कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
332

भारतीय राजदूतावास सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बा पुनर्निर्माण गरेको छ । गुरु स्याल्पा तेन्जिङ् रिम्पोछेले शुक्रबार उक्त भवनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारको पनि उपस्थिति रहेको थियो ।
गुम्बा पुनर्निर्माण १ करोड ८९ लाख रुपैयाँ अनुदान सहयोगमा आवास, भान्छा, सरसफाइ सुविधा तथा कम्पाउण्ड पर्खालजस्ता संरचनाको निर्माण गरिएको छ । वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।
लिसंखु गाउँवासीको पहलमा सन् १९४६ मा सो छ्योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो । बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापमा गुम्बाको संलग्नता रहँदै आएको छ ।