कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
195

रुकुमपूर्व भूमे गाउँपालिकामा गुरिल्ला ट्रेल दौड हुने भएको छ । रुकुमपूर्व र रोल्पा जिल्लालाई समेटेर सशस्त्र द्वन्द्वको बेला गुरिल्ला हिँडेको बाटोमा खेलाडीलाई दौडाउन लागिएको हो । भूमे गाउँपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको गुरिल्ला टे«ल दौड पर्यटन प्रवद्र्धन, प्रचारप्रसार र विस्तार गर्ने भन्दै गुरिल्ला ट्रेल दौड आयोजना गरेको हो ।
१२ वर्षे सशस्त्र युद्धका क्रममा लडाकुहरू हिँडेको बाटैबाटो दौडाइने र युद्ध पर्यटनको विकासमा टेवा पुरयाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । स्थानीय संस्कृति, जनजीवन, भूगोल तथा ऐतिहासिक क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्य राखिएको पनि उनले बताए । ५२ किलोमिटर लामो दौड प्रतियोगीता असार २ गते हुनेछ । भूमे गाउँपालिका–६ को मातहत सुरु हुने दौड रोल्पाको थवाङबाट जलजला पुगेर फेरि थवाङबाट रुकुमपूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खावाङ बगरस्थित भूमे गाउँपालिकामा आएर सकिनेछ । एउटै रुट र उही दूरीमा महिला र पुरुषका छुट्टाछुट्टै दौड प्रतियोगिता गरिनेछ । पुरस्कार राशि महिला र पुरुषलाई समान छ । पहिलो, द्वितीय र तृतीय हुनेले क्रमशः ५०, ३५ र २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
अघिल्लो वर्षमा आयोजना गरिएको २७ किलोमिटर दौड हो । यसको प्रवद्र्धनमा म्याराथन विश्व अल्ट्रा धाविक मीरा राई आउने छिन् । तत्कालीन माओवादीले सशस्त्र युद्धमा ‘गुरिल्ला’ लडाकु हिँडेको रोल्पा, रूकुम, बागलुङ र म्याग्दीमा पर्ने गोरेटो बाटोलाई केही वर्ष अगाडि सरकारले ‘गुरिल्ला पदमार्ग’ घोषणा गरेको थियो । गाउँपालिकाले गुरिल्ला पदर्मागसमेत निर्माणकार्य गरिराखेको छ ।