कारोबार संवाददाता
सोमवार, असार १६, २०७६
400

 प्यूठान नगरपालिका–९ मरन्ठाना पाखाचितिमा रहेको बाइसधारा बुलबुले मूल प्रचारप्रसार र भौतिक पूर्वाधार विकास नहुँदा ओझेलमा परेको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यस क्षेत्र लगानी अभावले ओझेलमा परेको हो ।  प्यूठान नगरपालिका–९ मरन्ठाना पाखाचितिमा रहेको बाइसधारा बुलबुले मूल प्रचारप्रसार र भौतिक पूर्वाधार विकास नहुँदा ओझेलमा परेको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यस क्षेत्र लगानी अभावले ओझेलमा परेको हो । भौतिक पूर्वाधारको विकास र प्रचारप्रसारमा स्थानीय सरकारले प्राथमिकता नदिदा यहाँको विकास र प्रवद्र्धन हुन नसकेको स्थानीयको गुनासो छ । “बाइसधारा मूल प्राकृतिक रुपमा नै छुट्टै भिन्नता रहेको केन्द्र हो,” स्थानीय विन्दु विष्टले भनिन्, “बाइसधारा सँगै यहाँको प्राकृतिक सौन्दर्यले समेत पर्यटक आकर्षण गर्ने थुप्रै आधारहरू छन् ।” पछिल्ला केहि वर्षयता बाइसधारा हेर्न आउने संख्यामा वृद्धि हुँदै आएपनि पर्यटकीय स्थलको रुपमा विकास हुन नसकेको उनको भनाइ छ । प्राकृतिक सौन्दर्यको बीचमा बाह्रै महिना पानी बग्नु यहाँको प्रमुख विशेषता हो । स्थानीयको सक्रियतामा मूल नजिकै २२ वटा ढुंगाका धाराहरू निर्माण गरिएको छ । स्थानीयको सहयोगमा ढुंगेधाराहरू निर्माण गरिएको हो । एकै लाईनमा लामवद्ध रुपमा निर्माण गरिएका २२ धाराहारुबाट एकनासले पानी बग्ने गर्छ । गर्मीयाममा शितलताका लागि समेत यहाँ भ्रमणका लागि आउने गर्छन् । माघे संक्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्छ । माघे संक्रान्तिको दिन स्नान गरी शुद्ध हुने प्रचलन अनुसार यस स्थानमा पनि स्नान गर्न आउने पर्यटकहरूको घुइँचो लाग्ने स्थानीय वृद्ध कृष्णबहादुर भण्डारी बताउँछन् । नगरपालिका र सांसद विकास कोषको रकमले मूलवरपर तारजाली लगाएर संरक्षण गरे पनि यसको विकासका लागि अन्य कदमहरू नचालिएको स्थानीयको गुनासो छ । 

होमस्टे संचालनमा स्थानीयको प्रयास
बाइसधारा मूललाई केन्द्रित गर्दै यहाँका स्थानीयले होमस्टे संचालनमा ल्याएका छन् । स्थानीय बागेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्थाको अगुवाईमा होमस्टेको परिकल्पना अगाडि बढाइएको हो । “३० घरमा सामूहिक होमस्टे संचालन गरेका छौं । पर्यटकीय विकाससँगै स्थानीयको आम्दानीमा समेत परिवर्तन गर्न यसले मद्दत गर्नेछ,” गिरिले भनिन् । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत स्थानीयलाई तालिम दिएर होमस्टे संचालन गरेको उनले बताइन् । पिकनिक स्पटसँगै सभा समारोह स्थलमा समेत लगानी गरेको उनको भनाइ छ । 

कृषि व्यावसायिकतालाई जोडेर पर्यटन आकर्षण
मरन्ठाना कृषि उत्पादनको हिसाबले जिल्लाकै अब्बल क्षेत्र मानिन्छ । बारैमास सिँचाईको समेत राम्रो व्यवस्थाका कारण यहाँ नमुना व्यावसायिक कृषि खेती गर्न सक्ने आधार प्रशस्त छन् । बाईस धारासँगै जोडिएको उक्त उर्वर भूमिमा कृषि तथा पर्यापर्यटनको विकासको सम्भावना उत्तिकै प्रवल छ । बाईस धारा मूलको आधार क्षेत्र खरिवोट देखि बुढादेवी सम्म व्यावसायिक मौसमी तथा बेमौसमी खेती र पशुपालनमा समेत यस क्षेत्र उत्तिकै सम्भावित क्षेत्र छ । यस्तै बाइसधारा मूल शिरानमा पर्ने ¥या¥याङ्गमा सुन्तला जातका फलफूल र स्याउ खेती गरिँदै आएको छ । यसको व्यवस्थापनलाई जोड दिन सके उत्पादकत्वसँगै पर्यटन आकर्षणको केन्द्र विन्दु बनाउन सकिने आधार प्रशस्त छन् । जसका लागि रणनीतिक योजनासहित लगानीको समेत आवश्यकता देखिन्छ । 

पिकनिक स्पट र पार्क निर्माणको आवश्यकता  
बाईस धाराको जति गरिमा छ तर भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । सामान्यतयाः पर्यटक आउँदा विश्राम लिनका लागि समेत यहाँ कुनै प्रबन्ध नभएको देखिन्छ । पर्यटकलाई रमणीय स्थलको भ्रमण सँगै विभिन्न पार्कहरूको तत्काल व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यस्तै निर्माण गरिएको पिकनिक स्पटलाई समेत विकास गर्न सके यहाँको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।

जंगल सफारी  
बाईसधारा मूलको शिरानमा सातताले जंगल अवस्थीत छ । साना वुट्यानसहित जंगलको बीचबीचमा ठूलाठूला चौरहरू यहाँ अवस्थीत छन् । विभिन्न स्टेपहरूमा जंगल र सातवटा भिन्न÷भिन्न स्थानमा चौरहरू फैलिएका छन् । ठूलो क्षेत्रफलमा सातवटा चौर र बुट्यानहरूले जेलिएको जंगलका कारण यस ठाउँलाई सातताले जंगल भनिएको यहाँका स्थानीय बताउँछन् । उँचोभागमा भएका भएका कारण प्राचिन कालमा शितलता र सुरक्षाका लागि राजाहरू यस जंगलको आसपासमा आएर बस्ने ईतिहास रहेको स्थानीय निमबहादुर घर्ति बताउँछन् । जंगल परिक्रम गर्न झण्डै ४÷५ घण्टाको समय लाग्ने गर्छ । वुट्यानहरूले जंगल छिचोल्न निकै कष्टकर हुन्छ । निश्चित पदमार्ग निर्माण गर्दै जंगल सफारीका लागि समेत निकै आनन्दित देखिन्छ यो क्षेत्र । यसरी बाईसधारालाई प्रमुख आधार बनाएर यहाँको कृषि र पर्यापर्यटनको सम्भावना पनि उत्तिकै छ । जसका लागि पर्यटन प्याकेज कार्यक्रम अगाडि बढाउँदै स्थानीयको जीवनस्तर उकास्न समेत यसले मद्दत गर्ने देखिन्छ ।