कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
334

चितवन-भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ ।
भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० बिघा हाराहारी जमीन रहेको दाहालले बताइन् । सो स्थानमा हाल सेनाको गुल्म रहेको छ ।

दाहालका अनुसार दोस्रो विकल्पका रुपमा आँपटारीको जङ्गल क्षेत्र, तेस्रो विकल्पका रुपमा ठिमुराको सार्वजनिक जग्गा र चौथो विकल्पमा भतेरीको वन क्षेत्र अगाडि सारिएको छ । ती जमीनको रङ्गीन नक्सासहित आवश्यक सम्पूर्ण कागजपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको प्रमुख दाहालले बताइन् । योसँगै विमानस्थलसँग सम्बन्धित हालसम्म भएका बैठक, छलफल, पत्राचारलगायतका कागजपत्रसमेत सँगै बुझाइएको छ ।
हाल विमानस्थलको धावनमार्ग छोटो हुँदा उच्च जोखिममा साना जहाज मात्र उडान र अवतरण हुँदै आएको छ । विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गण रहेको छ । दुवै गरेर ७२ बिघा जमीन चर्चेका छन् । त्यहाँबाट गण र प्रजनन केन्द्र स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न लागिएको हो ।
विमानस्थलको धावनमार्ग बढाएसँगै ७२ सिटे जहाज उडान र अवतरण गर्न सकिने छ भने रात्रिकालीन उडानसँगै अन्य जिल्लासँग हवाई सम्बन्ध बढाउन सकिने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताए ।


सातामा धेरै पढिएको