कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
644

लमजुङ-आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने लमजुङका दुइटा झरनामा छुट्टाछुट्टै फेस्टिभल हुने भएको छ । जिल्लाको सदरमुकाम बेसीसहरको उदिपुरस्थित गाईखुरे झरना र मस्र्याङ्दीको भुलभुलेस्थित हामखोला झरनामा मिनी महोत्सव हुने भएको हो । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका ८ भुलभुलेस्थित हामखोला झरनामा साउनको २५ गते झरना सांगीतिक उत्सव हुने भएको हो । त्यस्तै बेसीसहर–१, उदिपुरको गाईखुरे झरनामा भदौको ७ गते सशुल्क क्यानोइङसहित विशेष सांगीतीक उत्सव हुने भएको हो ।
आन्तरिक पर्यटकहरूलाई लक्षित गरी दुवै झरनामा मिनी महोत्सव गर्न लागिएको आयोजकहरूले जनाएका छन् । गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय सम्पदाका रूपमा रहेका झरनाहरूमा प्रवद्र्धनात्मक झरना उत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । फेस्टिभलमा झरनामा पानी खेल्दै स्थानीय कलाकारहरूको सांस्कृतिक र सांगीतिक प्रस्तुति हुनेछ ।

झरना उत्सवसँगै बेसीसहर–१, उदिपुरस्थित गाईखुरे झरनामा व्यावसायिक क्यानोनिङ हुने भएको छ । केहीवर्ष अघिदेखि व्यावसायिक क्यानोनिङ हुँदै आएको सो झरनामा भदौको पहिलो साता व्यावसायिक क्यानोनिङ उत्सव हुने भएको हो ।
बेसीसहर नगरपालिकाअन्तर्गत वातावरण सुधार तथा विकास अभियानद्वारा आगामी भदौ ७ गते शनिबार लमजुङको गाईखुरे भरनामा क्यानोनिङ फेस्टिभल–२०१९ सञ्चालन गरिने भएको हो । लमजुङ टेलिभिजनको सहकार्यमा क्यानोनिङ उत्सव सञ्चालन गर्न लागेको लमजुङ टेलिभिजनका निर्देशक सिजन श्रेष्ठले बताए ।
क्यानोनिङ उत्सव सञ्चालनका लागी झरना क्षेत्रमा तयारी सुरु गरिएको छ । झरनालगायत दर्शकहरूलाई अवलोकन र मनोरञ्जनलाई व्यवस्थित बनाउन बाटो सरसफाइसँगै बस्नका लागि टहराहरू निर्माण गरिएको निर्देशक श्रेष्ठले बताए । प्रत्येक बर्खाको सिजनमा आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्ने झरनामा तालिम प्राप्त खेलाडीहरूको साथमा स्थानीयले क्यानोइङ गर्दै आएका छन् । पछिल्लो समय विदेशी पर्यटकको तुलनामा यो खेलप्रति आन्तरिक पर्यटकले बढी चासो देखाएको पाइन्छ । गाईखुरे झरनालाई बाह्रै महिना सुचारु गरी क्यानोनिङ स्पटको रुपमा विकास गर्ने सोचमा लागीपरेको बेसीसहर नगरपालिकाले जनाएको छ ।
यसैगरी भुलभुलेस्थित हामखोला झरनामा पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि तीनवटा स्वीमिङ पुल बनाउन थालिएको छ । फेस्टिभलले उक्त क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पु-याउने आयोजकको विश्वास छ । फेस्टिबलमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरूका बारेमा पनि सूचना राखिने आयोजकले जनाएको छ । झरना प्रवद्र्धनका लागि स्थानीय गाउँपालिका नै लागि परेको छ ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङ र मनाङमा रहेका दर्जनभन्दा बढी आकर्षक झरनाहरूले पर्यटक लोभ्याउन थालेका छन् । पदमार्गसँगै रहेका दर्जनौं झरनाले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गरेको हो । बेसीसहरदेखि उत्तरतर्फ लागेसँगै देखिने दर्जनौं झरनाहरूले स्वदेशी मात्र नभई हजारौं विदेशी पर्यटकहरूलाई पनि मोहित बनाएका छन् । पर्याप्त प्रचार–प्रसारको अभावमा पनि प्रायः दिन झरनामा पर्यटकहरूको भीड लाग्ने गर्छ ।
मस्र्याङ्दी गाउँपालिका अन्तर्गतका भुलभुले सहित स्याँगे, जगत, च्याम्चेलगायतका ठूला झरनाले पर्यटकहरूलाई मोहित बनाउने गरेको छ । झरनामा पानीको मात्रा बढेसँगै त्यहाँ झरना अवलोकन गर्नेहरूको भीड पनि बढ्न थालेको हो । साताभरि काममा व्यस्त हुनेहरू बिदाको दिन झरनामा पुगेर आनन्द लिने गर्छन् । छोटो समयमा लमजुङका पर्यटकीय गन्तव्य पुग्न नसक्नेहरू पनि झरनामा पुगेर आनन्द लिने गर्छन् ।