कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६
2280

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनापछि पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । धावनमार्गमा नयाँ कालोपत्रे बिच्छ्याउनका निमित्त चैत १८ देखि राति १० बजेबाटै बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक २१ घन्टा सञ्चालनमा आएको हो ।
नेपाल भ्रमण वर्षको पूर्वाद्र्धमा विमानस्थलको धावनमार्ग स्तरोन्नति सम्पन्न भएसँगै करिव ४४ वर्ष पुरानो कालोपत्रेलाई विस्थापन गरिएको हो । धावनमार्ग स्तरोन्नति भएसँगै विमानस्थल सोमबारबाट २१ घण्टा (बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म) सञ्चालनमा आएको छ । सन् १९७५ मा निर्माण गरिएको धावनमार्गको पिच पहिलोपटक पूरै फालेर नयाँ पिच राखिएको हो ।

धावनमार्गको ३ हजार ५० मिटर लम्बाई र ६० मिटर चौडाईको कालोपत्रेलाई पूर्ण रूपमा फालेर पहिलो चरणमा २० सेमी र दोस्रो चरणमा ६.५ सेमी बाक्लो कालोपत्र गर्ने काम पूरा भएको नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका इन्जिनियर दीपेन्द्र श्रेष्ठले जानकारी दिए । “वर्षा मौसम सुरु भएकाले गर्दा २-३ दिनको काम बाँकी छ, यो काम भने वर्षापछि मात्रै सक्ने योजना छ,” उनले भने, “तर अब कुनै उडान अवतरणमा भने समस्या हुने छैन ।”
२१ घण्टा सञ्चालनमा रहेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई २०७५ चैत १८ गतेदेखि ‘नोटिस फर एयरम्यान’ (नोटाम) जारी गरेर राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरी धावमार्ग स्तरोन्नतिको काम पूरा गरिएको हो । चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रुपियाँको लागतमा धावमार्गको स्तरोन्नति र विमानस्थलको प्यारालल ट्याक्सी–वे, लिङ्क रोडलगायतको काम गरिरहे पनि पहिलो चरणको काम पूरा गरेको हो ।
धावनमार्गको पिच पुरानो भएकाले उडान अवतरणमा पिच उप्किने समस्या बढेर गएसँगै प्राधिकरणले नयाँ कालोपत्रे गर्ने गुरुयोजना २ वर्ष अगाडि नै ल्याएको थियो । तर, कार्य सुरु गर्न भने विभिन्न कारणले ढिलो भएको थियो । अब भने विमानस्थल असार १६ देखि भदौ १४ सम्म २१ घन्टा सञ्चालनमा आउने छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार त्यसपछि भने विमानस्थलको दोस्रो चरणको ‘प्यारालल ट्याक्सी–वे’को काम सुरु हुनेछ । चिनियाँ कम्पनीले ८ महिनाभित्र ‘ट्याक्सी वे’को काम पूरा गर्ने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।
सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिका लागि राति साढे ११ बाट बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर विमानस्थलको काम गरिने क्षेत्रीको भनाइ छ । जसले गर्दा हालको जस्तो उडान प्रभावित नहुने जनाइएको छ । हाल विमानस्थलमा आन्तरिक र वाह्य गरी दैनिक ४ सय उडान अवतरण हुने गरेको छ । नयाँ स्वरूपको धावनमार्ग संञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने प्राधिकरणको भनाइ छ । यसको लागि निरन्तर मर्मतसम्भारको आवश्यकता भने पर्ने छ । नयाँ धावनमार्ग निर्माणसँगै अहिलेकै हवाई चापको अवस्थामा २० वर्षसम्म निरन्तर धावनमार्ग २४ घण्टा सञ्चालन गर्न सकिने महाप्रबन्धक क्षेत्रीले बताए ।