कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
1107

नेपालसँग सीधा हवाई उडानका लागि छिमेकी चीनसहित अन्य चार मुलुक सकारात्मक देखिएका छन् । चीनसहित बंगलादेश, म्यानमार, दक्षिण कोरिया नेपालसँग सीधा हवाई उडानका लागि सहमत भएका हुन् । काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६ औं सम्मेलनका क्रम भएका छलफलमा सम्बन्धित मुलुकका अधिकारीहरूबीच यस्तो सहमति भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार चारवटै गन्तव्यमा उडान सहजताका लागि दुईपक्षीय छलफलका क्रममा सकारात्मक प्रगति भएको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई चीनको ग्वाञ्जाओ, बेइजिङलगायतका गन्तव्यमा उडान अनुमतिका लागि चिनियाँ अधिकारी सकारात्मक देखिएको बताइएको छ । चीनले निगमलाई अक्टोबरसम्मका लागि ‘स्लट’ उपलब्ध गराएको र नयाँ बनेको बेइजिङ इन्टरनेशनल एयरपोर्टमा पनि स्लट उपलब्ध गराउने चिनियाँ अधिकारीले प्रतिबद्धता जनाएका महानिर्देशक पोखरेलले जानकारी दिए ।

चीनका पाँच वटा वायुसेवा प्रदायक कम्पनीले नेपालमा उडान भर्दै आए पनि नेपालका निगम र हिमालय एयरलाइन्सले चीनमा लामो समयदेखि ‘स्लट’ नपाएको अवस्थाबारे नेपाली पक्षले गम्भीरतापूर्वक कुरा राखेको थियो । यस्तै, म्यानमारमा सीधा उडानका लागि ‘हिमालय २’ रुट प्रयोग गर्ने सन्दर्भमा पनि सकारात्मक छलफल भएको पोखरेलले जानकराी दिएका छन् ।
म्यानमारका वायुसेवा प्रदायक कम्पनीलाई नेपालमा छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि पहल गरिदिन नेपाली पक्षले आग्रह गरेको थियो । यस्तै, दक्षिण कोरियामा नेपाली जहाज उडानका लागि त्यहाँको हवाई नियामक निकायका महानिर्देशकसँग छलफल भएको र निगमको कोरिया उडानका सन्दर्भमा कुराकानी भएको छ । सम्मेलनमा नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (इयू) ले राखेको कालोसूचीबाट हटाउनेबारे दुईपक्षीय छलफल भएको थियो । प्राधिकरणका महानिर्देशक पोखरेलले इयूको कालोसूची हटाउने सन्दर्भमा इयूका पदाधिकारीबीच दुईपक्षीय कुराकानी भएको र त्यहाँ नेपालले आफ्ना विषयवस्तु स्पष्ट ढंले राखेको बताए ।
इयूको मुख्य दुई चासो नियामक निकायको संस्थागत पुनःसंरचना र हेलिकप्टर दुर्घटनाबारे नेपालले गरेको पहल र प्रगतिबारे अवगत गराइएको थियो । विश्वव्यापी रुपमा हेलिकोप्टर मुख्यधारको हवाई यातायात क्षेत्र नपर्ने भएकाले उद्धार, विपद्, बिरामी बोक्ने जस्ता कामका निम्ति मात्र प्रयोजन हुने भएकाले ५.७ टनभन्दा माथिका वायुयान दुर्घटनालाई मात्र अन्तर्राष्ट्रियस्तरमा आइकाओलगायतका संस्थाले रेकर्डमा राख्ने गरेको छ ।
आइकाओ हवाई महानिर्देशकको सम्मेलन इतिहासमै सबैभन्दा धेरै ४२१ जना विदेशी प्रतिनिधिको सहभागिता रहेको सम्मेलन अत्यन्तै सफल र फलदायी भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपमहानिर्देशक नरेन्द्रबहादुर थापाले सम्मेलनका अवसरमा ‘साइड मिटिङ’ मा हवाई क्षेत्रको सुरक्षा, प्राविधिक सहयोग अविवृद्धिबारे दुई पक्षीय छलफल र समझदारी भएको जानकारी दिए । हवाई क्षेत्रको सुरक्षा, प्राविधिक पक्षमा स्तरोन्नति, हवाई क्षेत्रका जल्दाबल्दा विषयलाई सम्बोधन गर्न पनि सम्मेलनले सहयोग पुगेको विश्वास व्यक्त गर्दै महानिर्देशक पोखरलेलले सम्मेलनको निष्कर्षलाई आइकाओको आगामी महासभामा प्रस्तुत गरिने उल्लेख गरे ।