कारोबार संवाददाता
सोमवार, असार १६, २०७६
280

जुम्लाका विभिन्न स्थानमा होमस्टे सुरु गरिए पनि पर्याप्त मात्रामा पर्यटक आउन सकेका छैनन् । यसै क्रममा बड्की होमस्टे सञ्चालनका लागि अन्तरक्रिया गरिएको छ । प्रभावकारी रुपमा होमस्टे सञ्चालन गर्न सञ्चालकहरुले पूरा गर्ने जिम्मेवारीका बारेमा छलफल गर्न अन्तरक्रिया गरिएको हो ।
होटल केन्द्रित पर्यटकलाई होमस्टेमा केन्द्रित गर्न निकै मेहनत गर्नुपर्नेमा जोड दिइएको छ । जुम्लाका पाँचवटै होमस्टे सञ्चाकहरुलाई आफ्नै ठाउँमा उत्पादित वस्तुको परिकार बनाई अर्गानिकमय होमस्टे बनाउनतर्फ अघि बढ्न सुझाव दिइएको छ ।

जुम्लाका बड्क, कनकासुन्दरी, तातोपानीमा पर्यटक बढाउन अर्गानिक परिकारमा जोड दिइने भएको छ । पाँचवटै होमस्टेमा अर्गानिक कोसेली घर समेत निर्माण भइसकेको छ । “खाने बस्ने मात्र अर्गानिक नभई जाँदा कोसेली (नासो) पनि अर्गानिक दिनेछौं,” तातोपानी होमस्टेका अध्यक्ष नवराज बुढाले भने, “अर्गानिकमय होमस्टेबाटै जुम्लाको पहिचान कायम हुन्छ ।”
बड्कीमा अर्गानिक कोसेली घर बन्दै छ । पाँचवटै होमस्टेमा पर्यटकको चाहनाअनुसार कोदो, फापर, चिनो, मकै, मार्सी धान, गहुँ, जौ, कागुनो गहत, सिमि लगायतका रैथाने बालीको परिकार खुवाइने छ भने राडीपाखी ओछ्याएर सुताउने, व्यवस्थापनमा जुटेका छन् होमस्टे सञ्चालक । सबै ठाउँमा महिलाहरुको सक्रियतामा होमस्टे सञ्चालन प्रभावकारी हुने समेत विश्वास छ ।
खानपान, स्वास्थ्य, सरसफाई, भौतिक संरचना निर्माण, सञ्चार, स्वागत र सांस्कृतिक टोली बनाएर सबै होमस्टे सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । रारा जाने र जुम्लामा आउने सबै पर्यटकलाई होमस्टेमा तान्न विभिन्न गतिविधि भइरहेको छ ।
महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले होमस्टेलाई व्यवस्थित बनाउन प्रचारमा जोड दिनुपर्नेमा जोड दिइन् । सूचना पहुँचको अभावले गर्दा गतिविधि बाहिर नआउने उनको भनाइ छ । पर्यटकको आकर्षणका लागि अर्गानिक खानपानमा विशेष जोड दिनुपर्ने सुझाव दिइन् ।
होमस्टे सञ्चालनले पर्यटकको व्यवस्थापन त गर्छ नै, बेरोजगारलाई स्वरोजगार बनाउने उनको भनाइ छ । स्थानीय बलिराज शाहीले आयातित वस्तुका आधारमा होमस्टे चलाउन खोज्नु उपयुक्त नहुने बताए ।