मनोरञ्जन शर्मा
बिहिवार, भदौ २६, २०७६
1153

रुपन्देही-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्ने मिति पूरा हुने अब करिव तीन महिना बाँकी छ । अहिलेको निर्माणको अवस्था हेर्दा उक्त मितिमा विमानस्थलको काम पूरा हुने सम्भावना छैन । तोकिएको समयमा जसरी भएपनि आईसीवी १ को काम पूरा गर्नेगरी काम अघि बढेको विमानस्थल आयोजना कार्यालयका आयोजना प्रमुख ई प्रवेशकुमार अधिकारी बताउँछन् ।
‘डिसेम्बरसम्म आईसीवी १ अन्र्तगतका सबै पूर्वाधारका काम सकेर मार्च महिना भित्र क्यालिब्रेशन फ्लाइट गर्ने गरी अघि बढीरहेका छौ, अधिकारीले भने । मिानस्थाल निर्माण भएपछि अन्तर्राष्ट्रिय उडानका लागि योग्यताको प्रमाणपत्र लिनु क्यालिब्रेशन फ्लाइट हो । क्यालिब्रेशन फ्लाइटका लागि आईसीवी टु अन्र्तगतका प्राविधिक कामहरु समेत सम्पन्न हुनुपर्छ । आइसीबी टु को कामका लागि एरोथाई कम्पनीले जिम्मा पाएको छ ।
यसमा कम्युनिकेशन, नेभिगेशनलगायत विद्युतीय उपकरण, सूचना संयन्त्र जडान गर्ने काम हुनेछ । आइसीबी टु को जिम्मा थाइल्याण्डको एरोथाई कम्पनीले पाएको छ । यो कम्पनीले आवश्यक उपकरण आयात गरी विमानस्थलमा जडान गर्नेछ । उपकरणहरु अमेरिका, युरोप, थाइल्याण्ड र केही भारतबाट समेत आयात हुने आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।
त्यसैगरी धावनमार्गमा लाइट जडान कार्य पनि चाँडै नै सम्पन्न हुने बताइएको छ । धावनमार्गका लाइटहरु चीनबाट ल्याउने तयारी भइरहेको छ । हालसम्म विमानस्थलको भौतिक प्रगति ८० प्रतिशत माथि छ । प्रशासनिक भवनमा अहिले फर्स सिलिंग र मार्बल हाल्ने तथा एसी जडान गर्ने काम भइरहेको छ ।टर्मिनलतर्फको भवनको छाना हाल्ने काम भइरहेको छ । आगमन कक्षको प्रथम चरणको छानो हालिसकेको छ । अन्य काम हुँदैछ ।

के के काम भए ?
विमानस्थलमा हालसम्म धावनमार्ग, ट्याक्सी वे, एप्रोनलगायतको काम सम्पन्न भइसकेको छ भने प्रशासनिक भवन, टावर, टर्मिनल भवनको फिनिसिङको काम भइरहेको छ । विद्युतीय उपकरणहरु जडान गर्ने, टर्मिनल भवन अगाडि ग अगाडी ट्याक्सी पार्क निर्माण, प्रवेशद्वार तथा तारबारको काम, विद्युतको डेडिकेटेड लाइन ल्याउन बाँकी रहेको छ । अस्थाई कार्गो भवन पनि तयार भइसकेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेन्ट्रल एसीका लागि डक्ट पाइप जडान गर्ने काम भइरहेको छ ।

२ वटा कन्भेयर बेल्ट
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको आगमन कक्षतर्फ २ वटा कन्भेयर बेल्ट (लगेज आउने स्थान)जडान गर्ने गरी पूर्वाधार बनिरहेको छ । कन्भेयर बेल्ट पनि छिटै आइपुग्ने बताइएको छ । कन्भेयर बेल्टको क्षमता हालका लागि विमानस्थलको चाप थाम्न सक्ने बताइएको छ । त्यसैगरी प्रस्थानतर्फ पनि लगेज संकलनका लागि एउटा कन्भेएर बेल्ट जडान हुने बताइएको छ ।

निर्माण कम्पनीलाई अग्रिम रकम
आर्थिक अभाव भएको जनाउँदै आफूले पाउने रकमबाट कट्टा हुने गरी अग्रिम रकम माग गरेको ठेकेदार कम्पनीले माग गरे बमोजिम रकम पाउने भएको छ । आयोजनाको कार्यालय अनुसार ६० करोड रुपैयाँ माग भए पनि अहिले ३० करोड उपलब्ध गराउन लागिएको र सो रकम छिटै निकाशा हुने बुझिएको छ । रकम अभावमा कामले गति लिन नसकेको ठेकेदार कम्पनीको भनाई छ ।

बाँकी काम
डिसेम्बरभित्र विमानस्थल निर्माण कार्य सम्पन्न भएपनि आईसिबी टु अन्र्तगतका काम सक्न केही समय लाग्ने भएकाले क्यालिब्रेशन फ्लाईट मार्चसम्ममा गर्ने लक्ष्य छ । क्यालिब्रेशन फ्लाइटपछि भने विमानस्थल उडानका लागि तयार हुने छ । त्यसबाहेकका अन्य कामहरु अहिलेबाटै सुरु गर्न सके २०७७ को प्रारम्भमै अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु हुन सक्छ ।
२०७१ सालबाट निर्माण सुरु गरिएको विमानस्थल २०७४ सालमै सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय आपूतिर्ककता बीचको आपसी मतभेद, तराई–मधेश आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामाग्रीको अभाव जस्ता कारणले आयोजना पछि धकेलिँदै आएको छ । यसअघि २ पटकसम्म म्याद थप गरिएको थियो । पछिल्लो समय तेश्रो पटक निर्माण सम्पन्न हुने समय थप गरी २०१९ को डिसेम्बर ३१ सम्म पु¥याइएको छ ।