कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
449

सगरमाथा आरोहणमा कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोडेका छन् । बुधबार बिहान २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि उनले आफ्नै नाममा रहेको २२ औं पटक विश्वको सर्वोच्च शिखर चढेको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाले सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा शिखर चुम्दै हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।
कामिरितापछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा शेर्पा र फुर्वातासी शेर्पा छन् । उनीहरू दुवैले २१÷२१ पटक सगरमाथा आरोण सम्पन्न गरेका छन् । उनीहरू दुवैले आरोहणबाटै सन्यास पनि लिइसकेका छन् ।

४९ वर्षीय कामिरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए भने २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउँदै आएका छन् ।
यस वर्षको हिमाल आरोहण सुरु भएसँगै मंगलबार आठ जना नेपाली आरोही सगरमाथाको शिखरमा पुग्न सफल भएका थिए । उनीहरू मंगलबार दिउँसो १ः४५ मा चुचुरोमा पुगेका हुन् । आठ जना नेपाली गाइडहरू सगरमाथा आरोहीहरूका लागि डोरीको सहायताले बाटो बनाउँदै चुचुरोमा पुगेका हुन् । उनीहरू चुचुरोमा पुगेसँगै अन्य आरोहीहरूका लागि आरोहणको बाटो खुलेको थियो । यस सिजनमा सगरमाथा चढ्न आधार शिविरमा आरोही, गाइड र भरिया गरी करिब १५ सय हाराहारी पुगिसकेका छन् ।