कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६
526

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमले भएका विमानको पूर्ण उपयोग गरी आम्दानी बढाउनमा ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् । मन्त्री भट्टराईले सोमबार निगमको कार्यालयमा उच्चपदस्त अधिकारीहरूसँग छलफल गर्दै, जनशक्तिको पूर्ण सदुपयोग गर्न, राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाएर व्यावसायिक उडान गर्न निगमलाई निर्देशन दिए ।
मन्त्री भट्टराईले विमान सञ्चालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक हो तर विमान खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाइ खरिद गर्ने वातावरण विकास गर्नुपर्ने बताएका छन् । उनले विगतमा दुर्गम क्षेत्रमा उडान भन्दै अवका दिनमा पनि समय सापेक्ष स्तरीय सेवा प्रदान गर्न सक्रिय रहनुपर्ने धारणा व्यक्त गरे । निगमलाई आन्तरिक समझदारीको जगमा सुदृढ बनाउन र योग्यलाई उचित काम सुम्पेर प्रतिफल लिन पनि मन्त्री भट्टराईले निगमका अधिकारीहरूलाई सुझाएका छन् । उनले, “विमानस्थलहरूको संख्या थपिँदै गएको सन्दर्भमा सबैतिर सेवा पु-याउन सल्लाह दिँदै आगामी मंसिरमा निजगढ विमानस्थलको शिलान्यास गरिने बताए ।”

मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पुँजीमा सन्तुलन आवश्यक छ र त्यसमा सरकारको सकारात्मक सहयोग रहने तर स्पष्ट व्यावसायिक योजना प्रस्तुत गर्न आह्वान गरे ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले गरेका उपलब्धिबारे प्रकाश पार्दै अघिल्लो वर्ष ६ लाख ५० हजार यात्रु बोकेर अन्तर्राष्ट्रिय उडानमा सबभन्दा बढी यात्रु बोक्न सफलता पाएको थियो र ८६ प्रतिशत सिट क्षमतामा उडान गरिएको बताए । अध्यक्ष खरेलले भने, “निगमले सेवाको स्तर वृद्धि गर्नुका साथै सुरक्षालाई उच्च प्राथमिकतामा राखी अगाडि बढेको बताउँदै पुँजी र ऋणबीच सन्तुलन हुनुपर्छ भन्ने अवधारणाले सरकारबाट २० अर्ब रुपैयाँको लगानी खोजेको छ ।” उड्डयन जस्तो संवेदनशील र तरल विषयमा आरोह अवरोह आउनु स्वाभाविक हो भन्नुहुँदै निगमको भविष्य उज्यालो रहेको उल्लेख गरे । निगमका आधिकारिक ट्रेड युनियनले बढ्दो उड्डयन क्षेत्रलाई ध्यानमा राखी निगमका लागि एकमुष्ठ १५ वटा विमान किन्नुपर्ने बताउँदै क्षमतावान संस्था बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए ।