कारोबार संवाददाता
आइतवार, असार १, २०७६
294

गण्डकी प्रदेशमा रहेका घरवास कार्यक्रम (होमस्टे) सञ्चालकहरूले आफ्नो गाउँ ठाउँको पर्यटन प्रबद्र्धन गर्न प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा लगानी गर्न माग गरेका छन् । नेपाल पर्यटन बोर्डकोको आयोजना, ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको समन्वयमा पोखराको माउन्ट कैशास रिसोर्टमा दुई दिनेसम्म चलेको ग्रामीण पर्यटन मार्टमा सहभागी प्रदेशका होमस्टे सञ्चालकहरूले आफ्नो क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पर्यटन पूर्वाधार निर्माणमा लगानी गर्न माग गरेका हुन् ।
गाउँ पर्यटनबाट पर्यटन प्रबद्र्धन गरी आफ्नो आयआर्जनमा थप विकास गराउने उद्देश्यले आफ्नो ठाउँमा आवश्यकताको आधारमा पर्यटन क्षेत्रमा लगानी गर्न होमस्टे सञ्चालकहरूले माग गरेका हुन् । होमस्टे सञ्चालकहरूले माग गरेअनुसारको विकास निर्माणमा सहयोग पुरयाउन आफूहरूले पनि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा उक्त विषय पहल गर्ने भएको भिटोफ गण्डकीका अध्यक्ष रवीन्द्रराज पौडेलले बताए ।

उनका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाका हिमाल देखि तराइसम्मका होमस्टेहरूको उक्त कार्यक्रममा सहभागिता थियो । प्रदेशमा हालसम्म २ सय ७३ वटा होमस्टेहरू सूचीकृत भए पनि उक्त मार्टमा करिब ३५ वटा होमस्टे पनि सहभागि भएका थिएनन् । सहभागी केही होमस्टेले आफ्नो गाउँ ठाउँको परिवेश सहितको कला संस्कृतिक झल्कने विषय वस्तु प्रदर्शन गरेका थिए भने अधिकांश होमस्टेले आफ्नो गाउँको बारेमा समेटिएको ब्रोसर वितरण गरेका थिए । स्याङजाको शिरुवारीदेखि सार्क मै उत्कृष्ट घोषित लमजुङको घले गाउँ होमस्टेको समेत सहभागिता थियो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्दै ग्रामीण पर्यटनका लागि होमस्टे आवश्यक भएको बताए । उनले राम्रो गर्ने र बृहत् पर्यटनको विकासमा लाग्ने होमस्टेलाई थप रकम विनियोजन गनिरे भएको जनाए । उनले भने, “गाउँमा होमस्टेको विकास गर्दै रोजगारीको सिर्जना गर्नुपर्छ, यसले दिगो पर्यापर्यटनमा थप टेवा पुग्छ ।” प्रदेश सांसद राजीव पहारीले होमस्टेमार्फत गाउँको विकास गर्नुपर्ने बताए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले पर्यटकलाई आकर्षण गर्न ग्रामीण भेगमा पाइने विभिन्न कला, कला संस्कृति र प्राकृतिक स्रोतलाई जोगाइ राख्नु पर्नेमा जोड दिए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) का केन्द्रीय अध्यक्ष ध्रुव सिम्खडाले नेपालमा होमस्टेको धेरै सम्भावना रहेको जनाए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले होमस्टेका माध्यमबाट पर्यटकको बसाइ लम्ब्याउन सकिने बताए । भिटोफ गण्डकीका अध्यक्ष रविन्द्रराज पौडेलले गण्डकी प्रदेशमा होमस्टे प्रतिको आकर्षण बढ्दै गएको दाबी गरे ।
यसैबीच, ग्रामीण पर्यटन मार्टका अवसरमा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका समाचारदाता बासुदेव पौडेल र कान्तिपुर टेलिभिजनका संवाददाता भुपाल गुरुङलाई सम्मान गरिएको छ । गाउँ पर्यटकको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै भिटोफ गण्डकी प्रदेशले क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार २०७६ वाट सम्मान गरेको हो । जनही ११ हजार १ सय ११ रुपैयाँ नगदसहित कदरपत्र र दोसल्लाबाट उनीहरूलाई सम्मान गरिएको हो । त्यस्तै, ताङतिङ सामुदायिक होमस्टेकी अध्यक्ष पसमाया गुरुङ र पिप्लेक देउराली होमस्टेका अध्यक्ष महेश गुरुङलाई पनि लिडरसिप अवार्डबाट सम्मान गरिएको छ ।