प्रकाश लम्साल
सोमवार, जेठ २७, २०७६
543

पर्यटकीय रुपमा धनी रहेको प्रदेश दुईमा पर्यटकीय सम्पदा, अवशेष, प्राचीन मन्दिर र पूर्वाधारहरू दर्जनौं रहेका छन् । पछिल्लो समय पर्यटक भित्र्याउन पर्यटन, होटल व्यवसायी, प्रदेश सरकार र स्थानीय तह सक्रिय बन्न थालेका छन् । पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको पहल हुन थालेपछि प्रदेशमा रहेका पर्यटकीय स्थलको विकासमा प्रदेश र स्थानीय सरकार जुटेका छन् । यो प्रदेशमा सक्रिय पर्यटन तथा होटल व्यवसायी संघलगायत प्रदेश सरकार र स्थानीय तहहरू प्रदेश दुईलाई पर्यटकीय गन्तव्य बनाउन छलफल, गोष्ठीलगायत काम गरिरहेका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पर्सा राष्ट्रिय निकुञ्जलाई आधार बनाई पर्यटन विकासमा लाग्ने बताएका छन् । प्रदेश दुई होटल व्यवसायी संघका महासचिव मोहन शर्मा लामिछानेले पनि पर्यटक लक्षित गरी ८ जिल्लामा राम्रा होटलहरूमा करोडौं लगानी रहेको र थपिने क्रम जारी रहेको बताए । पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज, जानकी मन्दिर, गढिमाई मदिरमा भारतीय र आन्तरिक पर्यटकको चहलपहल बढेको पाइन्छ ।

जानकी मन्दिर (धनुषा)
राजर्षि जनकको प्राचीन मिथिलाराज्यको राजधानी, भगवान रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि हो जनकपुर । धार्मिक रुपमा भित्रने भारतीय पर्यटकका लागि जनकपुर पशुपतिपछिको दोस्रो ठूलो केन्द्रको रुपमा जनकपुर पुग्ने गर्छन् । जलेश्वरनाथ महादेव पनि धार्मिक पर्यटकका लागि निकै उपयुक्त रहेका छन् । जलेश्वरनाथ महादेवमा विश्वकै एकमात्र जलभित्र विराजमान शिव महालिंग रहेको छ । पिषेश अवसरबाहेक पनि यहाँ बाह्रै महिना धार्मिक पर्यटकको आगमन हुने गर्छ ।

पर्सा राष्ट्रिय निकुञ्ज (बारा)
पर्यटकका लागि पर्याप्त पूर्वाधार निर्माण भएपछि बाराको आधाभारस्थित पर्सा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । पशुपक्षी, वन्यजन्तु सजिलै देख्न सकिने पूर्वाधारहरूको धमाधम तयारी, जंगल सफारी र हात्तीसार अमलेखगन्जमा पर्यटकका लागि आकर्षक रिसोर्टहरू खुलेपछि निकुञ्ज पर्यटकको रोजाइमा पर्न थालेको छ ।
आरक्षका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनका अनुसार केही स्वदेशी र भारतीय पर्यटक प्रचारबिना पनि आउन थालेका छन् । रैथाने हात्तीका लागि यो आरक्ष नेपालमा प्रसिद्ध छ । पूरै निकुञ्ज घुम्न दुई दिन लाग्ने र निकुञ्जभित्रै यातायात समेत सबै स्थानमा सजिलै पुग्न सकिने पूर्वाधार रहेको छ ।
पर्यटकहरूलाई जंगल भ्रमण गराउने उद्देश्यले अमलेखगञ्जमा दश वटा हात्ती राखी हात्तीसार निर्माण गरिएको छ । निकुञ्जभित्र बाह्रसिंगे मृग, निलगाई, पाटेबाघ, भालु, विश्वमा लोप हुन लागेका काँडे भ्याकुर, सारस, अजिङ्गर जस्ता वन्यजन्तु र तीन सय प्रकारका पक्षी रहेका छन् । निकुञ्जलाई लक्षित गरेर सिमराका होटलहरूले जंगल सफारी प्याकेज सुरु गरेका छन् ।
वीरगन्ज (पर्सा)
महुवन गाउँमा रहेको ऐतिहासिक पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको वीरगन्ज नेपालको प्रमुख व्यापारिक केन्द्र हो । विषेशगरी आर्थिक कारोबार व्यापक भए पनि पर्सा जिल्ला पर्यटकीय पूर्वाधारहरूले सजिएको छ । पर्सामा धार्मिक पर्यटकीयस्थलका रुपमा अलौ, विन्ध्यवासिनी, महुवन, गीता मन्दिर, गहवा माई मन्दिर आदि रहेका छन् ।
घडिआर्वा पोखरी, शंकराचार्यद्वार गेट र घण्टाघर वीरगन्जमा पर्यटक लोभ्याउने सम्पदाहरू हुन् । वीरगञ्ज–रक्सौल सडकको नेपाल भारत सिमानानजिक रहेको यो प्रसिद्ध द्वार नेपालको ऐतिहासिक मन्दिरहरूको वास्तुकला प्रतिविम्बित हुने किसिमले निकै आकर्षक ढंगमा निर्माण गरिएको छ । घडिअर्वा पोखरीलाई पनि महत्वपूर्ण मानिन्छ । छठीमाईको अघ्र्य दिने ठाउँका रूपमा प्रसिद्धि पाएको यस घडिअर्वा पोखरीको बीचमा सूर्यको मन्दिर निर्माण गरिएको छ । बारा, पर्सामा आउने पर्यटकलाई बाराकोे सिमरा विमानस्थलले हवाई यात्राको सेवा दिएको छ ।

गढीमाई मन्दिर (बारा)
भारतीय तथा नेपालका विभिन्न भागबाट आउने धार्मिक पर्यटकहरूको रोजाईमा रहेको प्रदेश नम्बर दुई अन्तर्गत बाराको गढीमाई मन्दिर सदरमुकाम कलैयाबाट ५ किमि पूर्वमा अवस्थित रहेको छ । प्रत्येक पाँच वर्र्षमा लाग्ने बाराको बरियारपुर स्थित विश्वप्रसिद्ध गढीमाई मेलामा मेला अवधिभर करोड बढी दर्शनार्यि आउने गरेको पाइन्छ । गढीमाईलाई लक्षित गर्दै कलैयामा होटलहरू सञ्चालनमा आएका छन् ।

सिम्रौनगढ (बारा)
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक रुपले सम्पन्न सिम्रौनगढ प्रदेश नम्बर दुईको खुल्ला संग्रहालय हो । तत्कालीन राजा शिवसिंहद्वारा १२ औं शताव्दीमा निर्माण गरिएको महत्वपूर्ण राष्ट्रिय सम्पदा रानीवास मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र हो । आफ्नो शासनकालमा राजाहरूले अत्यन्तै सुव्यवस्थित किल्लाको रुपमा निर्माण गरेको बाराको सिम्रौनगढ राजधानी पर्यटकीय आर्कषणको रुपमा रहेको छ । बाराको सदरमुकाम कलैयाबाट २२ किलोमिटर दक्षिण पूर्वमा पर्ने सिम्रौनगढ पुग्न कलैयाबाट १ घण्टा र वीरगन्जबाट ढेड घण्टा लाग्छ ।

लहान (सिरहा)
धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाका हिसाबले प्रदेश नम्बर दुईको लहान नगरपालिका क्षेत्र एक पर्यटकीय स्थल हो । यस नगरपालिकाको १२ मा अबस्थित सलहेश फूलबारी प्रदेश नम्बर दुईको एक पर्यटकीय गन्तव्य बनेको छ ।
यहाँ नयाँ वर्षको दिनमात्र फुल्ने फूलले आन्तरिक तथा काह्य पर्यटकलाई आकर्षित गरेको छ । सिरहाको लहान बजारदेखि पाँच किलोमिटर पश्चिममा रहेको सहलेश फूलबारीमा राजा सलहेश फूल टिप्न जान्थे भन्ने किंवदन्ती रहेको छ ।

नुनथर(रौतहट)
भारतीय र नेपाली धार्मिक पर्यटकहरूको वर्षको साउन महिनामा भिड लाग्ने रौतहटको नुनथर हो । धार्मिक पर्यटनको प्रदेश नम्बर दुईको अर्को गन्तव्यको रुपमा रहेको यस स्थानमा महिनाभर मेला लाग्ने गर्दछ । नुनथरबाट जल बोकी बाराको सहजनाथ महादेव मन्दिरमा चढाउने परम्परा रहेको छ ।