै बंगाली पर्यटक, भारतीय पर्यटक र केही मात्रामा युरोपियन पर्यटक आउने नेपालले जानकारी दिए ।
यहाँ आउने पर्यटक चौंरीसँग रमाउन, चौरीसँगै घुम्न र लेकाली स्वादको आनन्द लिन पाउन भनेर गोठस्टे सञ्चालन गरेको फालोट क्षेत्रको तोरीफुलेमा गोठस्टे सञ्चालन गरेका थर्क गुरुङले जानकारी दिए । गोठस्टेको अवधारण आएपछि गोठलाई सफा बनाइएको छ । सुधारिएको चुलोको प्रयोग गरिएको छ । सुधारिएको चुलोले दाउराको बचत गरेको छ भने धुँवाबाट मुक्त पनि भएको छ । गोठलाई न्यानो बनाउने गरेको गुरुङले बताए । सुधारिएको चुलोको प्रयोगले दाउराको निर्भरता घटाउँदै जंगल संरक्षण गर्न पनि सुरु गरेको छ ।
गोठलाई व्यवस्थित गर्न चौरी पालकसँग मिलेर रेड पाण्डा नेटवर्क र दीपज्योति युवा क्लबको सहकार्यमा गोठलाई व्यस्थित गर्ने कार्य हुँदै आएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिए । नेपालबाट सीमामा कुनै सुरक्षादस्ताको व्यवस्था छैन । अहिले सीमाको सुरक्षा पनि चौरी गोठालाले नै गरिरेहकाले चौरीको संरक्षण गर्न र यहाँ आउने पर्यटकको सुविधाका लागि यस्तो अवधारणा ल्याइएको बान्तवाले जानकारी दिए ।
गोठस्टेमा अहिले धेरै पर्यटक लोभिन थालेको दीपज्योति क्लबका फिल्ड कोडिनेटर जीवन राईले बताए । “अहिले गोठस्टेको कार्यक्रम प्रभावकारी हँुदै गएको छ, पर्यटक लोभिन थालेका छन्, गोठस्टेका सञ्चालक पनि लागिपरेका छन्,” राईले भने । गोठमा चौरी दुहुने, गोठमा पकाएर खाने गर्न थालेको गोठ सञ्चालक थर्क गुरुङ बताउँछन् । विदेशी पर्यटकहरू चौंरी, घ्यू, छुर्पीमा रमाउनका लागि पनि गोठमा आउने गरेका छन् ।
गोठमा सुधारिएको चुलो प्रयोग गरिएको छ । एकैचोटि धेरैजना बस्न मिल्ने ठूलो टेन्ट राखेर गोठलाई पर्यटकमैत्री बनाउँदै लगिएको गोठस्टे सञ्चालकहरू बताउँछन् ।