कारोबार संवाददाता
सोमवार, श्रावण ६, २०७६
118

पोखरा - कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय सिक्लेस गाउँसम्म पुग्ने सडक स्तरोन्नति शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ विजयपुर खोलादेखि मादी गाउँपालिका– १ सिक्लेससम्मको सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने कार्य अघि बढाएको हो ।
विसं २०६० मा सडकको ट्र्याक खुलेर गाडी गुड्न शुरु गरेको सिक्लेसम्मको ३२ किलोमिटरमध्ये हाललाई पहिलो चरणमा विजयपुर खोलादेखि थाकको उकालो क्यादुल्हेसम्मको १० किलोमिटर सडक स्तरोन्नतिका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम शुरु भएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए । २२ करोड २६ लाख ७८ हजार ८५३ लागतमा निर्माण गर्न लागिएको सो सडक दायाँबायाँ नालाबाहेक सात मिटर फराकिलो बन्ने बताइन्छ ।
सिक्लेसमा गतवर्ष निर्माण गरिएको शान्ति स्तम्भसहितको पूर्वाधार पर्यटकीय गन्तव्यका साथमा स्वदेशी तथा विदेशीका लागि नेपालको शान्ति प्रक्रियाको अध्ययनस्थलका रूपमा विकास भएकोमा बाटो स्तरोन्नति भएर कालोपत्रे गरिएपछि थप पर्यटक आगमन बढ्ने विश्वास गरिएको छ ।