दीपेन्द्र थापा
आइतवार, भदौ ८, २०७६
1554

भदौ १४बाट विमानस्थलमा दोस्रो चरणको काम

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलको दोस्रो चरणको काम सेप्टेम्बर १(भदौ १५)बाट सुरु हुनेभएसँगै विमानस्थलमा७ घण्टा उडान अवतरण बन्द गरेर स्तरोन्नतिको काम गर्न लागिएको हो ।
सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिको लागि राति साढे ११ बजेबाट बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए ।दोस्रो चरणको “प्यारालल ट्याक्सी–वे को काम सुरु हुनेछ, चिनियाँ कम्पनीले ८ महिनाभित्र ‘ट्याक्सी वे’को काम पूरा गर्ने लक्ष्य लिएको छ,” उनले भने।
स्तरोन्नतिका कारण विमानस्थल कार्यालयले विगतमा जस्तो उडान प्रभावित नहुने जनाइएको छ । हाल विमानस्थलमा आन्तरिक र वाह्य गरी दैनिक ४ सय उडान अवतरण हुने गरेका छन् । नयाँ स्वरूपको धावनमार्ग सञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यसको लागि निरन्तर मर्मतसम्भारको आवश्यकता भने पर्नेछ । नयाँ धावनमार्ग निर्माणसँगै अहिलेकै हवाई चापको अवस्थामा पनि २० वर्षसम्म निरन्तर धावनमार्ग २४ घण्टा सञ्चालन गर्न सकिने प्रमुखक्षेत्रीले बताए ।
विमानस्थलको धावनमार्गमा रहेको कालोपत्रे पूर्ण रुपमा फालेर पहिलो चरणमा नयाँ कालोपत्रे गर्ने काम पूराभइसकेको अवस्था छ । धावनमार्गमा नयाँ कालोपत्रे बिच्छ्याउनका निमित्त चैत १८ असार १५ सम्म र उडान अवतरण वन्द गरेर पहिलो चरणको काम पूरा गरिएको थियो । ‘नोटिस फर एयरम्यान’ (नोटाम) जारी गरेर राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरी धावनमार्ग स्तरोन्नतिको काम पूरा गरिएको हो । विमानस्थल असार १६बाट दैनिक २१ घन्टा सञ्चालनमा आएको थियो । हाल विमानस्थल ३ घण्टा (विहान ३ देखि ६ बजेसम्म)बन्द हुँदै आएको छ ।
नेपाल भ्रमण वर्षको पूर्वाद्र्धमा विमानस्थलको धावनमार्ग स्तरोन्नति सम्पन्न भएसँगै करिव ४४ वर्ष पुरानो कालोपत्रेविस्थापन गरिएको थियो ।धावनमार्ग स्तरोन्नति भएसँगै विमानस्थल सोमबारबाट २१ घण्टा (बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म) सञ्चालनमा आएको थियो । सन् १९७५ मा निर्माण गरिएको धावनमार्गको पिच पहिलोपटक पूरै फालेर नयाँ पिच राखिएको हो ।धावनमार्गको ३ हजार ५० मिटर लम्बाई र ६० मिटर चौडाईको कालोपत्रेलाई पूर्ण रूपमा फालेर नयाँ कालोपत्रे गरिएको हो ।
चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रुपैयाँको लागतमा धावमार्गको स्तरोन्नति र विमानस्थलको प्यारालल ट्याक्सी–वे, लिंक रोडलगायतको काम गरिरहेको छ । विमानस्थलको दक्षिणपट्टि २ ठूला विमान पाकिङ गर्न मिल्ने निमार्ण कार्य भइरहेको छ । टर्मिनल बिल्डिङ विस्तारको काम भइरहेको छ ।विमानस्थलले थपिएको समयमा तीन विमान कम्पनीले उडान भरिरहेको जनाएको छ ।विमानस्थलको निमार्णकार्य सन् २०१९ भित्रै सकेर ‘नेपाल भम्रण वर्ष–२०२०’लागि २४ घण्टा उडान अवतरण गर्न लक्ष्यसहित काम भइरहेकोनागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना इन्जिनियर दीपेन्द्र श्रेष्ठले बताए । साथै विमानस्थललाई बुटिक एयरपोट निमार्णको काम पनि गरिरहेको छ ।
भ्रमण वर्षको तयारीस्वरूप नेपाल वायुसेवा निगमले भदौ १२ बाट साताको ३ पटक जापानको ओसाका उडान गर्दैछ । यसको लागि विमानस्थलले करिब १ घण्टा नोटाम जारी गरेरनिगमको विमानलाई उडान सहजीकरण गर्नुपर्ने श्रेष्ठले बताए । “यसले गर्दा १ घण्टाको हाराहरीमा निर्माणको काम नै बन्द गर्नुपर्ने भएकाले समयमानै काम सकिनेमा भने आशंका छ,”उनले भने ।

 

 

twitter:@dipendrath