सागर परियार
सोमवार, भदौ ९, २०७६
342

जुम्ला-गुठीचौर गाउँपालिका–१ चोत्रा गाउँका तोप्के बुढाको दैनिकी पहिला गाउँगाउँमा गएर झुम्फो, जडीबुटीको व्यापार गर्दै बित्थ्यो । कुनै रोजागरी नभएपछि गाउँगाउँमा डुल्ने तोप्के बुढा हिजोआज होमस्टे सञ्चालनमै व्यस्त छन् । उनी पाहुनालाई होमस्टेमा आकर्षण कसरी गर्न सकिन्छ भन्नेमै केन्द्रित छन् । होमस्टेमार्फत जनजाति समुदायको संस्कृतिलाई प्रचारप्रसार गरी आर्थिक भित्र्याउने तथा स्थानीय वस्तुको बजारीकरण होस् भन्ने उनको चाहना हो ।
गाउँमै उत्पादित खाद्य वस्तुको विभिन्न परिकार बनाएर पाहुनाको मनमुटुमा बस्न सक्ने वातावरण बनाउन खटिएका छन्, गुठीचौर–१ कै हिमान्सु रोकाया । उनी होमस्टेमार्फत संस्कृति प्रचारप्रसारमा जुटेका छन् भने जनजाति समुदायको एउटा महत्वपूर्ण पहिचान होमस्टे हुनसक्ने उनको विश्वास छ । सधै मदिरा बेच्ने, जडीबुटी व्यापार गर्ने जनजाति समुदायले पनि पर्यटक तान्न सक्छ, होमस्टे सञ्चालन गर्न सक्छन् भन्ने गतिलो जवाफ दिन पनि चोत्रा होमस्टे सञ्चालनमा जनजाति समुदाय लागि परेको उनको भनाइ छ ।
चोत्रा होमस्टे जुम्लाकै उच्च हिमाली भेगमा पर्ने होमस्टे हो । जहाँ जनजाति समुदायको बसोबासमात्रै छ । चारैतिर पाटनै पाटन भएको, हरियाली पाटनमा गाई, भैंसी र चौरीका आवाजले गुन्जिने चोत्रा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । जुम्ला डोल्पा सिमानामा पर्ने भएकाले जुम्ला हुँदै डोल्पाको शे–फोक्सुण्डो जाने पर्यटकका लागि चोत्रा होमस्टे एक विश्रामस्थलको रूपमा रहेको छ । त्यही बाटो भएर सयौं मानिस डोल्पा हुँदै जुम्ला र जुम्ला हुदै डोल्पा जाने गर्दछन् । जुम्लाका पाँचवटा होटस्टे मध्य सबैभन्दा पहिला चोत्रा होमस्टे उद्घाटन भई सञ्चालनमा आएको छ । स्थानीय कुसु लामु रोकायाको अधिकांश समय पनि होमस्टे सजावटमै बित्छ । उनलाई चोत्रा होमस्टे कर्णालीकै नमुना र आकर्षक होमस्टे बनेको देखाउने मन छ । होमस्टेमा सरसफाइ, रैथाने अन्नको स्वादिलो खाजा, खाना र नास्ता चाहिन्छ । बस्ने र सुत्ने ठाउँ आनन्दको र पारिवारिक वातावरण सिर्जना गर्न जनजाति समुदाय लागि परेका छन् । होमस्टेबाट जनजाति समुदायलाई रोजगारीसमेत सिर्जना भएको छ ।

१५ घरमा होमस्टे
गुठिचौर गाउँपालिका–१ चोत्रामा झण्डै ६० जना जनजाती समुदायको घरधुरी छन् । होमस्टे उद्घाटनपछि आन्तरिक तथता बाह्य पर्यटकको आगमन बढेपछि उनीहरू झनै सक्रियताका साथ लागेका छन् । पर्यटकहरूले चाहेकै जस्तो वातावरण बनाउने प्रयासमा रातदिन नभनी जनजाति समुदायले मेहनत गरिरहेका छन् ।
जसका कारण जुम्लाकै नमुना होमस्टे बनेको छ । अहिले कुल ६० घरधुरीमध्ये १५ घरमा होमस्टे सञ्चालन भइसकेको छ । तर साथ सहयोग भने ६० घरधुरी गर्छन् । अन्यन्त्र होमस्टे जस्तो विवाद भने छैन । दर्तावाला होमस्टेमा पाहुनाको आगमन बढिरहेको छ । जुम्ला हँुदै डोल्पा जाने पर्यटक चोत्रा होमस्टेमा नबसी जाँदैनन् । सयौंजना दैनिक आउजाउ गर्छन् । प्रत्येक होमस्टेमा स्थानीय सरकारले उपलब्ध गराएका दर्ता नम्बर टाँसिएको छ । रैथाने खाना, जनजाति संस्कार र पाटन छेउको गाउँ भएकाले सबैको आकर्षकको केन्द्रसमेत बनेको छ तोप्के बुढाले जानकारी दिए ।
गतवर्ष गाउँपालिकाको १० लाख रुपैयाँमा होमस्टेको काम सुरु भएको हो । तर अहिले जुम्लाकै नमुना होमस्टे बनेको गाउँपालिकाले जनाएको छ । अहिले डोल्पा र जुम्ला आउजाउ गर्ने पर्यटक केन्द्रित कार्यक्रम भइरहेको छ । दैनिक रूपमा पर्यटकहरू पनि आइरहेका छन् ।

आन्तरिक पर्यटकको घुईचो
गुठिचौर पाटनमा दैनिक पिक्निक खाने टोलीहरूको घुइँचो हुन्छ । गुठिचौर पाटनको पूर्वमा पर्ने चोत्रा होमस्टेमा आजभोलि बाह्यभन्दा आन्तरिक पर्यटकको घुइँचो हुन्छ । विभिन्न सरकारीदेखि गैरसरकारी कार्यालयका कर्मचारी, विद्यालयका भम्रणदेखि दैनिक रूपमा सयौंका हिसाबले गुठिचौर पाटन हुँदै चोत्रा जाने गरेका छन् । स्थानीय शेर रोकायाले भने, “अन्य दिनभन्दा शुक्रबार र शनिबार भने चोत्रा होमस्टेमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।”

भोटे चिया र सातु निःशुल्क
चोत्रा होमस्टे सञ्चालनमा भोटे समुदायकै सक्रियता छ । जुम्लाका पाँच होमस्टे मध्य छुटै् रहनसहन भएको, संस्कृति भएको, खानपानमा पनि फरकपन भएको होमस्टे भनेको चोत्रा होमस्टे हो । भोटे समुदाय भएकाले पनि सम्मान सत्कारदेखि सजावटका कुरामा अघि नै छन् । तर बाहिर बजारमा निकै महंगो पर्ने भोटे चिया र सातु भने चोत्रा होमस्टेमा निःशुल्क दिइन्छ ।
लेकाली भेगमा नखाई नहुने महंगो मिठो भोटे चिया र विभिन्न अन्नबाट बनेको सातु निःशुल्क दिएर पर्यटकलाई सेवा गर्ने लक्ष्य राखिएको हिमान्सु रोकायाको भनाइ छ । उनले भने, चोत्रामा हेर्न लायक गुम्बा, जनजाति समुदायको संस्कृति, पहिरन, सबै छन् । त्यसमा पनि यहाँको भोटे चिया र सातु निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।