कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
358

सन् २०२० लाई नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा नायिका मनिषा कोइराला तथा नेपालका लागि क्यानडाका राजदूत नादिर पटेलले सगरमाथा बेसक्याम्पसम्मको पदयात्रा गरेका छन् । पदयात्रामा निस्कनुअघि काठमाडौंमा दिल्लीस्थित नेपालका लागि क्यानडाका राजदूत पटेलले उनको पदयात्राले क्यानेडेलीहरुमा सकारात्मक सन्देश जाने बताएका थिए ।
बेसक्याम्पसम्मको पदयात्राका क्रममा उनले बाटोमा पर्ने क्यानडेली सहयोग निकायका आयोजनाहरुको अवलोकन पनि गरेका थिए । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले राजदूत पटेलको पदयात्राले नेपालको पर्यटन क्षेत्रलाई प्रचारप्रसारमा सघाउ पु-याउने बताएका थिए ।

एक दिन अघि–पछि गरेर सगरमाथा बेसक्याम्पसम्मको पदयात्रामा निस्किएका नायिका कोइराला तथा राजदूत पटेल दुवैले आफ्नो पदयात्राले नेपालको पर्यटनमा सघाउ पु-याउने विश्वास व्यक्त गरे । आफ्नो पदयात्रा समाप्तिपछि काठमाडौंमा आयेजित औपचारिक कार्यक्रममा नायिका कोइरालाले आफ्नो पदयात्राको डकुमेन्ट्री पनि बन्दै गरेको जानकारी दिइन् ।
सगरमाथा बेसक्याम्पमा एक रात बिताउँदाको अनुभव पनि सुनाइन् मनिषाले । भ्रमणपछि कोइरालाले सरकारसँग सगरमाथा क्षेत्रका जनतालाई शिक्षा र स्वास्थ्य सेवाको उचित व्यवस्था गरिदिन आग्रह पनि गरेकी छन् ।