अनुपमा खनाल
बुधवार, भदौ २५, २०७६
236

गोरखा-पर्यटकहरू गोरखा बजार हुँदै मनास्लु पदमार्ग जाने वातावरण बनाउन भिलेज टुर र हेरीटेज टुरको प्रबद्र्धन गर्नुपर्ने पर्यटन ब्यबसायीहरूले सुझाव दिएका छन् । जिल्ला सदरमुकाम आसपासका गाउँ र यहाँको ऐतिहासिक क्षेत्र समेटेर भ्रमण प्याकेज बनाउनुपर्ने उनिहरूको तर्क छ । उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा मंगलबार जिल्ला सदरमुकाममा भएको मनास्लु पदमार्ग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी पर्यटन ब्यबसायीले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी पर्यटन ब्यबसायी धनबहादुर गुरुङले गोरखा बजार हुँदै पर्यटकलाई मनास्लु पु-याउनका लागि योजनाबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिए । ‘सम्बन्धित गाउँपालिका, निजी क्षेत्र, पर्यटन ब्यबसायी मिलेर समिति बनाएर ट्रेकिङ रुटको योजना बनाऔं’ उनले भने ‘रुटको म्याप नै बनाएर ट्राभल र ट्रेकिङ एजेनसीमाझ पु-याउनुपर्छ । पर्यटन प्रबद्र्धनका लागि मौलिकता संरक्षण गर्न आग्रह गरे । ‘यहाँको भेषभुषा, रहनसहन, ढुंगा माटोका घर हेर्न हो पर्यटक आउने । तर हामीले यसको संरक्षण गर्न सकेका छैनौ । यसतर्फ ध्यान दिऔं ।’
पर्यटन ब्यबसायी इमानसिंह गुरुङले हिले र धुलो सडक पर्यटकको रोजाईमा नपर्ने भन्दै गोरखा नगरपालिका सहित आरुघाट, चुमनुब्री, धार्चे र बारपाक सुलिकोट गाउँपालिका मिलेर ट्रेल बनाउन सुझाव दिए ।‘त्यहि ट्रेललाई समेटेर होमस्टे विस्तार गरौं’ उनले भने ‘इतिहास र पर्यटनलाई जोडौं । पर्यटकलाई स्थानीय अर्गानिक खाना खुवाऔं । यहाँका सांस्कृतिक कार्यक्रम देखाऔं । सदरमुकाममा पर्यटकलाई भुलाउन पर्यटकिय क्षेत्र विस्तार गरेर स्थानीय स्तरमा पर्यटक गाईड उत्पादन गर्नुपर्छ ।’ पर्यटकका लागि शान्ती सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनको भनाई छ । आबश्यक वातावरण तयार भएमा मनास्लु जाने पर्यटकलाई जिल्ला सदरमुकाम हुँदै लैजान सकिने उनले बताए ।

पर्यटन ब्यबसायी धनप्रसाद गुरुङले जिल्ला सदरमुकाममा पर्यटक भुलाउनका लागि गोरखा संग्रहालय दैनिक १२ घन्टा सधैभरी खोल्न आग्रह गरे । जिल्लामा ट्राभल एजेन्सीको आबश्यकता रहेको औल्याउदै उनले भने ‘जिल्लाका पर्यटकिय क्षेत्रका लागि प्याकेज बनाऔं । बाह्य जिल्लाका पर्यटकिय शहरसँग जोडिने गरी गोरखालाई प्याकेजमा जोडौं ।’ पर्यटकको सुविधाका लागि जिल्लामा स्तरीय होटल र पर्यटक भुलाउनका लागि रेष्टुरेन्ट, क्लब खोल्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलियाले जिल्लाको ऐतिहासीक पक्षलाई आधार बनाएर पर्यटन प्रबद्र्धन गर्न जोड दिए । जिल्लाका सरोकारवालाहरूले पर्यटन प्रबद्र्धनका लागि ब्राण्ड र प्याकेज तय गरेमा बोर्डले आबश्यक सहयोग गर्ने उनको प्रतिबद्धता छ । जिल्लामा पर्यटक गाईड उत्पादनका लागि तालिम सञ्चालन गर्न आबश्यक सहयोग गर्ने उनको भनाई छ ।
गण्डकी प्रदेशका सांसद हरीशरण आचार्यले जिल्लाको भौगोलिक,प्राकृतिक, सांस्कृतिक, धर्मिक, ऐतिहासीक पक्ष समेटेर पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिदै आफ्नो क्षेत्रबाट पुर्ण सहयोग गर्ने प्रतिबद्धता गरे । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले जिल्लाका पर्यटकिय गन्तब्यको प्रचार प्रसार बढाउनुपर्ने बताए ।
सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले गोरखा दरबारलाई केन्द्रित गरेर नेपाल एकिकरणको पदमार्गलाई विकास गर्नुपर्नेमा जोड दिए ।
आरुघाट गाउँपालिका अध्यक्ष पुर्ण दाहाल र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले सबै क्षेत्रको सहकार्यमा मात्र पर्यटन विकासको सम्भावना रहेकाले आबश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा अन्य सहभागीहरूले सदरमुकाममा ब्यबस्थित रुपमा सुचना केन्द्र सञ्चालन गर्नुपर्ने, होटलको सेवा स्तरीय बनाउनुपर्ने, धार्मिक पर्यटनलाई प्राथमिकता दिनुपर्ने, स्थानीय बासीन्दा र सरोकारवालाहरूको बानीब्यहोरा र चालचलन पर्यटकमैत्री बनाउनुपर्ने, भौतिक पुर्वाधार विकास गर्नुपर्ने लगायतका सुझाव ब्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी, नेकपाका बाबुराम थापा, समाजवादी पार्टीका नारायण खत्री, राप्रपाका कुलबहादुर बस्नेत,पर्यटन ब्यबसायी लाक्पा डुण्डुप लामा, साने गुरुङ, मानव अधिकारकर्मी यदु अधिकारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, पवन खनाल, रामहरी देवकोटा लगायतले आ आफ्नो भनाई ब्यक्त गरेका थिए । उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष जिवनज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाले गोरखा नगरमा पर्यटन विकासका सम्भावना र मनास्लु संरक्षण क्षेत्रको पर्यटकिय आकर्षणबारे जानकारी दिएका थिए ।