मेगराज खड्का
मंगलबार, असार ३, २०७६
331

रुकुम पश्चिममा रहेका दुवै विमानस्थलहरू तीन सातादेखि बन्द भएका छन् । रुकुम पश्चिमको सदरमुकामसमेत रहेको मुसिकोट सल्ले र चौरजहारी विमानस्थल गरी जिल्लामा दुई विमानस्थल छन् । पाइलटहरूको बिदा तथा तालिमको कारण देखाउँदै हवाई सेवा बन्द भएपछि यस क्षेत्रका यात्रुहरू मारमा परेका छन् ।
जिल्लाका यी दुवै विमानस्थलमा नेपाल वायु सेवा निगमको बाहेक अन्य निजी क्षेत्रका जहाजहरूको उडान सेवा छैन । जतिसक्दो जहाजको उडान सुचारु गर्न आफ्नो क्षेत्रबाट पहल भइरहेको चौरजहारी विमानस्थलका स्टेसन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए । बिरामी तथा ज्येष्ठ नागरिक यात्रुहरूलाई सहज सेवा दिन तत्काल सुचारु गर्नुपर्ने उनको भनाइ छ । तर, केन्द्रीय कार्यालयबाट तालिमका कारण पाइटहरूको अभाव भएको भन्दै केही सातालाई हवाई सेवा बन्द हुने आन्तरिक सूचना दिएको छ । लामो समयदेखि रुकुममा हवाई सेवा बन्द हुँदा रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट र सल्यान जिल्लाका स्थानीयहरू प्रभावित बनेका छन् ।
जसमा सबैभन्दा जटिल प्रकृतिका बिरामी, गर्भवती महिला, बालबालिका तथा वृद्धवृद्धाहरू बढी मारमा परेका छन् । नेपालकै दश नमुना सहरका रूपमा विकसित बन्दै गरेको चौरजहारीमा लामो समयदेखि हवाई सेवा बन्द भएर केही महिना अघिदेखि मात्र सञ्चालन आएको थियो । दुर्गम जिल्लाहरूमा हवाई यात्रा जनताका लागि अति आवश्यक भए पनि बेलाबेला अवरुद्ध हुँदै आएका छन् ।