पूर्णिमा श्रेष्ठ
सोमवार, असार ३०, २०७६
346

पर्यटकका लागि नेपाल हरेक सिजन उपयुक्त गन्तव्य देश भन्दा पनि फरक पर्दैन । हेरक मौसम र समयमा प्रकृतिको फरक आनन्द लिन सकिन्छ ।
सामान्यतयाः ट्रेकिङको लागि उपयुक्त समय मानिदैन मनसुनको सिजनलाई । तर, मनसुन ट्रेकिङको पनि छुट्टै मजा हुन्छ । गत साता मनसुनकै बीच हामी च्छोरोल्पा ग्लेसिअर पुगेका थियौं ।

बसको झ्यालबाट आँखाले भ्याउनेजति हरिया पहाड थिचोल्दै बसमा दोलखाको छेदछेद पुगियो । सोही दिन दुई घण्टा हिँडेपछि सिमीगाउँ पुगेर बास बस्यौं । भोलिपल्टको हाम्रो गन्तव्य थियो वेदिङ । बिहानको नास्ता खाएर गन्तव्यतर्फ लाग्यौं ।
माथिल्लो तामाकोसीको किनारै–किनार हिँड्यौं । वर्षाका कारण तामाकोशी ठूलो आवाजले सुुसाएको थियो । स–साना खहरे खोला र झरनाहरु बाटोमा अन्नगिन्ती भेटिए ।
शेर्पा जातिको बसोबास रहेको बेदिङ ३६ सय ५० मिटरको उचाइमा छ । यो गाउँ गौरीशंकर हिमालको काखैमा पर्ने रहेछ । भोलिपल्ट बेदिङबाट ना गाउँ पुग्यौं । ४१ सय मिटरमा रहेको यो गाउँ पातलो बस्ती रहेको गाउँ हो । हिउँ पर्न थालेपछि यहाँका मानिसहरु बेसी झर्दा रहेछन् । प्रायः घरहरु बन्द नै थिए । सोही दिन हामी च्छोरोल्पा ताल पुग्यौं ।
लामो तालको एक छेउबाट पानी कटान गरिएको रहेछ । करिब ४५ सय ८० मिटरमा रहेको यो ताल नेपालकै सबैभन्दा ठूलो ग्लसिअर ताल हो । विभिन्न थरीका रंगीचंगी फूलहरु मनसुन समयमा मात्र फूल्ने गर्छन् । जुनसुकै सिजनमा पनि मौसम खुलेको बेला ताल आकर्षक देखिन्छ ।