दिलबहादुर केसी
आइतवार, जेठ १२, २०७६
341

दोलखाको बिगु गाउँपालिका–१, लामाबरका लीलाबहादुर बस्नेतले सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरी नयाँ रेकर्ड राखेका छन् । सगरमाथा आरोहणका लागि काठमाडौंबाट हिँडेको सातै दिनमा सगरमाथाको चुचुरोमा पुगेर फर्केका हुन् । काठमाडौंबाट हिँडेकै यति छोटो समयमा सगरमाथा चुचुरोमा पुग्ने उनी पहिलो व्यक्ति हुन् ।
बस्नेत शनिबार (मे २२) बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । काठमाडौं फर्केपछि कारोबारसँग कुरा गर्दै बस्नेतले भने, “जुन योजना बनाएको थिएँ सोहीअनुसार सफल भयो ।” उनका अनुसार सामान्यतया सगरमाथा आरोहण गर्न ४५ दिनदेखि ६० दिनसम्मको अनुमति हुन्छ ।

बस्नेतका अनुसार मे १८ तारिख बिहान ७ बजे काठमाडौंबाट लुक्ला उडे । १९ तारिखमा बेस क्याम्प २० तारिखमा बेस क्याम्प २ पुगे । २१ तारिखमा ७ हजार ९ सय मिटरको उचाइमा थकाइ मारेर साँझ ८ बजे हिँडेर २२ तारिखको बिहान ६ बजे चुचुरोमा पुगेको जानकारी दिए ।
काठमाडौंबाट यात्रा सुरु गरी ७ दिनमै सगरमाथा पुग्ने उनको लक्ष्यअनुसार नै चुचुरो चुमेका बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले जानकारी दिए । गाउँको एउटा युवाले छोटो समयमै चुचुरोमा पुगेर रेकर्ड राख्नु गौरवको विषय भएको बताए ।
विगु गाउँपालिका–१ लामाबगरका ३७ वर्षीय बस्नेत सगरमाथाको यसअघि बस्नेतले भरियाका रूपमा चार पटकसम्म विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमिसकेका छन् । यसपटक आफ्नै हैसियतमा सगरमाथा आरोहणको योजना बनाएर लागेका हुन् । पटक–पटक सगरमाथा पुगेकाले छोटो समयमै पुगेर फर्कन सक्छु भन्ने आँटले योजना बनाएको उनले बताए ।
यस पटक बाटो पनि बनिसकेको र अरू टोलीको समयको बारेमा अग्रिह सूचना लिएर यात्रा तय गरेकाले पनि चाँडै पुग्न सकेको बताए । चुचुरोमा पुगेर २२ तारिखमा अन्तिम बेस क्याम्प आइ पुगे । सगरमाथामा ४ वटा बेस क्याम्प छन् ।
दोलखाको मेरै बिगु गाउँपालिकाले ४ लाख ८९ हजार ४ सय ७७ रुपियाँ सहयोग गरेको छ । उनले सगरमाथाको चुचुरोमा विगू गाउँपालिकाको झण्डा समेत पु¥याएका छन् । प्यारगन स्कुलबाट साढे दुई लाख रुपैयाँ र प्यारागन स्कुलमा कार्यरत एकजना अमेरिकन नागरिकले साढे दुई लाख रुपियाँ सहयोग गर्नुभएको उनले बताए ।
उनलाई सेभेन समिट कम्पनीले साथ र सहयोग गरेको छ । तर गएका सहयोगी विरामी भएर अन्तिम बेस क्याम्पमा बसेपछि आवश्यक सामग्री सहितको भारी बोकेर एक्लै चुचुरोमा पुगेको बताए । माथि पुगेपछि त्यहाँ भएका अन्य व्यक्तिहरुले आफ्नो फोटो खिच्न सहयोग गरेको बताए । सेभेन समिटका निर्देशक मिङ्मा शेर्पाको समूहले १४ वटा हिमाल चढिसकेका छन् ।
बस्नेत यस अघि साना ठूला गरी बस्नेतले भरियाका रुपमा सगरमाथासहित आधा दर्जन बढी हिमालको आरोहण गरेका छन् । बस्नेतले चीनको तिब्बतमा रहेका दुइटा हिमाल पनि चढेका छन् ।