कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६
302

लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धको निम्ति बराहपोखरी पदयात्रा गरेको छ । धार्मिक र प्राकृतिक दृश्यावलोकनका लागि निकै महत्वपूर्ण गन्तव्य मानिएको बराहपोखरी प्रवद्र्धन गर्न अध्यन तथा अवलोकन पदयात्रा गरेको हो ।
गण्डकी प्रदेश सरकारले सन २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाईरहदा लमजुङको वराहपोखरी क्षेत्रको प्रवद्र्धन गर्न स्थानीय गाउँपालिकाले अवलोकन पदयात्रा गरेको अध्यक्ष अर्जुन गुरुङले बताए । बराहपोखरी क्षेत्रको अवस्था, बासबस्न सक्ने सम्भावित ठाउँहरू, पदमार्ग अन्तर्गतका प्राकृतिक, सांस्कृति, ऐतिहासिक, धार्मिक सम्पदाहरूको अध्ययन तथा अवलोकन गरिएको अध्यक्ष गुरुङले बताए ।

सडक पहुँचका कारण ओझेल पर्दै गएको अन्नपुर्ण पदमार्गको विकल्पका रूपमा उक्त पदमार्गलाई प्रवद्र्धन गर्नसके निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटक भिœयाउन सकिने गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए । पहिलो चरणमा गाउँपालिका अध्यक्ष गुरुङको नेतृत्वमा पदयात्रामा गएको टोलिमा प्रदेश सभा सदस्य मायानाथ अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू सहित ३१ जनाको सहभागिता थियो ।
तीर्थयात्रा तथा पदयात्राका लागि लमजुङको बराहपोखरी उपयुक्त गन्तव्य हो । बराहपोखरीमा विशेषगरी जनै पूर्णिमामा मेला लाग्छ । मेलाबाहेक पनि वैशाखदेखि असोजसम्म साहसिक पदयात्रा गर्नेहरू बराहपोखरी पुग्न थालेका छन् ।
बराहपोखरीबाट मनास्लु हिमशृंखलाअन्तर्गतका हर्कजुङ हिमाल, हिमालचुली, मानश्री पिक र मनास्लु हिमाल दृश्यावलोकन गर्न सकिन्छ । मनमोहक हिमाली दृश्यसँगै लालीगुराँस फुल्ने समयमा थरीथरीका लालीगुराँसले डाँडै ढाक्ने हुँदा मनोरम दृश्यावलोकले निकै रमाइलो हुने पदयात्रीहरू बताउँछन् ।
प्रकृतिमा रमाउनेहरूका लागि बराहपोखरी यात्र निकै रमणीय हुने पदयात्रीहरूको धारणा छ । धार्मिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण यसक्षेत्रको संरक्षण गर्नसके आन्तरिक मात्रै होइन, बाह्य पर्यटकसमेत तान्न सकिने सरोकारवालाहरूले बताएका छन् । बराहपोखरी क्षेत्रमा मानव बस्ती नहुँदा खानाको व्यवस्था आफैँ गर्नुपर्छ । उच्च लेक र बढी चिसो भएकोले जुुनसुकै समयमा पनि बाक्ला कपडा लिएर पदयात्रीहरू बराहपोखरी पुग्ने गर्छन् । उक्त क्षेत्रमा गर्मी सिजनमा भेडीगोठ तथा गाईगोठहरू रहेका हुन्छन् । अस्थायी गोठ भए पनि बस्नका लागि भवनहरू नहुँदा पदयात्रीहरू आँफैले लगेका पाल, रुखको फेद वा पहरामा ओत लाग्ने गर्छन् ।
जिल्लामा बराहपोखरी बाहेक मेमेपोखरी र दुधपोखरी पनि निकै आकर्षक र महत्वपूर्ण गन्तव्य रहेका छन् । बाराह पोखरीबाट हिँडेको एकदिन एकबिहानपछि मेमे पोखरी पुगिन्छ । मेमे वरिपरि ५ वटा पोखरी रहेका छन् । मेमे पोखरीबाट ३० मिनेटको दूरीमा दूधपोखरी पुग्न सकिन्छ । हप्तादिनको प्याकेज बनाएर समूहमा गए बराहपोखरी, मेमेपोखरी तथा दूधपोखरीको पदयात्रामा रोमाञ्चक दृश्यपानका साथै ट्रेकिङको फाइदा लिन सकिने सरोकारवालाहरू बताउँछन् ।