मनोरञ्जन शर्मा
सोमवार, श्रावण २०, २०७६
432

रुपन्देही-बुद्धजन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्या विगत ७ महिना (जनवरी २०१९ देखि जुलाई २०१९ सम्म) ८६ हजार ५ सय ३१ पुगेका छन् । गत वर्ष सोही अवधिमा ७४ हजार १ सय २९ जना विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।
चालू वर्षको ७ महिनामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अबधिको तुलनामा १२ हजार ४ सय २ जना अर्थात १६ प्रतिशतले बढी रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

सात महिनाको अबधिमा लुम्बिनी भ्रमणमा पुग्ने विदेशीसहित नेपाली र भारतीय पर्यटकको संख्या साढे ९ लाख बढी पुगेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोजकुमार भट्टराईले बताए ।
भैरहवाबाट लुम्बिनीसम्म पुग्ने सडक बाटो निर्माणका क्रम जारिरहेको समयमा पनि विदेशी पर्यटक बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ ।
लुम्बिनीको प्रचार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हुँदै जानु, प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष–२०७६ को कार्यक्रम आयोजना गर्नु, लुम्बिनीमा विभिन्न आध्यात्मिक गतिविधि कार्यक्रहरू आयोजना हुनुलगायतका कारणले लुम्बिनी आउने विदेशी पर्यटकहरूको संख्या विस्तारै बढ्दै गएको हो ।
अझै पनि भारत भ्रमणमा आउने विदेशी पर्यटकलाई स्थलमार्ग हुँदै लुम्बिनीतर्फ ल्याउने वातावरण बनाउन सकिएको छैन । भारतीय क्षेत्रहरू बोधगया, सारनाथ, बनारस, लखनऊ, दिल्ली, कुसीनगरलगायतका क्षेत्रमा अझ बढी मार्केटिङ गर्न सके त्यहाँ आउने विदेशी पर्यटकहरूको केही अंश भए पनि लुम्बिनीलगायतका क्षेत्रमा ल्याउन सकिने सिद्धार्थ होटल संघ सान नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । भारत र चीनमा बढीभन्दा बढी मार्केटिङ, सेल्समिसन जस्ता प्रचारात्मक एवं पर्यटकीय कार्यक्रम बढीभन्दा बढी आयोजना हुनुपर्छ, यसमा नेपाल पर्यटन बोर्ड, प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले मिलेर सामूहिक योजना बनाउनुपर्छ, हामी निजी क्षेत्र सहकार्य गर्न तयार छांै, श्रेष्ठले भने । यस वर्ष पनि बोधगयामा बुद्धिस्ट ट्राभल मार्ट, लखनऊ, दिल्लीलगायतका सहरमा आयोजना हुने पर्यटन विशेष कार्यक्रममा होटल संघ सिद्धार्थनगरले गएर प्रचारमुखी कार्यक्रम आयोजन गर्ने श्रेष्ठले जनाए ।
पर्यटक संख्या बिस्तारै बढे पनि उनीहरूको लुम्बिनी बसाई अबधि न्यून हुने गरेकाले लुम्बिनी र वरपरका क्षेत्रमा पर्यटकहरूको बसाई अबधि लम्ब्याउने खालका पर्यटनमुखी कार्यक्रम प्याकेजहरू, आध्यात्मिक कार्यक्रम थप तथा अन्य नयाँ कार्यक्रमहरू लुम्बिनी विकास कोष र सरोकारवाला निकायले गर्नुपर्ने र त्यसो भए लुम्बिनी आउने पर्यटकहरूको बसाई अबधि लम्ब्याउन सहज हुने लुम्बिनीका पर्यटन व्यवसायीहरू बताउँछन् । गएको ७ महिनामा लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंकाका पर्यटक छन् ।
सो अबधिमा १९ हजार २ सय ३९ श्रीलंकन पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । त्यसपछि म्यान्मारका १६ हजार ९ सय ५६, थाई १५ हजार ९ सय २०, चिनियाँ १२ हजार ८ सय ७, दक्षिण कोरियाका ३८ सय ४६, भियतनामी २९ सय ९६, जर्मनीका १८ सय, स्वीट्जरल्यान्डका १३ सय ४८, जापानका १२ सय ३६, अमेरिकाका ११ सय ८९, फ्रान्सका १ हजार २३ लगायत बिभिन्न देशका पर्यटक छन् ।
सोही अबधिमा लुम्बिनी भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या ७ लाख ६३ हजार ४ सय ३१ पुगेको छ भने १ लाख १० हजार २ सय ९८ भारतीय पर्यटकले लुम्बिनीलाई आफनो गन्तव्य बनाएका छन् । विदेशी, नेपाली र भारतीय गरी कुल ९ लाख ६० हजार २ सय ६० पर्यटकहरू गएको सात महिनामा लुम्बिनी पुगेका छन् ।
लुम्बिनी भ्रमणमा आउदा पर्यटकहरूले मुख्य स्थल मायादेबी मन्दिर, अशोक स्तम्भ, पबित्र पुष्करणी कुन्ड, विश्व शान्ति द्वीपलगायत बिभिन्न स्वदेशी तथा विदेशी बिहार अवलोकनका लागि पुग्छन् । केही पर्यटक चराचुरुंगी हेर्न र साइक्लिङमा पनि रमाउने गर्छन् । केही पर्यटक कपिलवस्तुका बिभिन्न बौद्ध साइटस र रामग्राम स्तुपासम्म पुग्ने गरेका छन् ।
स्थलमार्ग हुँदै आउने बुद्धिस्ट देशहरू श्रीलंका, थाइल्यान्ड, भियतनमा, म्यान्मार, दक्षिण कोरियालगायतका देशका पर्यटकहरू सोही दिन वा एकरात लुम्बिनीमा बसी फिर्ता जाने गरे तापनि युरोपियनलगायत चीन एवं अन्य देशका पर्यटक भने नेपालका अन्यत्र क्षेत्रमा भ्रमणका लागि जाने गरेका छन् । ७ महिनामा भारतसहित १ सय ४ देशका पर्यटक लुम्बिनी पुगेका छन् ।