कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
459

मुलुकको हवाई सुरक्षामा हेलिकप्टर र साना जहाज नै बढी चुनौतीका रूपमा देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले हेलिकप्टर र ५.७ टनमुनिका साना जहाजबाट सुरक्षा चुनौती रहेको जनाइएको छ ।
प्रतिवेदनअनुसार गत १० वर्षमा नेपालको हवाईक्षेत्रमा ८ वटा हेलिकप्टरसहित २१ वटा दुर्घटना भएका छन् । जसमा १९ सिटभन्दा बढी क्षमता भएको मल्टीइञ्जिन हवाईजहाज दुर्घटना भएका हुन्् । यस्तै, १९ सिट वा सोभन्दा कम क्षमता भएका ८ वटा जहाज दुर्घटना हँुदा १ सय ३२ जना व्यक्तिले ज्यान गुमाएका छन् ।

यसैगरी, १० वटा हेलिकप्टर दुर्घटनाबाट २३ जनाले ज्यान गुमाएका छन् । हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन (ईयू) ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ । हेलिकप्टरले नियमित उडान नगर्ने भएकाले यसमा ईयूको चासो आवश्यक नरहेको भन्दै त्यसमा आपत्ति जनाउँदै प्राधिकरणले पत्र लेखेको पनि पोखरेलले जानकारी दिए ।
ईयूले सन् २०१० देखि २०१२ सम्म भएका ५ वटा साना जहाज दुर्घटनामा ८९ जनाको मृत्यु भएपछि नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । प्रतिवेदन सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको हवाई क्षेत्रलाई इयूको कालोसूचीबाट हटाउन सम्बन्धित मुलुकसँग पहल भइरहेको पनि बताए । नेपालले हवाई सुरक्षाको स्तरदर वृद्धि गरिसकेको सन्दर्भमा पनि इयूले कालोसूचिमा राखिरहनुपर्ने अवस्था नरहेको उनको ठहर छ ।
हाल अन्तर्राष्ट्रियतर्फ तीन गरी २८ वटा घरेलु वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । यस्तै, प्रतिवेदनले आन्तरिक विमानस्थलमध्ये सोलुखुम्बुस्थित लुक्ला विमानस्थल सर्वाधिक जोखिमयुक्त विमानस्थलका रूपमा देखिएको उल्लेख गरेको छ । विगत पाँच वर्षमा लुक्ला विमानस्थलमा मात्रै २३ वटा विमान दुर्घटना भएका छन् । जसमध्य ९ वटा ठूला दुर्घटना भएका छन् । त्यसैगरी दोस्रो जोखिमयुक्त विमानस्थल जोमसोम र तेस्रो जुम्ला विमानस्थल रहेको प्रतिवेदनले औल्याएको छ । जोमसोममा १५ वटा दुर्घटना भएका छन् भने जुम्लामा १४ वटा विमान दुर्घटना भएका छन् ।