कारोबार संवाददाता
आइतवार, असार २९, २०७६
386

दमौली-तनहुँको दमौलीस्थित व्यास क्षेत्रमा वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण हुने भएको छ । व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर परिसरमा निर्माण हुने १०८ फिटको व्यासको मूर्तिसहित अन्य संरचना निर्माणका लागि ६२ करोड ८५ लाख ५ हजार २११ रुपैयाँ लाग्ने अनुमान गरिएको व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।
उनका अनुसार मूर्ति र पेडेस्टल निर्माणका लागि ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान गरिएको छ । निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त योजनाको पहिलो वर्ष मात्रै ७ करोड खर्च हुने अनुमान छ । महर्षि वेदव्यासको जन्मभूमिलाई प्रचारप्रसार गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले व्यास पराशर क्षेत्रको गुरुयोजना निर्माण गरिएको हो समितिका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । व्यास क्षेत्र विकास कोषले त्यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यको रूपमा विकास गर्दै व्यास ग्रामका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।
मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत सार्वजनिक भइसकेको छ । व्यास क्षेत्र विकास कोषले गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सलाई जिम्मा दिएको थियो । गुरुयोजनाअनुसार व्यास क्षेत्रमा १०८ फिटको व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, चौकीदार घर, कोेसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन कक्ष, योग कक्ष, समितिको सचिवालय बैठक कक्ष, संग्रहालय, वृत्तचित्र कक्ष, व्यास पुस्तकालय, शौचालय, बगैँचासहितको विश्राम घर, तलाउसहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पुजारी घर, साना व्यासका २७ मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर ‘वेद’ लेखिएको सानो मूर्ति प्रस्ताव गरिएको महर्जनले जानकारी दिए । प्रस्तावित गुरुयोजनाको आकार कलशजस्तो बनाइएको छ ।