विप्लव काफ्ले
आइतवार, श्रावण ५, २०७६
423

चितवन-पर्यटकलाई घुमाउने गरी नारायणी नदीमा क्रुज सिप (मिनी पानीजहाज) सञ्चालन ल्याइने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालि भरतपुरले ३५ करोड खर्चेर क्रुज चलाउन लागेको हो । क्रुज सिपको बेस बनाउने काम पूरा भएको छ । दुई महिनाभित्र दुई तला थप गरेर मिनी पानीजहाजलाई पूर्णता दिन काम तीव्र बनाइएको छ । भारतबाट आएका ५० जनाको प्राविधिक दिनहुँ खटिएका छन् । यो पानी जहाजमा २ सय जना चढ्न सक्नेछन् । वर्षमा ९ महिना चल्नेछ । वर्षायामका बेला ३ महिना बन्द हुनेछ ।
१ सय फिट लामो, २२ फिट चौडाइ, २२ फिट उचाइको पानीजहाज तयार हुनेछ । तलको बेसभन्दा माथिका दुई तला ८– फिट उचाइका हुनेछन् । पानीजहाजको तौल ५५ टनको हुनेछ । भरतपुर–१६ स्थित ज्ञानेश्वर सामुदायिक वन नजिकैको काभ्रेघाटको नदी किनारमा क्रुज सिप बनाउने काम भइरहेको छ । १५ फिट गहिरो पोखरीमा क्रुजको बेसलाई राखिएको छ । गत चैत पहिलो सातादेखि निर्माणको काम सुरु भएको थियो । “अबको दसै अगावै सञ्चालन गर्ने लक्ष्य छ”, प्रालिका प्रवन्धक निर्देशक रामचन्द्र कँडेलले भने, “पर्यटक मनोरञ्जनका लागि प्रयोग हुनेछ ।” उनका अनुसार सो क्रुज सिपमा सुरक्षाका उपकरण जडान हुनेछन् । उद्धारका लागि ५ वटा स्टिमर बोटसमेत चलाइनेछ । चालक ३ जना र उद्धारक १८ जना हुनेछन् ।

देवघाटदेखि गोलाघाटसम्म चलाउने लक्ष्य लिइए पनि सुरुवातमा नारायणगढस्थित नारायणी पुल नजिकदेखि शरणपुरसम्म मात्रै सञ्चालन हुनेछ । सुरुका महिना करिब २५ किमि मात्रै दूरी सञ्चालन हुनेछ । “दैनिक तीन पटक चलाउने योजना छ, एक पटकमा ३ घण्टा चल्नेछ”, उनले भने, “पर्यटक खाना, खाजा खाँदै रमाउन सक्नेछन्, स्थानीय सांस्कृति नाच पनि हेर्न पाउनेछन्, नदी किनारका दृश्य अवलोकन गर्न पाउनेछन् ।” बे्रेकफास्ट, लञ्च र डिनर क्रुजहरु सञ्चालन हुनेछन् ।
“काभ्रेघाटनै चढ्ने, ओर्लने ठाउँ हुनेछ, यही स्टेशन सुरु र अन्त्मिको विन्दु हुनेछ”, उनले भने, “छिट्टै पर्यटन, होटल व्यवसायीसँग समन्वय गरेर प्याकेजहरु बनाउने योजनामा छौं ।” भारतको गयान्डडियुर म्यारिन इन्टरनेशनलले प्राविधक सहयोग गरेको छ । गत पुसमा नारायणी नदीको बहाब अवस्थाबारे अध्ययन भएको थियो । एक हप्तासम्म विज्ञ टोलीले गरेको अध्ययनमा क्रुज सिपका लागि नदीको गहिराई पर्याप्त रहेको निष्कर्ष निकालेको थियो । पोखराबसपार्क नजिकैको नदी खण्डमा देखिएको भंगाल चुनौतीका रूपमा देखिएको थियो । यस्तै काभ्रेघाट तलका केही स्थानमा देखिएका भंगालहरु पनि चुनौतिका रूपमा देखिएका छन् । क्रुज सिपका लागि लगानी गर्ने मध्ये चितवनका ८ जना छन् ।
ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले क्रुजसिप सञ्चालनमा आएपछि पर्यटक आवगमनमा वृद्धि हुने बताए । “सामुदायिक वन नजिकैको क्षेत्रमा क्रुज चल्ने भए पनि हामी निकै उत्साहित बनेका छौं,” उनले भने, “स्थानीय क्षेत्रमा पनि रोजगार सिर्जना हुने अपेक्षा लिएका छौं ।” प्रदेश सांसद कृष्ण भुर्तेलले जलपर्यटन विकासमा योगदान पुग्ने बताए । “चितवन पर्यटनको तेस्रो गन्तव्य पनि हो, जलपर्यटन सम्भावना थियो, व्यवहारमा उतार्ने काम हुँदैछ,” उनले भने, “निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण बनाउन तीनै तहका सरकार प्रतिबद्ध छन् ।” उनले क्रुज सिप सञ्चालनमा सहज हुने गरी तटबन्धनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । यो वर्षका लागि ज्ञानेश्वर सामुदायिक वनको नदी किनारमा तटबन्धन गर्न २ करोड विनियोजन गरेको छ । गत वर्ष काभ्रेघाटमा तटबन्धनका लागि १ करोड विनियोजन गरेको थियो ।