कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
394

देशको अर्थतन्त्रमा योगदान दिने वीरगन्जका निजी क्षेत्रले सामाजिक, धार्मिक क्षेत्रमा पनि आफ्नो गतिविधिलाई पनि बढाउँदै गएका छन् । जुनसुकै क्षेत्रबाट भए पनि वीरगन्जको पहिचानलाई स्थापित गराउन लागि परेका वीरगन्जका उद्योगी व्यवसायीहरूले वीरगन्जलाई धार्मिक पर्यटनको माध्यमबाट पनि विकास गर्नका लागि पहल सुरु गरेको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैदको पहलमा वीरगन्जमा पहिलो पटक सूर्यगंगा आरती गरिने भएको छ । वीरगन्जको धार्मिक पर्यटनको आकर्षण रहेको घडीअर्वा पोखरीमा असार १ गते सूर्यगंगा आरतीको उद्घाटन गरियो । आर्थिक राजधानी वीरगन्जलाई धार्मिक पर्यटनबाट पनि जोड्न सकिने प्रशस्तै सम्भावनाहरू रहेकोले यसको सुरुवात घडीअर्वा पोखरीमा सूर्यगंगा आरतीबाट गरिएको गंगा आरती समितिका अध्यक्ष समेत रहेका वैदले बताए ।

नेपालको पशुपति नाथ, धनुषाको जनकपुरस्थित गंगा सागर तथा मुक्तिनाथमा पनि गंगा आरती हुने गरेको बताउँदै त्यसबाट प्रभावित भएर वीरगन्जमा पनि गंगा आरतीले थुप्रै धार्मिक पर्यटकहरू भिœयाउन सकिने संभावना रहेकोले सूर्यगंगा आरती गरिएको समितिका सचिव एवं वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।
वीरगन्जले बोकेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक तथा राजनीति पृष्ठभूमिको बहुआयामिक महत्व बोकेको वीरगन्जको मुख्य आकर्षण केन्द्र घडीअर्वा पोखरीमा असार १ गते प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विधिवत उद्घाटन गरे । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको र प्रदेश नम्बर २ सरकारले प्रदेशको विकास निर्माण र समृद्धिका लागि चारवटा क्षेत्रमध्ये एउटा धार्मिक पर्यटन प्रवद्र्धन पनि रहेकोले यसको लागि राष्ट्रिय एवं प्रादेशिक संकल्पलाई पनि सूर्यगंगा आरतीले सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । यसले पर्साको ऐतिहासिक र धार्मिक क्षेत्र पारसनाथलाई पनि जोडेर धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइने वैदको भनाइ छ । हरेक हप्ता गरिने सूर्यगंगा आरतीका लागि सुरुमा करिब ४ देखि ५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।