कारोबार संवाददाता
सोमवार, जेठ २७, २०७६
195

तेस्रो हिमालयन ट्राभल मार्ट हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजागर गर्दै सम्पन्न

हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजार गर्दै ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण बिहीबारदेखि आइतबारसम्म विभिन्न ४३ देशका ७ सयभन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको सहभागितासहित काठमाडौंको सोल्टी क्राउन प्लाजामा भव्यताका साथ सम्पन्न भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्वारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत् एवं प्रमुख ट्राभल एन्ड टुरिज्मसम्बन्धी मेलाको रुपमा स्थापित भएको छ ।

गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा पर्यटकीय प्रोडक्ट तथा सेवाहरूको प्रचुर सम्भाव्यतारहेको बताउँदै देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा जैविक विविधतासँगै विशिष्ठ आतिथ्य सत्कारले बहुआयामिक पर्यटकीय अनुभवहरू प्रदान गर्नसक्ने नेपाल अनुपम गन्तव्य रहेको बताए । उनले योग, आयुर्वेद, तीर्थयात्रा एवं अध्यात्मिक पर्यटनका लागि हिमालय क्षेत्रनै एक उत्कृष्ट गन्तब्य भएको र सो अनुभूतिका लागि नेपाल प्रमुख एवं उद्गम स्थल भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्नसमेत हिमालयन ट्राभल मार्ट सहयोगी हुने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा विविध सांस्कृति प्रस्तुति गरिएको थियो । सुदूरपश्चिमको प्रसिद्ध छलिया नृत्य, हुडकेलीलगायत प्रस्तुत गरिएको थियो । साथै, पटा नेपाल च्याप्टरले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई उहाँले पर्यटन क्षेत्रको विकासका लागि निर्वाह गरेको अतुलनीय भूमिका एवं अथक प्रयासको उच्च कदर गर्दै प्रधानमन्त्रीमार्फत मार्टको विशेष अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी, विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।
जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्तिहरू, दिगो पर्यटन विकासका अवसर तथा चुनौतीहरूलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो ।
मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया÷ब्लर्गसहरूसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरूमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तव्यको पर्यटन प्रवद्र्धन एवं विकासमा खेल्ने भूमिका र अवसरहरूको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङङ’ गरिएको थियो । भ्रमण वर्ष अभियानका संयोजक सुरज बैद्यले अभिायन अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरूको कार्ययोजनालगायत नेपालका पर्यटकीय गन्तव्य र सम्भावनाबारे प्रस्तुति पेस गरे र उपस्थित मिडिया ब्लर्गसहरूको जिज्ञासा एवम प्रश्नहरूलाई बार्डका सिइओ दीपकराज जोशी, पाटाका अध्यक्ष सुनील शाक्य तथा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले संयोजक वैद्यसँगै संयुक्त रूपमा
सम्बोधन गनुभएको थियो ।
यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरू र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरू तथा संस्थाले सहभागिता जनाएका थिए । पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।