कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६
499

ताप्लेजुङको सिदिङ्मा, पाँचथरको याङवरक गाउँपालिका र भारतको सिक्किम गरी त्रिकोणात्मक संगमस्थलमा अवस्थित तिम्बुङ पोखरी साँच्चिकै आकर्षक छ । आमाको काखमा राखिएको नानीझैं चट्टानको काखमा पोखरी । सङ्लो पानी । पानीभित्र तिर्थयात्रीले चढाएको ढकी पैसा पहेला रङको प्रष्टै देखिन्छ ।
यहाँ पुग्ने जो कोहीका अनुसार चट्टानमा पानी जमेर पोखरी हुनु त ठिकै हो । तर यतिको ठूलो पानी निकास भएको देख्दा लाग्छ, मुहानचाहिँ खोइ ? अनि आफैं लख काट्ने गर्छन्, चट्टानमै अर्थात् ढुङ्गामै पनि पानीको मूल फुट्दो रैछ । समुद्र सतहदेखि करिब ४५ सय मिटर उचाइमा पर्छ । करिब ४ सय मिटर लम्बाई र अढाई सय मिटर चौडाइमा पोखरीको क्षेत्रफल फैलिएको छ । निकास भएको पानी दूधको धारोझैं गरी छङछङ बग्छ । पोखरी आसपास दर्जनौ साना–ठूला पोखरी छन् । यद्यपि तिम्बुङ पोखरीले सबै ओझेलमा छन् ।
पोखरी वरिपरि फराकिलो चौर छ । हरियो चौरमा मान्छेभन्दा अग्ला सेतो रङको केन्जो । विभिन्न प्रजातिका लेकाली जडिबुटी । रङ्गीचङ्गी फूल । माइकोपिला, पाँचऔले, विख्मा, कुट्की र खोकिम । जुन स्थानीयबासीले दैनिक जीवनयापनमा औषधिको रुपमा उपभोग गर्छन् । आसपासमा चौंरी तथा भेडी गोठ । भेडा तथा चांैरीको घाँटीमा झुन्ड्याइएको घन्टीको किन्डिङ किन्डिङ आवाज र मन्दिरको घन्टीको मिश्रित आवाजले देवीदेवताको काखमा भएको महसुस गराउँछ । गोठमा चौबिसै घन्टा पुतुतु उडिरहेको धुँवाले चिसो महसुस गरेको शरीरले न्यानोपनको स्पर्श गर्छ । लेकाली क्षेत्र भएकाले क्षणभरमै त्यो सफा र सुन्दर निलो आकाश बादलले छेकिदिन्छ । बिजुली झ्याप्प जाँदाको अँध्यारो पनको झल्को महसुस हुने गरिको मनको पीर प्रकृतिले सुनेझै क्षणभरै छ्याङै खुल्छ । मोबाइल र क्यामेरामा तस्बिर कैदका लागि क्लिक गर्न हातका औंला चल्छन् । शिरशिर हावाले कान चिसिएको पत्तै हुन्न ।
तिम्बुङ पोखरीको दर्शन गरे चिताएको पूरा हुने जनविश्वास छ । पूर्वी पहाडी जिल्लाबाहेक भारतका नेपाली भाषीहरू आउँछन् । अझ आदिवासी जनताजाति बढी आउँछन् । जनजाती प्रकृतिपूजक भएकाले तुलनात्मक रुपमा बढी आउने गरेको स्थानीयको बुझाइ छ । कोही दर्शन त कोही प्रकृतिको अवलोकन गरेर आनन्द लिन्छन् । वरपर मानव बस्ती नभएकाले चौरी र भेडीगोठ नै होटल तथा लज हुन् । पाँचथरको गणेशचोक हुँदै फलैचासम्म गाडीमा पुगिन्छ । फलैचादेखि ताप्लेजुङको कालीखोला हुँदै तिम्बुङ पोखरीसम्मका लागि १ दिन १ बिहान लाग्छ । भ्रमणका लागि असोज महिना अनुकूल मानिन्छ । किनकी पानी कम पर्ने र आकाश खुल्ने भएकाले चारैतिरको दृश्य अवलोकन गर्न मिल्छ । हिउँदमा अत्यधिक हिउँ पर्ने र बास बस्नका लागि चौरी तथा भेडी गोठ बेंसी झर्ने भएकाले सुनसान हुन्छ । स्लिपिङ ब्याग, न्यानो कपडा, टेक्ने स्टिक, टर्च लाइट, मोबाइल चार्जर, मकै भटमासको सातु, ड्राई फुड र एन्टिबायोटिक औषधि बोके यात्रा सहज र आनन्दको बन्छ । वार्षिक कतिले दर्शन तथा अवलोकन गर्छन् भन्ने यकिन तथ्याङ्क छैन । तथापी स्थानीयबासीका अनुसार वार्षिक ५ हजार हाराहारीमा पोखरीमा जाने गर्छन् ।

पोखरीका लागि ५० लाख लगानी
सरकारले भ्रमण वर्षमा घुम्नैपर्ने पर्यटकीयस्थलको सूचीमा समेटिएको तिम्बुङ पोखरी क्षेत्रमा पूर्वाधार निर्माण गर्न ५० लाख लगानी गरेको छ । पोखरी क्षेत्रमा चालू आर्थिक वर्षमा ५० लाख लगानी गरिएको हो । उक्त रकम नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सिदिङमा गाउँपालिका अध्यक्ष नर वहादुर कडरियाले जानकारी दिए ।
गाउँपालिका–१ कालीखोलामा अवस्थित पोखरी क्षेत्र वरिपरि मन्दिर, पाटी र शौचालय निर्माण गरिएको छ । अध्यक्ष कडरियाले भने, “बासका लागि पाटी, दर्शनका लागि मन्दिर र शौचालय अति आवश्यक थियो । दर्शनार्थी÷पर्यटकलाई सहज हुने अपेक्षा छ ।” स्थानीयका अनुसार हिउँदमा जाडो र बर्खामा झरीले पूर्वाधार निर्माण गर्न निकै कठिन हुन्छ । गाउँपालिकाका प्राविधिक वसन्त राईले नवनिर्मित्त पूर्वाधारले आकर्षण थपिएको जानकारी दिए । सिदिङ्मा गाउँपालिका–१ कालीखोलाका अध्यक्ष विजय चापागाईले ताप्लेजुङ र पाँचथर दुवै मिलेर पोखरी संरक्षण, पूर्वाधार निर्माण तथा प्रचारप्रसारका काम गर्नुपर्ने बताए । दुवै जिल्लाको सम्पत्तिी र आयश्रोत भएकाले दुवै जिल्लाको सहकार्य आवश्यक रहेको वडाअध्यक्ष चापागाईको भनाइ छ ।

देवराज गुरुङ