नेगम परियार
मंगलबार, भदौ ३१, २०७६
370

मनाङको एकमात्र विमान स्थलबिगत ६ वर्षदेखि बन्द थियो । गत शुक्रबार पुनहुम्दे विमानस्थलमा सफल हवाईजहाज परीक्षण भएपछि अब असोज १० गतेबाट नियमित उडान हुने भएको छ । यहाँका माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देमा रहेको विमानस्थलमा लमजुङ र मनाङ सीधा सवारी साधन चल्ने सडकमार्ग सञ्चालनमा आएपछि उक्त विमानस्थल बन्द थियो । गत शुक्रबार गण्डकी प्रदेश सरकारको पहलमा पुनः परीक्षण गरिएको र परीक्षण सफल भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख टीकाबहादुर कार्कीले जानकारी दिए ।
पुनः परीक्षणमा समिट एयरले उडान गरेको थियो । उडानमा पोखराबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ, प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा गरी १५ जना पोखराबाट उडान गरी मनाङको हुम्दे विमानस्थलमा सफल अवतरण गरेको कार्कीले बताए ।
कार्कीकाअनुसार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले नियमित उडानका लागि शुक्रबार परीक्षण गरेको बताएका र अन्तर्राष्ट्रिय पर्यटन दिवस असोज १० गतेबाट पोखरा–मनाङ सीधा उडानको तयारी गरिएको कार्कीले जानकारी दिए । २०७० सालदेखि बन्दहुम्दे विमानस्थल गत शुक्रबार पुनः सफल परीक्षण गरेको हो । कालोपत्रे भएको २ वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरेको थियो तर उडान निरन्तरता दिन नसकेपछि हुम्दे विमानस्थल बन्द रहेको थियो ।
निरन्तर उडान परीक्षण गर्दा पनि निरन्तरता पाउन नसकेको मनाङको हुम्दे विमानस्थल पछिल्लो पटक असार २० गते र त्यसअघि पुस २४ गते पुनःजहाज परीक्षण गरिने भनिएकोमा त्यस समयमा पनि मौसमका कारण सफल हुन सकेको थिएन । हवाईजहाजबाट मनाङ–पोखराको यात्राको दूरी मात्र २५ मिनेट लाग्ने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए ।
मनाङको हुम्दे विमानस्थल समुद्री सतहबाट ३ हजार ३ सय ३० मिटरको उचाइमा रहेको विमानस्थल २०३९ साल असोजबाट उडान सञ्चालन गरेको थियो । उडान नियमित बनाउन प्रदेश सरकारले अनुदानसमेत दिन तयार रहेको प्रदेशका मुख्यपन्त्री पृथ्वीसुब्बा गुरुङको भनाईलाई उद्धृत गर्दै मनाङका प्रहरी प्रमुख टीकाबहादुर कार्कीले जानकारी दिए ।