मनोरञ्जन शर्मा
सोमवार, बैशाख ९, २०७६
470

भैरहवा - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्ष २०७६को दिन दिउँसो सामाजिक सञ्जाल फेसबुकमा ‘नयाँ वर्षको यात्रा, रानी महल पाल्पा’ स्टाटस लेख्दै आफू र श्रीमती तथा अर्कोमा छोरीसहितको रानी महल अगाडि खिचेको फोटो राखे । धेरैले उक्त फोटो मन पराउँदै लाइक गरे ।
नयाँ वर्षको पहिलो दिननै रानीमहल भ्रमण गर्दै मुख्यमन्त्रीले आफू पर्यटनमैत्री रहेको र पर्यटनमा धेरै सम्भावना रहेको देखाउन खोजेका छन् । रानी महल भ्रमण गर्दै उनले रानीमहल प्रदेश ५को महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन सक्ने संकेत दिएका छन् ।

पछिल्लो समय रानी महल पुग्ने सडक सञ्जाल पहिला भन्दा धेरै राम्रो भएकोले आन्तरिक पर्यटकहरूको लागि गन्तव्य बन्दै आएको छ । मुख्यमन्त्री रानीमहल नयाँ वर्षकै दिन पुगेपछि यसले थप चर्चा पाएको छ । यसअघि नेपाल सरकारका अर्थमन्त्री, पर्यटनमन्त्री तथा प्रदेश ५ का पर्यटन लगायत विभिन्न मन्त्रीहरू त्यहाँ पुगिसकेका छन् ।
मुख्यमन्त्री रानीमहल पुग्नुले त्यहाँको पर्यटकीय महत्व अझै बढेको र प्रदेश सरकार यसलाई पर्यटकीय गन्तव्य बनाउन अझ कटिबद्ध भएर लाग्ने र आउने वर्ष थप बजेट बिनियोजन हुने समेत विश्वास रहेको नाट्टा पाल्पा च्याप्टरका सचिव सागर महर्जनले बताए ।
त्यसो त प्रदेश ५ को सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । यो एउटा आफैंमा महत्वपूर्ण कार्य हो । लुम्बिनीलाई रानीमहलसँग जोड्न सके रानीमहलको थप विकास हुने पर्यटन व्यवसायीहरूको भनाइ छ ।
रानीमहलको निर्माणकर्ता खड्ग शमशेर जबराले लुम्बिनीमा रहेको अशोक स्तम्भ पत्ता लगाएका थिए । त्यसैले पनि लुम्बिनी र रानीमहललाई पर्यटनको माध्यमबाट जोड्न सकिन्छ ।
सालको पहिलो दिन रानी महल घुम्न हजारांैको संख्यामा पुगे । उता लुम्बिनी भ्रमण बर्ष २०७६को पहिलो दिन लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकहरू धेरै पुगेका छन् । हरेक वर्ष त्यहाँ लाग्ने चैत्र अष्टमी मेला समेत भएकाले धेरै आन्तरिकसँगै भारतीय पर्यटकहरू लुम्बिनी भ्रमणमा पुगेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोजकुमार भट्टराईले बताए ।
लुम्बिनीस्थित मायादेवी मन्दिरमा अवलोकनका लागि पर्यटकको लाइन थियो । मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करनी कुण्ड तथा त्यहाँ रहेको शान्ति दिप, केन्द्रिय नहरमा बोटिङ गर्नेहरूको संख्या पनि अत्यधिक रहेको थियो । त्यस्तै त्यहाँ रहेका थाई बिहार, बर्मिज बिहार, चिनियाँ बिहार, जर्मन टेम्पल, कोरियन बिहारलगायत धेरै स्वदेशी तथा विदेशी बिहारमा पर्यटकहरूको उपस्थिती धेरै थियो । वनभोज मनाउन लुम्बिनी जानेहरूको संख्या पनि बढिरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
उता नयाँ वर्षको पूर्वसन्ध्यामा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सवको आयोजना भएको थियो । ३० हजार जना प्रत्यक्ष रुपमा सडक खाना महोत्सवमा सहभागी भएको आयोजक सस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले बताए । जिल्लाका विभिन्न स्थानमा र होटलमा भएका नव वर्षको कार्यक्रमले जिल्लाको आर्थिक क्षेत्र चलायमान भएको सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए ।