कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
436

लमजुङ-केही वर्ष अघिसम्म पर्यटकले भरिभराउ हुने लमजुङको कपुरगाउँ र बाग्लुङपानीका पर्यटकीय होटलहरू अहिले सुनसान हुन थालेका छन् । सडक सञ्जाल र पर्यटन पदमार्ग परिवर्तन भएपछि पर्यटन व्यवसायीहरू संकटमा परेका हुन् ।
केही वर्ष अघिसम्म पर्यटक खाली नहुने क्होँलासोँथार–१ बाग्लुङपानी र कपुरगाउँका होटलहरूमा पछिल्ला वर्षहरूमा पर्यटक आगमन शून्य जस्तै बनेको हो । खाने र बस्ने पर्यटक वा ग्राहक आउन छोडेपछि वर्षौंदेखि सञ्चालन हुँदै आएका होटलहरू सुनसान भएको कपुरगाउँका होटल व्यवसायी दीर्घमान गुरुङले बताए ।

मुख्यतय चक्रिय अन्नपूर्ण पदमार्ग र सार्क नमुना घलेगाउँ आउने पर्यटकहरू बाग्लुङपानी, र कपुरगाउँका होटलहरूमा बस्ने तथा खाजा नास्ता लिने गर्थे । सो बाहेक सदरमुकाम बेंसीसहर वा जिल्ला बाहिर जाने घनपोखरा भुजुङका स्थानीयहरू पनि कपुरगाउँ, बाग्लुङपानीमा बास बस्ने गर्थे ।
दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनले राम्रै आम्दानी गरेका स्थानीय व्यवसायीहरू पदमार्ग परिवर्तन र यातायात सञ्चालनले अम्दानी पनि शून्य जस्तै बनेको स्थानीय होटल व्यवसायी गुरुङले बताए ।
“पहिले पहिले पाहुनाहरू आउँथ्यो, आम्दानी पनि हुन्थ्यो,” व्यवसायी गुरुङले भने, “अहिले पाहुना पनि छैनन्, आम्दानी पनि छैन ।”
सडक सञ्जालकै कारण उक्त गाउँहरू ओझेलमा परेको व्यवसायी गुरुङको भनाइ छ । मनाङ सडक सञ्जालमा जोडिएपछि तनहुको डुम्रेबाट सुरु हुने २१ दिने चक्रिय अन्नपूर्ण पदयात्रा सात दिनमा झरेको छ । सोसँगै कतिपय पदमार्गहरू वैकल्पिक पदमार्गका रूपमा परिवर्तनसमेत भएका छन् ।
पदमार्गनै परिवर्तन भएपछि बाग्लुङपानी सँगै बेंसीसहरको नाल्मा, बाख्रेजगतलगायतका होटलहरू पनि विस्थापित अवस्थामा पुगेका छन् । वर्षौंदेखि सञ्चालन हुँदै आएको व्यवसाय एकाएक संकटमा परेपछि स्थानीय निकै चिन्तित भएका छन् । सडक सञ्जालसँगै पदमार्गलाई पनि बचाउन सरकारी तवरबाट पहल हुनुपर्ने उनीहरूको माग छ ।

सन्देश पौडेल