कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६
290

कास्की - पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरूका लागि चिनियाँ भाषाको निःशुल्क तालीम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स– -याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालीम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइँ सहज बनाउने र भाषाको अभावमा उनीहरूलाई कुनै कठिनाइ नहोस् भनेर पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) पोखराको सहयोगमा चिनियाँ भाषाको तालीम शुरु गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए । आधारभूत र एड्भान्स गरी दुई सत्रमा कक्षा सञ्चालन गरिएको र आधारभूतमा ४१ र एड्भान्समा २१ गरी ६२ जना तालीममा सहभागी रहेका छन् । तालीम उद्घाटन गर्दै पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशिराम भण्डारीले भाषा तालीमबाट पर्यटकसँग गरिने व्यवहारमा सहजता हुने बताउँदै पथप्रर्दशक भनेको बाटो देखाउने मात्र नभई देशको राजदूत बन्नुपर्ने बताए ।