कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६
475

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न पहिलो पटक सरकारी टोली सगरमाथाको शिरमा पुगेको छ । बुधबार बिहान ३ बजेर १५ मिनेटमा टोली सगरमाथाको शिखरमा पुगेको भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।
शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । विश्वमा सगरमाथाको देश भनेर चिनिने नेपालमा सरकार आफैले नापेको आधिकारिक तथ्यांक नभएको सन्दर्भमा सरकारी तवरबाटै सगरमाथाको उचाइ नाप्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको पहलमा नापी गर्ने काम अगाडी बढाइएको हो । नापी विभागमार्फत् सगरमाथाको उचाइ नाप्न छुट्टै टोली गठन गरि गत चैत २६ गते प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालले टोलीलाई सगरमाथाको उचाइ मापन गर्न शुभकामना दिइ कार्यक्रमको सुरुवात गरका थिए ।
सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको तथ्यांक विश्वभर प्रयोग गरिदै आइएको छ । यो नापीको तथ्यांक वि.सं. २०१८ नेपालका लागि सर्वे अफ इन्डियाले लिएको हो । त्यसयता २०५५ सालमा अमेरिकाको सहयोगमा गरिएको नापीले सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर कायम गरेको थियो । छिमेकी मुलुक चीनले पनि सगरमाथाको उचाइ नापी सकेको छ । चीनले २०६१ मा गरेको नापीपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ र ४७ मिटर गरी दुइथरी तथ्यांक दिएको थियो । सरकारले २०७२ सालको भुकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुन सक्ने भन्ने शंकाको समेत निवारण गर्न जिपिएस प्रविधिसहितको नापी टोली सगरमाथा पठाएको हो ।
शिखरलगायत विभिन्न ठाउँमा राखिएका जिपिएसमा सेट भएका तथ्यांकहरूका आधारमा संसारका दर्जनौं वैज्ञानिकहरूले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाइ टुंगो लगाएर पुष्टि गर्ने नापी विभागले जानकारी दिएको छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्व रहकोे टोलीको सदस्यमा प्राविधिक रविन कार्की सहितको टोली खटेको छ । टोलीमा क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा छन् । सगरमाथाको शिखरमा पुगेको प्राविधिक टोली शिखरबाट फर्केर साउथकोल आइसकेको प्रवक्ता जोशीले बताए । शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरूसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको बताइएको छ । टोलीका दुई सदस्यहरू सुरजसिंह भण्डारी र युवराज धिताल लगायत शेर्पा गाइडको टोलीले भने आधारशिविरमा बसेर प्राविधिक सहयोगको काम गर्दै आएका छन् । उचाइ नाप्ने विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा पिक प्रमोशन प्रालिले गरिरहेको छ । सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भने अझै ६ महिना लाग्नेछ ।

कामिरीताद्वारा एकै सातामा दोस्रो आरोहण
आरोहि कामीरिता शेर्पाले एकै सातामा दुईपटक सगरमाथा आरोहण गरेका छन् । उनले मंगलबार विहान ६ बजेर ३८ मिनेट जाँदा २४ औँ पटक सगरमाथा आरोहण गरेर आफनो पुरानोकिर्तिमान एक साता पनि नवित्दै तोडेका हुन् । कामिरिताले एकै याममा एकै सातामा दुई पटक सगरमाथा चढेको यो चौथो पटक हो । जेठ १ गते सगरमाथाको २३ औँ पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेका उनले मंगलबार सातै दिनमा फेरि सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडेका हुन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका ४९ वर्षीय कामिरिताले २५ पटकसम्म सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको बताउँर्दै आएका छन् ।