कारोबार संवाददाता
आइतवार, असार १, २०७६
362

जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा फोटो प्रतियोगिता हुने भएको छ । शिखर डिजिटल रेकर्डिङ स्टुडियो इलाम र भिभा डान्स स्टुडियोको आयोजना तथा मिसन इलामको संयोजनमा प्रतियोगिता हुने भएको हो ।
व्यक्तिले प्रतियोगितामा भाग लिन पाउनेछ । तर, इलाम जिल्लाको कुन स्थान हो स्पस्ट खुल्ने खालको फोटोलाई प्रतियोगितामा समावेश गरिने आयोजक शिखर डिजिटल रेकर्डिङ स्टुडियोका सन्दिप प्रधानले जानकारी दिए । पर्यटकीय स्थलहरूमा खिचिएका मौलिक भेषभूषासहितका मानिसका व्यक्तिगत फोटो प्रतियोगितामा समावेश गराउँदा पर्यटकीय स्थलहरूको पनि उत्तिकै प्रचार हुने आयोजकको दाबी छ ।

मोडलिङ गर्न रुचाउने, फोटो र भिडियोको एंगल बुझ्नेहरूले यससम्बन्धी चासो राखेपछि प्रतियोगिता सञ्चालन गरिन लागिएको संयोजक तथा मिसन इलामका दीपकराज शर्माको भनाइ छ ।
प्रतियोगितामा पहिलो पुरस्कार स्वरूप शिखर डिजिटल रेकर्डिङ स्टुडियोको तर्फबाट एक जनालाई म्युजिक भिडियो खेल्ने अवसर दिइने छ । साथै इलामको ब्याग राउन्ड राखी विभिन्न पहिरनमा फोटो सुट, एउटा फोटो वाल साईज क्यानभास प्रिन्ट, एक थान भिभो वाइ नाइन वान सी मोबाइल सेट तथा गिफ्ट ह्यामपर प्रदान गरिनेछ ।
त्यस्तै दोस्रो पुरस्कार पनि एक जनालाई पार्सियल लगानीमा म्युजिक भिडियो खेल्ने अवसर, विभिन्न पहिरनमा फोटो सुट तथा आर्कषक गिफ्ट ह्यामपर प्रदान गरिने जनाइएको छ ।
तेश्रो पुरस्कार म्युजिक भिडियोको मोडल पुलमा राखिने, विभिन्न पहिरनमा फोटो सुट तथा गिफ्ट ह्यामपर प्रदान गरिनेछ । सान्तवना पुरस्कार स्वरुप ५ जनाको विभिन्न पहिरनमा फोटो सुट गरिनेछ ।
प्रतियोगिले कुनैपनि क्यामेरा वा मोबाईल, पोइन्ट एन्ड सुट, पावरसट, डिएसएलआर) क्यामेराले आफ्नो ४ फरक प्रकार तस्बिर खिचाई आयोजक पठाउनुपर्ने बताइएको छ ।
फोटो सुट गरिएको तस्बिर र प्रतिस्पर्धीले पठाएको तस्बिर प्रतियोगिताका लागि मिसन इलामको फेसबुक पेजमार्फत सार्वजनिक गरिने समेत आयोजकले जानकारी दिएको छ ।
पोष्ट भएको तस्बिर सेयर, लाइक र कमेन्डलाई ५० अंक प्रदान गरिने र ५० प्रतिशत निर्यायकबाट निर्णय लिइनेसमेत बताइएको छ । यस्तो खालको कार्यक्रम जिल्लामा नै पहिलो पटक हुन लागेको पनि आयोजकको भनाइ छ ।