पर्यटक आकर्षण गर्न नेपाली खानाको ब्रान्डिङ
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४
1533

काठमाडौं । नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियान तीव्र रूपमा अगाडि बढाइएको छ । इटालियन, इन्डियन, चाइनिज, कोरियन खानाका परिकार भएजस्तै अब नेपालका पनि २३ वटा परिकार अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन हुँदैछन् ।
विश्वभर नेपालीहरूले नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएको भए पनि दालभात र रोटीलाई नै नेपाली खाना भन्नुपर्ने बाध्यता रहेको थियो । होटल एसोसिएसन अफ नेपाल (हान) को पहलमा भइरहेको नेपाली खाना परिकारको प्रवद्र्धनले अन्तर्राष्ट्रिय स्तरमा मान्यता समेत पाउँदैछ । योसँगै विश्वभर रहेका रेष्टुरेन्टहरूले नेपाली खानाका परिकार पनि मेनुमा राख्नेछन् । नेपाल आउने पर्यटकको ३५ देखि ४० प्रतिशत खर्च खानामा हुने गरेको छ । नेपाली परिकारका खानामा खर्च गराउन सके नेपालको प्रवद्र्धनमा थप सहज हुने देखिन्छ ।
थाइल्यान्ड, इटाली, भियतनामजस्ता मुलुकहरूमा पर्यटकहरू त्यहाँका परिकार खानैका लागि करोडौंको संख्यामा जाने गरेका छन् । नेपालको परिकार पनि प्रवद्र्धन गर्न सके नयाँ प्रडक्टको समेत सुरुवात हुने दाबी हानका महासचिव विनायक शाह गर्छन् । “खानाको प्रवद्र्धन र नेपाली खानाप्रतिको विश्वास विश्भर जानेछ, जसबाट नेपाली पर्यटनमा नयाँ आयाम थपिन्छ,” महासचिव शाहले भने ।
नेपाली मौलिक खाना अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अभियन्ता कर्ण शाक्यको अग्रसरतामा विभिन्न २३ वटा मौलिक खाना छनोट गरी प्रवद्र्धनात्मक अभियान थालिएको हो ।


यी हुन् खानाका २३ परिकार
पाँचवटा सुप
१ पञ्च कुवा (आलु, तामा र बोडी)
२ सिस्नोको झोल
३ फाँडो
४ क्वाँटी
५ ज्वानोको झोल

स्न्याक्स
१ चुकौनी
२ करेसावारी
३ चुक शखर खन्ड
४ साँधेको आलु

मुख्य खानाहरू
१ जोगी भात
२ सेकुवा
३ मन छोयला
४ हाकु छोयला
५ कुखुरा साँधेको
६ बँदेल उसिनेको
७ ढुंग्रे
८ वो (बारा)
९ चटामरी
१० पकुवा
११ फुलौरा

डेजर्ट
१ योमरी
२ दहीफल
३ सिकर्नी (दही दाल चिनी)

क्यालोरी टेष्ट गरिँदै
हानले उक्त २३ परिकारको क्यालोरी टेष्टका लागि सरकारको खाद्य प्रयोगशालामा पठाएको छ । नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न सुरु भएको राष्ट्रिय अभियानले गत कात्तिक महीनामा वरिष्ठ पर्यटन व्यवसायी तथा यस अभियानका अभियन्ता कर्ण शाक्यको संयोजकत्वमा समिति गठन गरी खानाको खोज तथा अनुसन्धान थालेको थियो ।
विश्वव्यापी रूपमा सामान्यतया २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रूपमा लिइन्छ । त्यसकारण कार्यदलले सोहीअनुसारको रेसिपी तयार पारी क्यालोरी टेष्टका लागि नेपाल सरकारको खाद्य प्रयोगशालामा पठाएको हानका महासचिव शाहले जानकारी दिए ।
छनोट गरिएका मौलिक खानालाई आवश्यकताअनुसार परिष्कृत गरेर विस्तृत विवरण (आवश्यक सामग्री, पकाउने विधिसमेत) तयार पारिएको र यसलाई केही समयमै विश्वव्यापीकरण गरिने शाहले बताए ।
चुक, हिङ, जिम्बु, टिमुर, ज्वानो, मेथी, छ्यापीलाई राष्ट्रिय स्वादको रूपमा ग्रहण गर्दै नेपाली खाना थाली, सेकुवा, छोइला, गुन्द्रुक, अचार, सुकुटी, चुकौनी, विभिन्न खालका सुप तथा अचारलगायत छनोट गरेको हो ।
खाद्य प्रयोगशालाबाट टेष्ट भई आएपछि छनोट गरिएका ती मौलिक नेपाली खानालाई नेपालस्थित विभिन्न दूतावासका उच्च अधिकारी, होटल व्यवसायी तथा आउने मार्च महिनामा ‘फूड फेष्टिवल’ गरी सार्वजनिक गरिने छ । त्यसपछि विदेशस्थित नियोगहरू, गैरआवासीय नेपाली संघ, युनेस्कोलगायत सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा निरन्तर प्रचारप्रसार र प्रर्वद्धन गरिनेछ ।
अभियानलाई आफ्नो अभियानका रूपमा लिँदै नेपाल पर्यटन बोर्डले ‘एक्सपेरियन्स नेपाल अभियान’ यसअघि नै घोषणा गरी नेपाल भ्रमण वर्ष यूरोप २०१७ का संयोजकसमेत रहेका दीपेश शाक्यलाई अभियान संयोजक तोकेको छ ।

डा. रिक सद्भावना दूत
अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध सिंगापुरका सेफ डा. रिक स्टेफानलाई नेपाली मौलिक खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानको तर्फबाट सद्भावना दूत घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय सेफ एसोसिएसनका निर्देशकसमेत रहेका डा. रिकलाई नेपाली मौलिक खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानको तर्फबाट सद्भावना दूत घोषणा गरिएको हो ।

पर्यटन प्रवद्र्धन र नयाँ प्रडक्ट
विनायह शाह
महासचिव, होटल संघ नेपाल (हान)
सुरुमा मेचीदेखि महाकालीसम्मको नेपाली रैथाने खानाबारे खोज अध्ययन गरी हिमाल तराई र पहाडका ८० वटा परिकार संकलन गरेका हौं ।
गोविन्द नरसिंह केसी, श्रीराम अधिकारी लगायतका ७ जना वरिष्ठ सेफहरू यो अभियानमा खटिएका थिए । हाल होटलको मेनुमा समावेश गर्न २३ वटा परिकार छानिएको छ । पक्कु, थाली, चुकौनी, समयवजी, बँदेल तारेको, सेकुवा, छोयला, करेसावारी, खल्पी, सुकुटी, सेल रोटी, क्वाँटी, च्याउको रस, गुन्द्रुक झोल, तामा झोल, कोदो झोल, पिंडालु झोल, ग्वार्चा, भुटुवा, खिर, दहीच्युरा लगायतका विभिन्न मौलिक नेपाली खाना मेनुमा समावेश गर्ने तयारी छ । मेन कोर्स, एपिटाइजर, डेजर्ट गरी विभिन्न भागमा बाँडिएको खानामा चाहिने मसला तथा सामाग्रीहरू जुनसुकै देशमा पनि उपलब्ध हुने भएकाले अन्तर्राष्ट्रिय होटलमा यी परिकार बनाउन सजिलो हुन्छ ।
मोटोपना नबढोस्, अपच नहोस् भन्नाका लागि खानेकुरामा प्रयोग हुने सामग्रीमा थोरै फरकपन ल्याएर फ्युजन समेत बनाइएको छ । २३ वटा परिकारको रेसिपी तयार भैसकेको छ । हरेक परिकारको रेसिपी दुई मिनेटको क्लिप समेत हानले तयार पारेको छ । अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्टको लागि उक्त क्लिप छिटै युट्युबमा राख्नेछांै । नेपाली रैथाने खानाको परिकारसम्बन्धी रेसिपी एप र किताब पनि छिटै निकाल्ने योजना समेत रहेको छ ।
हाल ८० देशमा रहेका गैरआवासीय नेपालीमध्ये ९० प्रतिशत नेपाली होटल व्यवसायमा आवद्ध छन् । रेष्टुरेन्टको नाम नेपाली भए पनि त्यहाँ नान, टिक्का, तन्दुरी लगायतका भारतीय परिकारको बाहुल्यता छ । हानले संसारको विभिन्न रेष्टुरेन्टको मेनुमा मौलिक खानाहरू राख्ने कन्सेप्ट तयार पारेको हो । यसले पर्यटनको प्रर्वद्धनका साथै नयाँ प्रडक्टको समेत विकास हुन्छ ।