विप्लव काफ्ले
शनिवार, बैशाख २८, २०७६
1244

मोहनबहादुर पुनमगर ५० वर्ष पुगे । रोजगारीका सिलसिलामा उनी ११ वर्ष बहराइन बसे । त्यहाँको विमानस्थलको सुपरभाइजर र चालक भएर काम गरे । घरविदामा आएपछि उनी बहराइन फर्किएनन् । गाउँमै रोजगारी सिर्जनामा लागे । चितवन राष्ट्रिय निकुञ्जको वफरजोन क्षेत्रमा पर्ने माडी–८, शिवद्वार बस्तीमा उनको परिवार छ ।
यो बस्तीमा अहिले ३४ घरधुरी छन् । जसमध्ये १८ घर पुनमगरका घर छन् । २०७२ पुस १२ गतेदेखि ११ वटा होमस्टे सञ्चालनमा आएपछि पर्यटक स्वागत सत्कारमै स्थानीय व्यस्त बन्छन् । मोहनबहादुर अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष हुन् । “निराश बनेको बस्तीमा आशा पलाएको छ,” उनी भन्छन्, “आयआर्जनको बाटो खुलेको छ, गाउँ अहिले पर्यटकीय गन्तव्यका रुपमा चिनिएको छ ।” होमस्टे आसपासका स्थानीयले समेत रोजगारी पाएका छन् । उनीहरु सांस्कृतिक कार्यक्रममा सहभागी हुन्छन् । पर्यटक स्वागतमा आउँछन् । तरकारी, हाँस कुखुरा उत्पादनमा लागेका छन् । “पुनमगरको संस्कृति हेर्न आउने पर्यटक बढेका छन्,” उनले भने, “सोरठी, सालैजो, थाली नाच मन पराउँछन्, यहाँको प्रकृतिमा रमाउँछन् ।” उनी होमस्टे नम्बर २ का सञ्चालक हुन् ।

५८ वर्षीय ठिलबहादुर पुन मगर युवाझैँ नाच्छ्न, गाउँछन्, मादल बजाउँछन् । उनी ८ नम्बर होमस्टेका सञ्चालक हुन् । उनका छोरा तेजनारायण विदेशबाट आएपछि फर्किएका छैनन् । उनी मारुनीमा नाच्छन् । महिलाको पोशाक लगाएर नाचिने नृत्यलाई मारुनी भनिन्छ । “पहिल्यै गाउँ नछोडेकोमा अहिले पछुतो छैन,” ठिलबहादुरले भने, “देश–विदेशबाट पर्यटक आउँछन्, संस्कृति देखाएरै आयआर्जन भएको छ ।” उनको २ विघा जग्गा छ । १२ कठ्ठामा माछापोखरी छ । तर, वर्सेनि जंगली जनावर र बाढीको त्रासले उब्जनी भित्र्याउँदाका दुःखका दिन भुलेका छन् ।
“हिलो बाटो ग्राबेल भयो, अँध्यारो बस्ती उज्यालो बन्यो,” उनले भने, “विगतका दुःखका दिन गएझैँ लाग्छ, सधै रमाएका छौँ ।” सोरठीको भाकामा गीत गाउने उनी एक्लो हुन् । उनले भाइ पर्तबहादुर र लालबहादुरलाई सोरठी सिकाएका छन् । “बुढ्यौलीले छोयो, म रहुञ्जेल मैले नै गाउँछु,” उनले भने, “म नहुँदा सोरठी नै बन्द नहोस् भनेर सिकाएर राखेको छु ।”
सोरठी परम्परागत नाँच हो । गुरुबाउले निकाल्ने भाका छोप्ने ५–६ जना महिला हुन्छन् । मादल बजाउँदै नाच्ने ३–४ जना मादले हुन्छन् । त्यसमा महिला पोशाक लगाएर मारुनी नाच्ने ३–४ जना हुन्छन् । मगर, पुनमगर समुदायमा विवाह, व्रतबन्ध, मृत्यु संस्कार, मेला पर्वमा सोरठी नाच्ने चलन छ । कुलदेवताको आराधना, पर्यटक स्वागत गर्दै होमस्टेमा सोरठी नाच देखाइन्छ । सोरठीमा मादलेका रुपमा ठिलबहादुर, पर्तबहादुर, लालबहादुर, प्रेमबहादुर, ओमबहादुर छन् ।
२३ वर्षीय सोमबहादुर मगर सानोमा कहिल्यै नाचेनन् । गाउँमा होमस्टे बनेपछि उनी मारुनीमा नाच्छन् । “महिला पोशाक लगाएर नाज्दा लाज लाग्थ्यो,” उनी भन्छन्, “१०–१५ दिन सिकेपछि अहिले बानी प¥यो ।” कलेजमा पढ्दै नारायणगढका पसलमा काम गर्थे । “अहिले गाउँमै रोजगारी आयो, खाली बस्नुपरेन,” उनी भन्छन्, “अब यहीँ सानो पसल गर्ने सोच पनि छ ।”
उनका बुबा टीकाबहादुर ५ नम्बर होमस्टेका सञ्चालक हुन् । उनी होमस्टे कार्यालयको कार्यालय सहायकसमेत हुन् । ३५ वर्षीय हर्कबहादुर, ३० वर्षीय तेजनारायण विदेशबाट फर्किएपछि मारुनी नाच्दै बसेका छन् । १७ वर्षीय गुञ्जन राई पनि मारुनी नाच्छन् । २२ तालमा मारुनी नाच्दा ‘सरस्वती लाग्ने’ उनीहरुको विश्वास छ । त्यसैले ११ तालको मारुनी नाच देखाउँछन् ।
सालैजो, झ्याउरे र लोकगीतमा नाच्ने १० जना युवतीहरु छन् । “सोरठी लोप हुन्छ कि भन्ने चिन्ता छ,” ठिलबहादुरले भने, “नयाँ पुस्ताले सिक्नै चाहेन, बुढ्यौली लागेका हाम्रै भरमा छ ।” पर्यटक स्वागतमा देखाइने नाचका लागि तालिम लिने अधिकांश जागिर, विवाह र पढाइका कारण निरन्तरता दिन नसकेको उनी बताउँछन् ।
होमस्टेको सांस्कृतिक भवनमा हालसम्म २ सय २२ औँ सांस्कृतिक श्रृंखला देखाइएको छ । सोरठी, मारुनी नाच होमस्टे खुल्ने बेलामा पश्चिम चितवन सूर्यनगरका सुकलाल पुनमगर उनकी श्रीमतीले १० दिन सिकाएका थिए । त्यो बेला पूरै गाउँ नै दुई समूहमा बाँडिएर सिकेका थिए ।
त्यो बेला सोरठी नाच्ने १५ र मारुनीमा १५ जना हुन्थे । अहिले नाच्नेको संख्या कम छ । अहिले थाली नाच सिकेका छन् । नौमती बाजाका तालमा हातमा चरेश थाल घुमाएर नाच्ने नाचलाई थाली नाथ भनिन्छ । तर, यहाँ स्पीकरमा गीत बजाएर स्टीलको थाली लिएर नचाइन्छ ।
सांस्कृतिक कार्यक्रम हेर्न पर्यटकले २ हजारमा बुकिङ गर्नुपर्छ । जसमध्ये ५ सय रुपैयाँ होमस्टेको कोषमा जम्मा हुन्छ । पर्यटक खुसी भएर दिने ‘टिप्स’ वापतको रकम गाउने र नाच्नेले बाँड्छन् । होमस्टेमा बास बस्न एक कोठाको ६ सय रुपैयाँ तिर्नुपर्छ । सादा खानाको १ सय ५० रुपैयाँ र मासु खानाको २ सय ५० तिर्नुपर्छ । ११ होमस्टे मध्ये ७ पुनमगर, २ श्रेष्ठ सञ्चालक भएका छन् । थापामगर र राई सञ्चालक भएका १–१ छन् । पर्यटक चहलपहल बढेपछि यहाँको जग्गाको भाउ पनि आकासिएको छ ।