प्रकाश लम्साल
बिहिवार, श्रावण २३, २०७६
557

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल


बारा-दुई दशकअघिदेखि चर्चामा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिने भएको छ । आगामी मंसिरमा विमानस्थलको शिलान्यास भएसँगै मुख्य कामले गति लिने भएको हो । पाँच वर्षभित्र एउटा धावन मार्ग र टर्मिनल भवन बनाई सञ्चालनमा ल्याउने लक्ष्यका साथ धावनमार्गमा पर्ने वस्ती सार्न पुनर्वासको कामसँगै शिलान्यास गरी मुख्य धावनमार्गको काम सुरु गर्न लागिएको हो ।

१४ सय ७६ घरधुरी रहेको ऐलानी ७ सय ५५ बिगाह जग्गामा रहेको टाँगिया वस्ती पुनर्वास थाल्न सरकारले २० करोड रूपैयाँ पठाइसकेको छ । कामको गतिका आधारमा अपुग रकम सरकारले नरोक्ने आयोजना प्रमुख ओम शर्माले बताए । “यसअघि प्रारम्भिक काम भयो, अब शिल्यान्याससँगै धावनमार्गको कामले गति लिने छ,” उनले भने, “नेपाल आफैंले निर्माण गर्ने यो आयोजनाको काम पाँच वर्षभित्र सकिने छ ।” गुरुयोजनाका लाग ५० करोड रूपैयाँ आएको भन्दै आयोजना प्रमुख शर्माले शिलान्याससँगै निर्माण थालीने धावन मार्गमा पर्ने टाँगिया वस्ती पुनर्वास योजना, लिंक रोड र बस्तीवरपरका स–साना रुख काट्ने कामले गति लिने बताए ।
कोरियाली विस्तृत सम्भाव्यता अध्ययनका आधारमा विमानस्थल निर्माणका लागि सुरुको काम भनेको मुख्य धावनमार्गमा पर्ने टाँगिया वस्ती हटाउनु हो । त्यसपछि विमानस्थलमा सहर निर्माणका लागि रुख कटान दुवै जटिल विषय बनेर विवाद बढेपछि आयोजनाको काम सुस्त बनेको थियो । तर, पछिल्लो समयमा एउटा मात्रै धावनमार्ग बनाई पाँच वर्षमा विमानस्थल सञ्चालनमा ल्याउन प्रत्येक वर्ष २० देख ३० अर्ब खर्च गर्ने तयारी सरकारले गरेको छ ।
विमानस्थलका लागि टाँगियाबस्तीमा धावनमार्ग र टर्मिनल भवन बन्छ । त्यो वस्तीलाई बाराकै कोहल्वी नगरपालिको वडा नं. ५, ६, ३ र जितपुर–सिमरा नगरपालिकाको १६ र १७ वडामा रहेका बुट्यान र झाडी रहेको स्थानमा २ मध्ये १ मा छलफल चलाई पुनर्वासअन्तर्गत चाँडै सारिने शर्माले बताए । उक्त स्थानमा दुवै स्थानीय तहले आयोजनालाई सहमति दिइसकेका छन् ।
नागरिक उड्ययन प्राधिकरणले शिलान्यासपूर्व धावनमार्ग र टर्मिनल भवन निर्माणका लागि डिटेल डिजाइनका लागि कन्सल्टेन्सी छान्ने काम सुरु गरेको बताइएको छ । विमानस्थल निर्माणको पूर्वतयारीका प्रारम्भिक काम रेखाङ्कन, मुआब्जा, तटबन्धलगायतका काम भए पनि वास्तविक फिल्डमा आयोजनाको काम सुरु हुनै लाग्दा विमानस्थलसँगै सहर निर्माणका लागि हजारौं रुख काट्ने चर्चा चल्दा वातावरणीय विवाद बढेर काम प्रभावित बनेको थियो ।
आयोजना प्रमुख शर्माले पुनर्वास, गुरुयोजनासँगै अब आयोजनाको मूल कामले गति लिने बताए । उनले पहिलो धावनमार्गमा बस्ती स्थानान्तरण भएपछि कम क्षति हुने गरी रुख र बुट्यान काटिने बताए । विमानस्थलको धावनमार्गको बीचमै पर्ने टाँगियावस्तीलाई अन्यत्र सार्न करिब ४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । विमानस्थल निर्माणको काम अघि नबढ्नुको मुख्य कारण टांगियाबस्ती स्थानान्तरणनै हो जुन अब सहज बनेको छ ।
टाँगिया वस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले आफूहरू विकासको बाधक नभएकाले राज्यले दिएको ठाउँमा सर्न तयार रहेको बताए । टाँगिया बस्तीमा १४ सय ७६ घरघुरी र ७ सय ३१ बिगाह १४ कट्ठा ऐलानी जग्गा प्रयोग भएको छ ।
आयोजनाको प्रारम्भिक काम विमानस्थलको चारकिल्ला क्षेत्र छुट्याई ५०÷५० मिटरमा कंक्रिटको पोलबाट सिमान छुट्याउने काम सम्पन्न भइसकेको छ भने चार किल्लाभित्रको निजी स्वामित्वमा रहेको काँटगाउँको घरजग्गा पहिचान भई मुआब्जा दिई अधिग्रहण गर्ने प्रक्रिया सकिएको छ । चार किल्लाको पश्चिममा पर्ने पसाह खोलामा तटबन्धनको काम अन्तिम चरणममा पुगेको छ ।
२०६६ फागुन २३ मा मन्त्रिपरिषद्को निर्णयअनुसार सरकार र ल्याडमार्क वल्र्डवाइड (एलएमडब्लु) बीच निजगढ विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन सम्झौता भएको थियो । एलएमडब्लुले २०६८ साउन १७ मा करिब ५ खर्ब रूपैयाँको लागतमा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सक्ने गरी दुईवटा धावनमार्ग र टर्मिनलसहितको अत्याधुनिक सुविधा सम्पन्न विमानस्थल बनाउन सकिने प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो ।
सरकारले नेपाली सेनालाई विमानस्थलभित्रका रुख काट्न अनुमति दिने तयारीसँगै ठूलो संख्यामा काटिने रुखले वातावरणीय प्रभावलाई असर पार्ने भन्दै विवाद सुरु भई विमानस्थलको काम अघि बढ्न नसकी ठप्प बनेको थियो । सेनालाई दुई वर्षभित्रमा सवै काम सम्पन्न गर्ने गरी सरकारले १ अर्ब ५० करोड रूपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । जुन काम स्थगित भएको थियो ।