दिपेन्द्र थापा
बुधवार, श्रावण २९, २०७६
304

आन्तरिक उडान व्यवस्थापनमा सकस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा देखिएको चाप कम गर्न सरकारले तीन विकल्प अघि सारेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साना विमानको लागि पहिलो प्राथमिकतामा काभ्रेको धुलिखेलनजिक ठूलीचौर विमानस्थल निर्माण गर्ने र त्यो सम्भव नभए उपत्यकाभित्रै नयाँ विमानस्थल निर्माणका लागि जग्गा खोज्ने जनाएको छ ।
प्राधिकरणका अनुसार यी दुवै विकल्प सम्भव नदेखिए काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको रामेछापको मन्थली विमानस्थललाई स्तरोन्नति गर्ने लक्ष्य छ । बिपी राजमार्ग निर्माणपछि काठमाडौंबाट मन्थली तीन घन्टामै पुग्न सकिन्छ भने हाल निर्माणाधीन मध्यपहाडी लोकमार्गले यो विमानस्थलसम्मको दूरी थप छोट्याउनेछ । यस विमानस्थलबाट हाल सोलुको लुक्लामा बाह्रै महिना कार्गो उडान तथा केही महिना यात्रुवाहक जहाजसमेत उडान हुँदै आएका छन् ।
काभ्रेको धुलिखेलनजिक ठूलीचौर विमानस्थल विगत १७ वर्षदेखि चर्चामा रहेको छ भने दिवंगत मन्त्री रवीन्द्र अधिकारीको पालामा काभ्रेकै नागीडाँडासँगै यसले थप चर्चामा आएको थियो । दोस्रो विमानस्थलको निर्माणको लागि काठमाडौं उपत्यकाको क्षेत्रमा स्थान र सम्भाव्यता खोजी गर्ने प्राधिकरणले जनाएको छ । यी दुवै विकल्प पनि नभए रामेछाप विमानस्थललाई विस्तार गरी स्तरोन्नति गर्ने योजना रहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । “हामीले विकल्पका लागि बजेट निर्माण गरि कार्यक्रम छुट्याएको अवस्था छ, विगतकै क्षेत्रमा विमानस्थल निर्माण गर्ने कि अन्य स्थानको खोजी गर्ने भनेर अध्ययन गरिरहेका छौं,” उनले भने, “यदी यो दुवै विकल्प नभएमा रामेछाप विमानस्थलको विस्तार नै अपरिहार्य छ ।”
विगतकमा नागीडाँडा विमानस्थलका सम्बन्धमा अध्ययन गरिए पनि प्राधिकरणले पछिल्लो समयमा गरेको अध्ययनबाट यो विमानस्थल सञ्चालनमा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नै अवरोध गर्ने देखिएको छ । अर्कोतर्फ भौगोलिक कठिनाइ भएकाले नागीडाँडामा विमानस्थल बनाउन उपयुक्त नरहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणको अध्ययनले धुलिखेलको ठूलीचौर नै उपयुक्त रहेको देखाएको छ र यसमा थप अध्ययन भइरहेको छ ।
महानिर्देशक पोखरेलले खोजी जारी रहेको र सबैको सहमतिमा नै विमानस्थलको टुंगो लगाउने बताए । विमानस्थल निर्माणका लागि लगानीको कुनै चिन्ता नरहेको उल्लेख गर्दै उनले सम्भाव्यता पहिचान भएमा विदेशी कम्पनीले पनि निर्माणको लागि चासो देखाएको बताए । “कतै पनि सम्भाव्यता देखिएन भने रामेछाप विमानस्थललाई सुदृढ गर्नु र स्तरोन्नति गर्नुको विकल्प देखिँदैन,” महानिर्देशक पोखरेलले भने । प्राधिकरणले ल्याउन लागेको करिब ४२ अर्बको बजेटमा पनि वैकल्पिक विमानस्थल शीर्षकमा बजेट छुट्याउने तयारी छ ।
काभ्रेको ठूलीचौर विमानस्थल सन् २०१० मा नै जोशी एसोसिएट्सले अध्ययन प्रतिवेदन तयार पारे पनि विमानस्थल निर्माणको काम अगाडि बढ्न सकेको थिएन । धुलिखेल नगरपालिकाको ७ र ८ नं. वडाको सिमानामा पर्ने प्रस्तावित विमानस्थल काठमाडौंबाट नजिकै रहेकाले यसको सम्भावना पनि उत्तिकै छ ।
सन् २०१० मा तयार पारिएको अध्ययन प्रतिवेदनले रनवे बढाउन जंगल भएकाले वातावरण मन्त्रालयको स्वीकृति लिनुपर्ने, निर्माणस्थलमा बस्ती भएकाले स्थानीयको समर्थन हुनुपर्ने, जियो टेक्नोलोजीको थप अध्ययन गर्नुपर्ने सुझाव दिएको थियो । यस्तै, चट्टान ठूलो मात्रामा रहेकाले उक्त चट्टानमा विस्फोट गर्नुपर्ने तथा चट्टान माथि र तल बस्ती समेत भएकाले स्थानान्तरण नगरी विस्फोट गर्न नमिल्ने र ठूला विमान उडाउन नसकिने जस्ता समस्या पनि औंल्याइएको थियो ।
प्राधिकरणले १२ सय मिटरको रनवे र ३० मिटरको चौडाईमा विमानस्थल निर्माण गर्नका लागि ठूलो लगानीको आवश्यकता पर्ने हुँदा काम अगाडि बढ्न सकेको थिएन । भिजुअल फलाइट रुट (आँखाले हेरेर गर्ने उडान) भीएफआर लाइटमात्र राख्ने गरी विमानस्थलको निर्माण हुने पूर्वसम्भाव्यता अध्ययनमा उल्लेख छ । दैनिक ४ सयसम्म उडान भर्ने त्रिभुवन विमानस्थलको ३५ प्रतिशत साना विमानले पहाडी क्षेत्रमा केन्दित भएर उडान भर्दै आएका छन् । नयाँ विमानस्थल काठमाडौं आसपासमा निर्माण गर्न सकेमा हालको त्रिभुवन विमानस्थलको चाप कम हुने प्राधिकरणको अनुमान छ ।

निजगढमा लगानी नजुटे सरकारले नै लगानी गर्ने


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफैँ लगानी गर्ने बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले आफैं निर्माण अगाडि बढाउने दावी गरे । उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफल पछि थप निर्णय लिने पनि बताए । मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने पनि बताए । राजनीतिक प्रतिवद्धता र सरकारले आयोजनालाई महत्व दिएको कारण मंसिरमा शिलान्यास हुने दावी गर्दै उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि रुख काट्नुअघि वृक्षारोपण गर्ने जानकारी दिए ।

 

 

twitter:@dipendrath