कारोबार संवाददाता
सोमवार, असार १६, २०७६
260

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा रहेको प्रचुर पर्यटकीय सम्भावना बोकेको पेरी भारानी ताल संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्र सतहदेखि २८ सय मिटर माथि घनाजंगलको बीचमा अवस्थित गोलाकार तालले त्यहाँ पुग्ने पर्यटकलाई मोहित पारे पनि भौैतिक पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
वरीपरि घनाजंगल, चिरबिर वन्यजन्तुको आवाज र वनस्पतीको रंगले बीच भागमा सजिएर गोलाकार तालको दृष्यले पर्यटकलाई आनन्दित दिने तालको विशेषता छ । धार्मिकस्थलको रुपमा चर्चित पेरी भारानी थान नजिकै रहेको ताललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि गाउँपालिकाले धार्मिक प्राकृतिक रुपमा पर्यटकीयस्थलको रुपमा विकासका लागि भौतिक संरचना निर्माणसँगै प्रचारप्रसारको योजना बनाउन जरुरी देखिन्छ ।

थान तथा तालमा धार्मिक रुपमा जनैपूर्णिमामा पूजा गरिन्छ । पर्यटनको रुपमा विकास गर्नका लागि वडाले ताल नजिक सडक सञ्जाल जोडेको छ । हिस्तान राम्चे, शिख र घार क्षेत्रको शिरमा अवस्थित थान तथा तालमा स्थानीबासीले जनैपूर्णिमामा पूजा गर्छन् ।
जिल्लाको प्रमुख पर्यटकीयस्थल पुनहिलमा आउने पर्यटकलाई लामो समय घोडेपानीमा बस्ने वातावरण सिर्जनाका लागि नजिकै रहेको पेरी भारानी ताल संरक्षणका लागि योजना निर्माण गरिएको घोडेपानी होटल व्यवसायी समितिका पूर्व अध्यक्ष ओम पुनले बताए । पेरी भारानी तालको संरक्षणसँगै प्रचारप्रसार गर्न सकेमा गाउँपालिकाभित्र आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तव्यको रुपमा त्यस ठाउँमा पु¥याउन सकेमा स्थानीयमा रोजगारी सिर्जना गर्न सकिने पुनले बताए ।
घराम्दीको शिरमा अवस्थीत पेरी भारानी थानको भौतिक संरचना निर्माण गरिएपनि तालको संरक्षणका लागि ध्यान नदिदाँ गहिराइ र चौडाइ पुरिँदै गएको छ । सो संरक्षणका लागि वडा र गाउँपालिकाले आगामी आर्थिक वर्षमा प्राकृतिक सम्पदा संरक्षणको योजनामा प्राथमिकता दिन आवश्यक रहेको स्थानीयबासी रामबहादुर पुर्जाले बताए । जनैपूर्णिमाको अवसरमा पूजा गर्नेहरुले मनको ईच्छा पूरा हुने भएको हुदाँ पुन समाजले पनि संरक्षणको लागि पहल भएको पुर्जाले बताए ।
म्याग्दीको सदरमुकाम बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेवगर हुँदै तालमा पुग्न सकिन्छ । सो तालमा प्रमुख पर्यटकीयस्थल घोडेपानीबाट २ घण्टामा पुग्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नका लागि होटल, तालमा व्यवस्थित भौतिक संरचना र प्रचारप्रसार गर्न आवश्यक देखिन्छ ।
लामो खडेरी परेपनि तालमा पानी सुक्दैन । पानीको गहिराई चौडाइ पुरानै स्थानमा ल्याउन मुहान संरक्षण, प्रचारप्रसारमा स्थानीय सरकार जागरुक हुन सके नयाँ गन्तव्यको रुपमा विकास भइ आगामी दिनमा पर्यटक आकर्षित हुने देखिन्छ ।

धिरन खत्री