कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
234

रुपन्देही- सरकारद्वारा गत वर्ष घोषित १ सय नयाँ गन्तव्य मध्येको पाल्पाको रानीमहलसम्म जाने सडक बाटोको बाँकी भाग यसै वर्षभित्र कालोपत्रे हुने भएको छ ।
प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले शनिबार भैरहवामा आयोजित नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस नाट्टा प्रदेश ५ को नयाँ निर्वाचित समितिको पदस्थापन समारोहमा सो जानकारी दिएका हुन् ।

अहिले रानीमहल पुग्ने बाटोको केही खण्ड कालोपत्रे गर्ने काम बाँकी छ, त्यसलाई यो आर्थिक वर्षमा रानीमहलसम्मै कालोपत्रे गर्ने कार्यका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको बताए ।
तानसेन कैलाशनगरदेखि रानीमहलसम्मको सडक दूरी १३ किलोमिटर छ । रानीमहल जानेबाटोमध्ये अहिले अवलसम्म ७ किलोमिटर बाटो कालोपत्रे भइसकेको छ भने ६ किलोमिटर बाटो कच्ची छ । प्रदेश सरकारले अवल रानीमहल खण्डको बाँकी कच्चीबाटो कालोपत्रे गर्न बजेट विनियोजन गरिसकेको र त्यसपछि त्यहाँ जाने पर्यटकहरूलाई यात्रा गर्न थप सहज हुने मन्त्री गिरीले बताए । उनले प्रदेशका पर्यटकीय स्थलसम्म पुग्नका लागि भौतिक पूर्वाधारका कामहरू गरिरहेको र केही वर्षमा यहाँको पर्यटन क्षेत्रले फडको मार्ने बताउँदै
गण्डकी प्रदेशको राजधानी पोखरासम्म पुग्नका लागि बुटवलबाट पाल्पा हुँदै स्याङ्जा पोखरासम्मै डबल लेनको सडक विस्तारका लागि काम भइरहेको उनले बताए ।
लुम्बिनीको विकास, प्रवद्र्धनमा आफूहरू लागिरहेको बताउँदै त्यहाँका बिहारहरूमा होटल जस्तै आवास सुबिधाबारे आफूहरू गम्भीर भएको बताए ।
पदस्थापन कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) ५ नम्बर प्रदेशका संस्थापक अध्यक्ष विष्णु शर्माले नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई पदस्थापन गराउँदै पर्यटन क्षेत्रको विकासका लागि काम गर्न आग्रह गरे ।
पदस्थापित अध्यक्ष अधिकारीले आफूहरू यस क्षेत्रको पर्यटन विकासका लागि पर्ने र लुम्बिनी भ्रमण वर्षसँगै नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि काम गर्ने बताउँदै राज्यले पर्यटन क्षेत्रप्रति बढी लगानीसँगै आवश्यक पर्यटन मैत्री नीति ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० प्रदेश ५ का संयोजक माधव नेपाल,होटल एसोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल राना, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सीपी) लगायतले मन्तव्य राख्दै पर्यटन क्षेत्रमा अधिक संभावना हुँदाहँुदै पनि पर्यटनमैत्री नीति नहुँदा समस्या रहेको बताउँदै सबै मिलेर पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।
अघिल्लो शनिबार सम्पन्न नाट्टा प्रदेश ५ को १३ औं वार्षिक साधारणसभाले कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । जसअनुसार प्रथम उपाध्यक्षमा रचना पन्त, द्वितीय उपाध्यक्षमा कुलचन्द्र पाण्डे, तृतीय उपाध्यक्षमा अनिलमान श्रेष्ठ, महासचिवमा चन्द्रबहादुर थापा, सचिवमा अञ्जन श्रेष्ठ, कोषाध्यक्षमा प्रदिप कुमार पोखरेल र सह–कोषाध्यक्षमा अंकित जैसवाल छन् ।