सागर परियार
सोमवार, असार ९, २०७६
255

सिञ्जा सभ्यताको संरक्षणका लागि खस संग्रहालय बन्ने भएको छ । नेपाली खस भाषाको उद्गमस्थल सिञ्जा तथा शाक्तिशाली सिञ्जा राज्यको ऐतिहासिक महत्व झल्काउने उद्देश्यले संग्रहालय बन्न लागेको हो ।
संग्रहालयको शिलान्यास सिञ्जा गाउँपालिका अध्यक्षले गरेका छन् । सिञ्जा गाउँपालिका–१ विष्टबाडा गाउँमा संग्रहालय निर्माण हुने छ । झण्डै ४ हजार वर्गमिटर जग्गाामा पुरानै कलासंस्कृति झल्किने शैलीको बनावट भएको र सिञ्जा सभ्यतासहितको खस संग्रहालय निर्माण गरिने निर्माण समितिका अध्यक्ष देवीकृष्ण तिवारीले बताए । संग्रहालय बन्न्ने भयो भनेर सिञ्जाबासी खुसी छन् ।
राजा जालन्धरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर सि र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिञ्जा नाम रहन गएको जनश्रुति भेटिन्छ  । जालन्धरकी रानी वृन्दाले बास गरेको भनी सिञ्जामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ  । खस राजा नागराजले र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।
संग्रहालय निर्माणका लागि स्थानीय गोविन्द तिवारी, तोयानाथ तिवारी, प्रेमनाथ तिवारी र मोतिपुरा तिवारीले निःशुल्क जगाा दान गरेका छन् । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले पुरातत्व विभागमा दर्ता भएका सबै ऐतिहासिक संरचना प्रवद्र्धनका लागि संग्रहालय आवश्यक रहेको बताए । उनले भने, “घर बनाउँदैमा संग्रहालय हुँदैन । सभ्यतासहितको संग्रहालय पूर्ण हुनका लागि खोज अनुसन्धानमा समेत विशेष जोड दिनुपर्छ ।”
संग्रहालय निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख रुपैयाँ दिएको छ । कर्णाली सरकारले विशेष महत्व दिएर संग्रहालय निर्माणका लागि बजेट छुट्याएको हो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले उपभोक्ता समितिले राम्रो काम गर्न नसकेको आरोप हुने गरेको बताइन् । संग्रहालय निर्माणमा निःस्वार्थ काम गरी उपभोक्ता समितिप्रतिको भ्रम चिर्न समेत उनले सुझाव दिइन् ।
संग्रहालय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने समेत उनको भनाइ छ । संग्रहालय निर्माण ३ वर्षभित्र गरिसक्ने योजना छ । डीपीआरको डिजाइनअनुसार निर्माण हुने स्थानीय डिल्लीप्रसाद तिवारीले बताए ।

संग्रहालयका आकर्षण
शक्तिशाली राज्यको राजधानी रहेको सिञ्जा आफैंमा महत्वपूर्ण स्थान हो । कर्णाली प्रदेशका ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की, सन्यासी आदिले मष्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक हुन्न् ।
पूर्वदेखि पश्चिम महाकालीसम्म फैलिएको सिञ्जा साम्राज्यको भाषा संस्कृतिका आफ्नै विशेषता थिए । लगाउने चोला, गामन, हातका बाला, लगाइने पहिरनसमेत संग्रहालयमा राखिनेछ ।

सिञ्जाको इतिहास
बली राजाका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ । जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.सं. १८१६ मा राज्याभिषेक गरेका थिए । नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व रहेको थियो ।
चौथो शताब्दीमा सुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो । खस राजा नागराजले र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करिब ३०० वर्षसम्म शासन गरेको इतिहास छ । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।
खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन, एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ । यिनै खस राजाहरूले पूर्वमा नेपाल उपत्यकामा २ पटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कमाउ गरुवालसम्मका तमामा राज्यहरूलाई आफ्नो साम्राज्यभित्र पारिसकेको पाइन्छ ।