मनोरञ्जन शर्मा
मंगलबार, असार ३, २०७६
288

प्रदेश ५ को सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेशको पर्यटन विकासका लागि पौने १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री शंकर पोखरेलले आव २०७५/७६ मा भन्दा अहिले पर्यटन क्षेत्रलाई बढी महत्व दिएका छन् । महत्व दिएसँगै बजेटमा समेत दोब्बरभन्दा बढी रकम विनियोजन भएको छ ।
प्रदेशको पर्यटन प्रवद्र्धन एवं विकास र सम्बद्र्धनका लागि प्रदेशका संभावित गन्तव्यहरूको पहिचान र विकास, सडक तथा हवाई पूर्वाधारको सुनिश्चितता, होटल तथा व्यापार व्यवसाय, सूचना प्रविधि, स्थाीनय उत्पादन, स्थानीय कला संस्कृति आदिलाई एक अर्कामा अन्तर सम्बन्धित र सहयोगी हुने गरी पर्यटन क्षेत्रको विकासका लागि योजना बनाइएको मुख्यमन्त्रीले बताएका छन् ।

प्रदेशको महत्वपूर्ण पर्यटकीय क्षेत्र लुम्बिनीलगायतका बुद्धकालीन सम्पदास्थलहरू रामग्राम तिलौराकोट, गोटीहवा, देबदह, निग्लिहवा, सग्रहवाको विकास, पर्यापर्यटनका दृष्टिकोणले बाँके बर्दिया राष्ट्रिय निकुन्ज र ढोरपाटन निकुन्जको पूर्वी रुकुम खण्ड तथा प्रदेशका विभिन्न भागमा सिमसार क्षेत्रहरूको विकासको संभावना र विभिन्न जिल्लाका धार्मिक स्थलहरूको विकासले प्रदेशको अर्थतन्त्रलाई उचाइ प्रदान गर्ने सामथ्र्य राख्ने भएकाले नेचर कल्चर, वाइल्डलाइफ टुरिजमको विकास गर्ने सोचसहित पर्यटन क्षेत्रलाई पनि महत्व दिइएको जनाइएको छ । पर्यटक आकर्षणका लागि लुम्बिनी र नेपालगन्जलाई टुरिजम हबका रूपमा विकास गरिने बताइएको छ । विमानस्थल हुँदै आउने पर्यटकहरूलाई आवश्यक सम्पूर्ण जानकारी उपलब्ध गराउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र नेपालगन्जमा बृहत् पर्यटक सूचना केन्द्र स्थापनाका लागि बजेट विनियोजन भएको छ ।
लुम्बिनीलगायत प्रमुख पर्यटक स्थलमा परम्परागत एवं स्थानीय उत्पादनको बिक्रीका लागि कोसेली घर स्थापना गर्ने जनाइएको छ । त्यसैगरी लुम्बिनी घुम्न आएका पर्यटकहरूको बसाई अवधि लम्ब्याउन इन्नोभेटिभ प्याकेजहरू तयार गर्न, पर्यटकहरूलाई खाने बस्ने सुबिधा, घुम्ने र सुरक्षासम्बन्धी व्यवस्था गर्न निजी क्षेत्रसँग सहकार्य गरी अघि बढने जनाइएको छ ।
इन्नोभेटिम प्याकेजहरू तयार गरी यस प्रदेशमा पर्यटकहरूको बसाइ दिन लम्ब्याएको प्रमाण पेस गर्ने पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्ने, स्थानीय समुदायको संलग्नतामा ग्रामिण पर्यापर्यटन र होमस्टेको प्रबद्र्धनका लागि समेत बजेट विनियोजना भएको छ । वनस्पति संरक्षण गर्दै सहरी हरियाली तथा पर्यटन प्रबद्र्धन गर्दै बिभिन्न उपर्युक्त स्थानमा बनस्पति उद्यान तथा पर्यटकीय पार्कहरू निर्माणका लागि १५ करोड विनियोजन भएको छ ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा जैविक विविधता स्थल, मनोरम प्राकृतिक स्थलहरू, झरना, गढी, जस्ता महत्वपूर्ण क्षेत्रहरूको प्रबद्र्धनका लागि ३५ करोड रुपैयाँ विनियोजन भएको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम २०७७ वैशाख पूर्णिमासम्म सञ्चालन हुने भन्दै लुम्बिनी भ्रमण वर्षमा २५६ एकड जमिनमा सारस उद्यान निर्माण गर्ने, बुद्धिस्ट बनस्पति उद्यान बनाउँदै बुद्धकालीन बोट बिरुवाको संरक्षण एबं प्रबद्र्धन गर्न लुम्बिनी विकास कोषसँग सहकार्य गर्न उल्लेख छ । त्यसैगरी भ्रमण वर्ष २०२० मा प्रदेशका पर्यटकीय गन्तव्य प्रबद्र्धन गर्न जिल्लास्तरीय समिति गठन गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय बुद्धिष्ट कला साहित्य सम्मेलन गर्न रकम विनियोजन भएको छ ।
त्यसैगरी पर्यटनको विकासमा स्थानीय भाषा, कला साहित्य र सस्कृतिको प्रबद्र्धन गर्ने, पाल्पाको श्रीनगर र नुवाकोट, बर्दियाको ठाकुरद्वारा र दांगको घारदौरामा निर्माणको प्रक्रियामा रहेका सांस्कृतिक डबलीका लागि ६ करोड बजेटमा छुट्याइएको छ ।
त्यसैगरी प्रदेश ५ को पर्यटन ब्रान्ड तयार गर्ने, पर्यटन महोत्सव गर्ने र ट्राभल मार्टको समेत आयोजना गरिने गरी बजेट विनियोजन भएको छ । समग्रमा प्रदेश ५ को बजेटमा पर्यटन क्षेत्रलाई विगतमा भन्दा बढी महत्व दिइएको पर्यटन व्यवसायीहरूले बताएका छन् । सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आफूहरूको माग भएको यस क्षेत्रको पर्यटन विकासका लागि लुम्बिनी टुरिजम बोर्डको गठनका बारेमा केही नबोलिएको भन्दै निराशा प्रकट गरेका छन् ।
बजेट भाषणमा आए जस्तै कार्यान्वयन पक्ष राम्रो भएमा पर्यटन क्षेत्र अघि बढ्ने उनको भनाइ छ ।