मनोरञ्जन शर्मा
शुक्रवार, भदौ ६, २०७६
623

रुपन्देही-बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी या विदेशी पर्यटकहरूका लागि आकर्षण मध्येको एक हो केन्द्रीय नहरमा नौका बिहार गर्ने । पछिल्लो समय लुम्बिनी आउने पर्यटकहरूमा धेरैको रोजाइमा परेको छ केन्द्रीय नहर(सेन्ट्रल क्यानल)मा बोटिङ गर्ने । विश्व शान्ति द्वीपबाट उत्तरतर्फ म्युजियम पुग्ने बाटो तेलार पुलसम्म करिब १ हजार ६ सय मिटरको दूरीमा नौका बिहार हुने गरेको छ ।
लुम्बिनी आउने जो कोही नौका बिहारमा रमाउन चाहन्छन् । लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव इं सरोजकुमार भट्टराईका अनुसार लुम्बिनी भ्रमणमा आउनेमध्ये वार्षिक १५ देखि २० प्रतिशतले त्यहा बोटिङ गर्ने पाइएको छ ।

सर्वसाधारण र पर्यटक मात्र होइन लुम्बिनी भ्रमणमा आउने विशिष्ट व्यक्तिहरूसमेत केन्द्रीय नहरमा नौका बिहार गर्ने गरेको भट्टराईले जानकारी दिए ।
यसै साता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सपरिवार लुम्बिनी भ्रमण गर्दा नौका बिहार गरेका थिए । विशिष्ट व्यक्तिहरूसहित अन्य पर्यटकहरूले नौका बिहार गरेको फोटोहरू सामाजिक सञ्जालमा राख्दा लुम्बिनीको थप प्रचार हुने गरेको छ ।
नौका बिहारका लागि अहिले ६ वटा इन्जनबाट चल्ने डुंगा त्यहाँ राखिएका छन् । लुम्बिनी विकास कोषले नौका सञ्चालनका लागि बोलकबोल प्रथाबाट दिने गरेको छ । अब नौका सञ्चालनलाई अझै प्रभाबकारी बनाउँदैछौं, लुम्बिनी आउनेहरू बढीभन्दा बढीले नौका यात्रा गर्न सकुन भन्ने उद्देश्य हो, यसलाई अझै व्यवस्थित गरी आकर्षित नौका चलाउने योजना छ र प्रदूषण प्रतिहामी सचेत पनि छौं, निमित्त सदस्य सचिव भट्टराईले बताए ।
नौका बिहारका लागी प्रति व्यक्ति ४० रुपैयाँ शुल्क लाग्छ भने विद्यार्थीहरूले परिचयपत्र देखाए केही रकम सहुलियत छ । लुम्बिनी भ्रमणका लागि आउने पर्यटकहरूलाई त्यहाँ भुलाउने गतिविधिहरू नहुँदा उनीहरूको त्यहाँ बसाई अबधि साह्रै न्यून रहेको र उनीहरूबाट लुम्बिनी क्षेत्रले अपेक्षित फाइदा लिन सकेको छैन । नौका बिहार जस्तै अन्य गतिविधिहरू पहिचान गरी कार्यक्रम बनाएमा निश्चय पनि लुम्बिनी आउने पर्यटकहरूको भ्रमण अबधि बढाउन टेवा पुग्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।
प्रदेश ५ को सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । यो वर्षमा आन्तरिक र बाह्य गरी २० लाख पर्यटक लुम्बिनी भित्र्याउने योजना प्रदेश सरकारको छ । गएको ७ महिनामा (जनवरीदेखि जुलाई) लुम्बिनी पुग्ने पर्यटकहरूको संख्या ९ लाख ६० हजार नाघेको छ लुम्बिनी विकास कोषले जनाएको छ ।