विप्लव काफ्ले
मंगलबार, श्रावण २१, २०७६
861

जग्गा नछोड्ने सेनाको अडान जग्गा नछोड्ने सेनाको अडानभरतपुर विमानस्थललाई विस्तार गर्ने प्रक्रियामा ढिलाई भएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि विमानस्थल विस्तारको योजना अलपत्र परेको हो । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा उनको निधन भएपछि भरतपुर विमानस्थल विस्तारको योजना सेलाएको थियो ।नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले यही वर्र्ष राजविराज, भरतपुर र सुर्खेत विमानस्थललाई रात्रिकालीन उडानका लागि योग्य बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा योजना पेश गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् । यो अभिव्यक्तिले  पर्यटन मन्त्री भट्टराई पनि भरतपुर विमानस्थल विस्तार गर्न अग्रसर रहेको देखिन्छ ।
“रात्रिकालीन उडान भर्ने प्रतिवद्धता सुन्दा खुशी लागेको छ,” भरतपुर महानगरका मेयर रेणु दाहालले भनिन्, “विस्तारका लागि पहिले मन्त्रालयमा बुझाइएका फाइलहरू फेरि बुझाउने छौं, मन्त्रीसँग छलफल गरिनेछ ।” उनले विगतमा रोकिएको काम पुनः अगाडि बढ्ने बाटो खुलेको प्रतिक्रिया दिइन् ।“पहिलाका प्रपोजलहरू फेरि फरवार्ड गर्नेछौं,” मेयर दाहालले भनिन्, “विमानस्थल विस्तारमा चाहिने सबै सहयोग गर्न महानगर तयार छ ।” तत्कालीन मन्त्री स्व.  अधिकारी गत माघ १९ गते भरतपुर आउँदा अवतरणमा समस्या देखिएपछि दिशा परिवर्तन गरेर अवतरण गर्नुपरेको थियो । सो घटनापछि मन्त्री अधिकारी विमानस्थल विस्तारमा अग्रसर बनेका थिए ।

महानगरले विमानस्थल विस्तार गर्न आवश्यक जग्गा उपलब्ध गराउन उत्तरतर्फको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र र गण स्थानान्तरण गर्न प्रस्ताव पेश गरेको थियो ।“सहरी क्षेत्रमा रहेका व्यारेक हटाएर विमानस्थल फराकिलो पारौं भनेर मन्त्रालयमा माग गरेका थियौं”, मेयरले भनिन्, “मन्त्रीज्यूले रक्षा मन्त्रालयमा पेश गरिसक्नुभएको जानकारी पाएका थियौं, त्यसपछि कुनै प्रगति हुन सकेन ।” महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले विमानस्थल आसपासका मापदण्डविपरीतका संरचना हटाउन महानगरले पहल गर्ने बताए । “हटाउने अधिकार महानगरसँग छ, समय व्यवस्थापन मात्रै गर्न नसकिएको हो,” उनले भने, “सुरुमा अग्ला घरका ट्रष्ट हटाउन अनुरोध गरिनेछ, क्रमश अग्ला भवनले उत्पन्न समस्या समाधान गरिनेछ ।”भरतपुर विमानस्थल ६२ विघा क्षेत्रफलमा छ । तर, विमानस्थल वरिपरीका अग्ला घरका कारण अवतरणमा चुनौति देखिने गरेको छ । २०७१ जेठ ११ गतेको एक अध्ययन प्रतिवेदनले मापदण्ड विपरितका २ सय ५७ घरले समस्या सिर्जना गरेको उल्लेख थियो । जसमा १३ घर अस्थायी प्रकृतिका थिए । पश्चिमतर्फ ५० मिटर नजिकै ८८ स्थायी, १ अस्थायी घर, दक्षिणतर्फ २ सय ५९ मिटर नजिकै ५९ स्थायी र ८ अस्थायी घर मापदण्ड बनेका छन् । दक्षिणतर्फ नै २ सय ६० मिटरदेखि ४ सय ५९ मिटर आसपासमा ९७ वटा स्थायी र ४ अस्थायी घर बनेका छन् । विमानस्थल आसपासमा मापदण्ढ विपरीतका घर बनाउन तत्कालीन नगरपालिकालेनै अनुमति दिएपछि यो समस्या बल्झिदै आएको छ । अग्ला संरचनाका कारणले धावनमार्गलाई असर गर्ने गरेको छ ।भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले धावनमार्ग विस्तारको पुरानो योजना जग्गा अभावकै कारण हुन नसकेको बताउँछन् ।
“करिब ८० बिघा थप चाहिन्छ,” उनले भने, “अहिले १२ सय मिटर धावन मार्ग छ, आसपासको अवरोधले ९ सय मिटरमात्रै प्रयोग भएको छ, खुला क्षेत्र व्यवस्थापन अतिआवश्यक छ ।” उनले विमानस्थल नजिकै रहेको सेनाका व्यारेक स्थानान्तरण गर्न सके विमानस्थल फराकिलो पार्न र विस्तार गर्न सहज हुने बताउँछन् । “रात्रिकालीन उडान गर्न लम्बाईतर्फ करिब १ हजार मिटर, चौडाईतर्फ करिव १ सय मिटर बराबरको थप खुल्ला जग्गा चाहिन्छ,” उनी भन्छन्, “बसेको बस्ती उठाउन सहज नहोला, उचित विकल्प व्यारेकनै हुनसक्छ ।”
०७१ सालमै घोडा प्रजनन् केन्द्र मेघौली स्थानान्तरण गर्न सके करिव ४ सय मिटर धावनमार्ग बनाउन सकिने सुझाव सहित मन्त्रालयमा फाइल पुगेको थियो । “भरतपुरबाट रात्रिकालीन उडान सम्भव छ”, उनले भने, “तराईका भरतपुरकै स्तरका विमानस्थलले रात्रीकालीन उडान भरिसकेका छन्, हामी जग्गा अभावमा अल्झिएका छौं ।”हालको जग्गामा कता धावनमार्ग बढाउने भन्ने अन्यौलत देखिएको बताउँछन् ।
उनले दुबै व्यारेक स्थान्तरण गरेर खुला जग्गा पाएमा करिव ६ सय मिटर धावन मार्ग बढाउन सकिने बताए । “महानगरमा पनि विमानस्थलको गुरुयोजना पेश गरेका थियौं, बेलाबखत विज्ञ समूहले अध्ययन प्रतिवेदन जारी गरेका छन्,” उनी भन्छन्, “जग्गा मात्रै व्यवस्थापन भएमा भरतपुर विमानस्थलले गति लिन्छ, ठूला जहाज चलाउन पनि सकिन्छ ।” भरतपुरबाट हाल दैनिक १६ वटा जहाज ओहरदोहर गर्छन् । काठमाडौंका लागि यतिका ३, बुद्धका ४ जहाजले उडान भर्छन् ।
पोखराका लागि बुद्धको १ जहाज उड्छ । दैनिक सरदर ३ सय यात्रु हुन्छन् । “एटिआर, सिआरजे ठुला जहाज चल्न विमानस्थलको क्षेत्र बढाउनुपर्छ”, प्रमुख गौतमले भने, “प्रतिस्पर्धा पनि हुन्छ, यात्रु पनि सस्तोमा यात्रा गर्न पाउँछन् ।”