दीननाथ बराल
आइतवार, असार १, २०७६
354

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता र ९ औं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा खेलकुदको भौतिक पूर्वाधार निर्माणका लागि २० करोडभन्दा बढी रकम विनियोजन भएको छ ।
संघ सरकारले हालै ल्याएको बजेट तथा कार्यक्रममा पोखरा क्षेत्रको खेलकुदको भौतिक पूर्वाधार निर्माणका लागि करिब २० करोड ५० लाख रुपैयाँ विनियोजन भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । उनले भने, “हामीले आर्थिक वर्ष २०७६÷७७ मा सागका केही खेल र नवौं राष्ट्रिय खेलकुद पोखरामा गर्नका लागि पनि यहाँ धेरै खेलकुदका पूर्वाधार निर्माणका लागि ठूलो बजेटको आवश्यक पर्छ , केन्द्र सरकारले पहिलो चरणमा छुट्टाएको बजेटले केही खेल पूर्वाधार निर्माणका लागि सहयोग पुग्छ ।”

पोखराको बहुउद्देश्यीय कवर्डहलको इन्टरनल फिनिसिङ, कुर्सी, साउन्ड सिस्टम, ल्यान्डस्केप निर्माण गर्न ५ करोड विनियोजन भएको छ । त्यसैगरी पोखरा रंगशाला निर्माणमा ५ करोड, ह्याण्डबल एकेडेमी निर्माणमा ५० लाख, पोखरा क्रिकेट स्टेडियम निर्माणमा ३ करोड, पोखरा ब्याडमिन्टन कभर्डहल निर्माणमा ५० लाख, पोखरा लामाचौरको गोस्तेघाटा हालै निर्माण भएको फुटबल प्रशिक्षण मैदानमा भीआईपी प्यारापिट र चेन्जिङ रुम निर्माणको लागि १ करोड बजेट विनियोजन भएको अध्यक्ष श्रेष्ठले जनाए ।
त्यस्तै साग प्रशिक्षण केन्द्रका रूपमा विकसित गर्न लनटेनिस कोर्ट निर्माणमा १ करोड, साग प्रशिक्षण केन्द्रको रुपमा विकसित गर्न पोखरा २५ हेमजाको गौरीशंकर खेल मैदान निर्माणको लागि १ करोड, पोखरा २३ बाम्दीमा भलिबल खेल मैदान निर्माणको ५० लाख रुपैयाँ विनियोजन भएको छ भने पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि पूर्वाधार निर्मााणमा ३ करोड विनियोजन भएको छ । पोखरा रंगशालामा सुटिङ हल निर्माण गर्नका लागि ५० लाख र पोखरा रंगशालामा पौडी पोखरी निर्माणका लागि २ करोड ५० लाख विनियोजन भएको हो ।
पोखरामा चालू आर्थिक वर्ष २०७५÷७६ मा टेन्डर भई १ अर्ब २८ करोड २२ लाखको लागतमा पोखरामा अत्याधुनिक प्रविधिको फुटबल रंगशाला निर्माण कार्य हाल जारी रहेको छ । १८ हजार ५ सयको दर्शक क्षमताको प्यारापिट सहितको फुटबल रंगशाला निर्माण धिमेगतिमा भएको छ । चालू आवको असार मसान्तरभित्र उक्त परियोजना नसकिने लगभग पक्का भएको देखिन्छ । हालै निर्माण भएको पोखराको बहुउद्देश्यीय कवर्डहल करिब १४ करोडको लागतमा निर्माण भएको हो । जसको दर्शक क्षेमता दुई हजारभन्दा माथि छ । यो कवर्डहल देशकै सबैभन्दा ठूलो कवर्डहल हो । पोखरा रंगशालामा विभिन्न निजी तथा सरकारी तवरबाट समग्रतामा खेलकुदको पूर्वाधारहरूको करिब १ अर्ब ८० करोडभन्दा बढी लगानी हुने भएको छ ।