सागर परियार
सोमवार, असार १६, २०७६
365

जुम्ला - सिञ्जा उपत्यकामा रहेको ऐतिहासिक पाण्डव गुफा संरक्षणको अभावमा जीर्ण बनेको छ । संरक्षण नहुँदा गुफा जीर्ण बनेको स्थानीय बताउँछन् ।
ऐतिहासिक महत्व बोकेको सिञ्जा क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य पाण्डव गुफाको संरक्षण हुन नसकेको स्थानीय नन्दबहादुर रोकायाले बताए । गुफाभित्र पाँच भाइ पाण्डवका मूर्ति छन् । रारा जाने बाटोमै पाण्डव गुफा पर्छ । दैनिक सयौं पर्यटकको घुइँचो लाग्छ । तर संरक्षणमा चुनौती देखिएकोमा रोकायाले चिन्ता व्यक्त गरे ।

कनका सुन्दरी, विराट दरबार, सिञ्जा उपत्यकासँगै पाण्डव गुफा एक महत्वपूर्ण ऐतिहासिक पर्यटकीय गन्तव्य हो । पाँच भाइ पाण्डवका किंवदन्ती हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु दैनिक आउँछन् । सबैले यसको सरंक्षण तथा प्रबद्र्धनमा जोड दिन सुझाव दिने गरेका छन् । “परम्परागत महत्व सम्झेर पर्यटक आउँछन्, अहिलेको दूरावस्था देख्दा निराश भएर फर्कन्छन्,” उनले भने । यसको संरक्षणका लागि स्थानीय तथा प्रदेश सरकारले पनि ध्यान नदिएको उनको गुनासो छ ।
नाग्म–गमगडी सडकदेखि गुफासम्म पुग्ने पदमार्ग पनि सहज छैन । यसअघि गाविस र पर्यटन बोर्डले संरक्षणका लागि रकम छुट्याएको थियो । तर, त्यो पर्याप्त नहुँदा काम हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् । अहिले गुफाभित्र बनेका संरचना पनि जीर्ण बन्दै गएका छन् । गुफाको अवशेष नै नासिने स्थानीय बासिन्दाको चिन्ता छ । गुफा हेर्न आउने पर्यटकलाई ढोका खोल्ने र बन्द गर्ने मान्छेसमेत हुँदैनन् । अव्यवस्थित गुफा संरक्षणको पर्खाइमा छ । हेर्न भनेर गएका पर्यटक कहिलेकाहीँ त गुफा बाहिरबाटै पर्यटक फर्किने गरेका छन् । गुफाभित्र प्रवेशका लागि आन्तरिक पर्यटकलाई ३० र बाह्य पर्यटकलाई एक सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ ।
कनकासुन्दरी गाउँपालिकाले पनि गुफाको संरक्षण तथा संवद्र्धनका लागि पहल नगरेको स्थानीय बासिन्दाको गुनासो छ । चालू आर्थिक वर्षमा पाण्डव गुफाको नाममा गाउँपालिकाले दुई लाख बजेट विनियोजन गरेको थियो । त्यो रकम स्थानीय जनप्रतिनिधिले सडकमा खर्च गरेको नन्दबहादुरले बताए । तीन दशकअघि स्थानीय धनमल रोकाया गुफा संरक्षणमा लागेका थिए । उनले गुफामा रुद्री लगाउने, पूजापाठ गर्ने, मर्मतसम्भार गर्नेलगायतका काम गरेका थिए ।
कर्णालीका सबै जिल्लाका पर्यटन सम्भावनाको दिगो विकास तथा पर्यटनबाट आर्थिक समृद्धिका लागि कर्णाली सरकारले पञ्चवर्षीय गुरुयोजना तयार गरिरहेको छ । सम्भावनाको प्रबद्र्धन र नयाँ गन्तव्यको खोजीमा लागि गुरुयोजना निर्माण टोलीले कर्णालीका १० वटै जिल्लामा स्थलगत अनुगमन पनि गरिरहेको छ । पर्यटन विशषज्ञ रामचन्द्र सेढार्इंको नेतृत्वमा ८ सदस्यीय टोलीले जुम्लामा चन्दननाथ मन्दिरसँगै सिञ्जा उपत्यका र पाण्डव गुफालाई गुरुयोजनामा विशेष प्राथमिकता दिइएको छ । पाण्डव गुफाको संरक्षण, संवद्र्धन तथा पदमार्ग निर्माण, प्रचारप्रसारका लागि झण्डै १ करोड बढीको बजेट तर्जुमा गरिएको छ । पर्यटन मन्त्रायका सचिव सेर रोकायाका अनुसार जुम्लाको विभिन्न पर्यटकीय सम्भावनामध्येको एक महत्वपूर्ण स्थल पाण्डवगुफा हो ।
पञ्चवर्षिय योजनामा पाण्डव गुफाको संरक्षणमा विशेष प्रथामिकता दिँदै योजना तर्जुमा गरिएको छ । चालू आवको अन्तिमसम्म गुरुयोजना निर्माण सकाएर आउने बजेटमा समावेश गरिने छ ।