गोपाल पोखरेल
सोमवार, श्रावण २७, २०७६
188

उदयपुर-प्राकृतिक सौन्दर्य र धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल बन्ने सम्भावना रहेको उदयपुरको ताप्ली गाउँपालिका–२ स्थित लेखगाउमा रहेको पन्चकन्या पोखरी ओझेलमा परेको छ । आवश्यक भौतिक पूर्वाधारको अभावसँगै यसको प्रचार–प्रसार नहुँदा ताप्ली पोखरीको नामबाट समेत जिल्लामा चिनिने पन्चकन्या पोखरी ओझेलमा परेको हो ।
समुन्द्री सतहबाट ५ हजार ९ सय फिटको उचाइमा रहेको यो पोखरी करिब ७५ मिटर चौडाइ र ३ सय मिटर लम्बाइको छ । किंवदन्तीअनुसार सत्ययुगमा यहाँ पाँचवटा कुवा थिए । एकदिन साँझ कुवामा पानी भर्न गाउँबाट आएका पाँचवटी कन्या पानी भर्दा भर्दै यस ठाउँमा अलप भए । कन्या अलप भएको भोलिपन्ट सबै कुवा एक आपसमा जोडिएर यति ठूलो पोखरी तयार भएको र यसको नाम पन्चकन्या पोखरी रहन गएको हो ।

पोखरीमा कन्या अलप भएका कारण अहिलेसम्म पनि यस पोखरीको पानी महिलाले छुन नहुने र यहाँको पानी पिउन र लुगा धुन नहुने विश्वास गरिन्छ । बाहै्र महिना चिसो हुने यस स्थानवाट मनमोहक प्राकृतिक दृश्यहरूको दृश्यावलोकन गर्न सकिन्छ भने पोखरीमा पूजा गर्ने भाकल गरे मनोकामना पुरा हुने धार्मिक जनविश्वाससमेत रहिआएको छ ।
हरेक वर्षको वैशाख १ गते यहाँ तान्त्रिक विधिद्वारा विशेष पूजाआजा गर्ने परम्परा रहिआएको छ । पन्चकन्या पोखरीमा बाह्रै महिना प्रशस्त पानी हुने भए पनि माछा भने पोखरीमा भेटिदैनन् । पोखरीमा देवी–देवताहरू नुहाउने भएकाले माछा नरहेको धार्मिक विश्वास छ । बली नचढाइने तर, अन्य पूजाआजा गरिने पन्चकन्या पोखरी पर्यटकको गन्तव्यस्थल बन्न सक्ने संभावना रहेर पनि पुर्वाधार निर्माण र प्रचार–प्रसारको अभावमा ओझेलमा परिरहेको स्थानीयको भनाइ छ ।