कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
211

संखुवासभा-पूर्वी हिमाली जिल्ला संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकका सहजताका लागि होमस्टे संचालनमा आएको छ ।
संखुवासभाबाट सोलुखुम्वु सम्म सिमाना फैलीएको मकालु बरुण राष्टिय निकुन्ज क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई थप सुबिधा उपलब्ध गराउन हामस्टे संचालन गरिएको होमस्टे एसोसिएसन प्रदेश १ का अध्यक्ष बिनोद शुब्बा गुरुङले बताए । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने मकालु गाउँपालीकाको सेदुवा, गोलेचौर, सिंहा, सिमानामा रहेको शिलिचोङको ताम्कु जस्ता गाउँहरू अत्यन्तै दुर्गम मान्ने गरिन्छ । त्यस क्षेत्रमा खानबस्नको कठिनाईं हुँदा पर्यटकहरूले समस्या भोग्दै आएकाले पर्यटकहरूको समस्यालाई मध्यनजर गर्दै निकुञ्ज कार्यालयको सहयोगमा सामुदायिक होमस्टेको अवधारणा अन्तरगत होमस्टे संचालनमा ल्याईएको शुब्बाको भनाई छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि स्थानीयले चासो देखाएपछि निकुन्जले सहयोग गरेको निकुन्जका सुचना अधिकारी हिमाल पाठकले जानकारी दिए । निकुन्ज क्षेत्रमा पर्ने रुटका ८ वटा गाउँमा ५५ घरधुरीले गाउँस्तरका होमस्टे संचालन गरेको पाठकले बताए । उनले निकुञ्जका तर्फबाट होमस्टे संचालकहरूलाई पैदलमार्गीलाई गर्नुपर्ने आथित्यसत्कार, खानपिन र उचित ब्यवस्थापनका आवश्यक पर्ने तालिम र सहयोगी सामग्री उपलब्ध गराईएको जानकारी दिए ।
मकालु २ सेदुवामा ६ घर मकालु ३ को गोलेचौरमा ८ घर मकालु ३ कै सिम्हामा ५ घर र शिलिचोङ्ग ३ ताम्कुमा ५ घर गरि ३१ घरले बिश्वको पाँचौं अग्लो हिमाल मकालुको पर्यटन प्रवर्धनलाई लक्षित गरि होम स्टे संचालन गरेको हो । १ सय २८ जना पाहुनालाई ब्यवस्थीत ढंगबाट खान र बस्न अटाउने गरि सामुदायिक होमस्टे संचालन शुरु गरेको निकुञ्जको भनाई छ ।
जिल्ला सदरमुकाम खाँदबारीबाट ३५ किमि उत्तरमा रहेको नुमसम्म मात्रै कच्चि सडक पुगेको छ । त्यहाँबाट मकालु आधार शिविर सम्म पैदलयात्रा मार्फत नै पर्यटकहरू मकालु हिमाल सम्म पुग्दै आएका छन् । अनकण्टार दुर्गममा खानेबस्नेको सुबिधा नहुँदा त्यस क्षेत्रको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा पर्दैआएका थिए ।
होमस्टेको संचालन पश्चात त्यस क्षेत्रमा रोजगारीको अवसर श्रृजना हुने, स्थानीय उत्पादनको प्रवर्धनमा सहयोग पुग्ने, स्थानीय कला भाषा र संस्कृतिको जगेर्नामा सहयोग पुग्ने, युवा बिदेश पलायन हुने संख्यामा कमि आउने तथा स्थानीय बासिन्दाको आर्थिक उपार्जनमा थप टेवा पुग्नुका साथै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई समेत सहयोग पुग्ने मकालु ३ सिंहाका काजीमान गुरुङ्गको को धारणा छ । बिषेर गरेर होमस्टे संचालनले स्थानीय महिलालाइ जिवीकोपार्जन र रोजगारीको अवसर दिलाएको गुरुङले बताए ।

कृष्णराज शाक्य